|

लहान : घर नजिकैको बारीमा घाँटी रेटेको अवस्थामा भेटिएका बालकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनकै काकालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय मिर्चैयाले सिरहाको नरहा ३ खोरिया बत्राहीका रामभरोसी यादवका कान्छा छोरा दुई वर्षीय रमन यादवको हत्या गरेको आरोपमा मृतकका काका २८ वर्षीय सुरेश यादवलाई शनिबार अपराह्न पक्राउ गरेको हो।

‘हत्याको प्रारम्भिक अनुसन्धानका क्रममा बालकको हत्यामा सुरेशको संलग्नता रहेको देखिएपछि पक्राउ गरिएको हो,’ इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताए।

सुरेशको मानसिक अवस्था सन्तुलित नरहेको बताइएको छ। यद्यपि प्रहरीले भने त्यसको विषयमा केही खुलाएको छैन। पक्राउ परेका सुरेशले आफूले भतिज रमनको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले बच्चाले जतासुकै फोहोर गर्ने भएकाले घाँटी रेटेर हत्या गरेको बयान दिएका छन्। बालकलाई मुख थुनी घर नजिकै रहेको बारीमा पु¥याएर घाँस पराल काट्न प्रयोग गरिने गर्सा (घरेलु हतियार) ले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। पक्राउ परेका सुरेशविरुद्ध कर्तव्य अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीको नायव निरीक्षक बज्राचार्यले बताए। 

रमनलाई आफ्ना दिदीहरुसँगै राखेर पढाएका बाबु रामभरोसी करिब १५ मिनेट जति गाउँतिर पुगेर फर्किंदा रमन हराएका थिए। घरबाट नै हराएका बालक गाउँघर, छिमेक र सम्भावित ठाउँहरुमा खोजतालस गर्दा पनि फेला नपरेपछि बिहीबार इलाका प्रहरी कार्यालयमा उजुरी दिइएको थियो। बालकको शव घाँटी रेटेर हत्यापछि खाल्डोमा पुरेको अवस्थामा शुक्रबार साँझ भेटिएको थियो।

छोरा हराएकै दिनदेखि अचेत अवस्थामा रहेकी मृतककी आमा २८ वर्षीया निराकुमारी यादवको अहिलेसम्म होस नखुलेको मृतकका ठूलोबाबु खेमराज यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.