|

नवलपरासी : नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा मात्र निर्वाचन हुने भएको छ। बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ। 

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम भएका स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा निर्वाचन हुनेछ। 

कायम भएका १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछन्। जसमध्ये चारवटा नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछन्। 

जसअनुसार पहिलो चरणमा निर्वाचन हुनेमध्ये नगरपालिकातर्फ गैडाकोट, देवचुली, कावासोती र मध्यबिन्दुमा निर्वाचन हुनेछन् भने गाउँपालिकातर्फ बुलिङटार, बुङदीकाली, हुप्सेकोट र विनयी रहेका छन्। 

नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र छन्। जसमध्ये क्षेत्र नं १, २ र ३ मा पहिलो चरणमा निर्वाचन हुने छ। निर्वाचन क्षेत्र नं ४ ५ र ६ भने प्रदेश नं ५ मा पर्ने भएकाले दोस्रो चरणमा निर्वाचन हुनेछ। 

क्षेत्र नं १, २ र ३ मा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ। यसैगरी निर्वाचन क्षेत्र नं ४ ५ र ६ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच प्रतिस्पर्धा देखिन्छ। 

नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन्। त्यहाँबाट कुल ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन्। जसमा स्थानीय तहअनुसार तीन नगरपालिका तथा गाउँपालिकामा कुल १६६ वटा वडाको सङ्ख्या रहेका छन्। 

नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिए। नवलपरासीमा कुल तीन लाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहने छन्। नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.