|

बिहानैदेखि लुछुप्पै भिज्ने गरी बाहिर परेको शीतलहर र त्यसैमाथि ढपक्क लागेको कुहिरोका कारण अँगेनो छाड्न फिटिक्कै मन लागेको छैन। साढे छ बजे झुल्किएको घामको किरणले एघार बज्दासम्म पनि धर्तीमा मधुरा धर्सा बिछ्याउनबाहेक शीतको थोपाले भिजेर निथ्रुक्क कर्कलाको पातसमेत ओभानो बनाएको छैन।

हिजो चिसोले गर्दा सबेरै खोरमा थुनेका बाख्राहरू एक स्वरमा कान फुट्ने गरी कराएर आहारा माग्दै छन्। मेरो पहिलो काम बाख्रालाई घाँसपात गर्नु थियो। हाम्रो घर छेउमै खनाल्नी बोईको घर छ। यो दिन पनि सदाझैँ हँसिया-नाम्लो बोकेर छिमेकी खनाल्नी बोईको बलेनीबाट जंगलतर्फ पाइला सार्दै थिएँ। 'ए, साइँला, पर्ख बाबू, यी जेमदान पनि कराएर मर्न थाले', बाख्रा देखाउँदै खनाल्नी बोईले भनिन्। आफ्नो नातितर्फ इंगित गर्दै भनिन्, 'त्यो प्युसोले सक्ने कुरो भएन, मै बुढी भए पनि जान्छु।' 

खाना पकाउँदै गरेकी बोईले 'यो तिहुन उतार्छु अनि जाउँला' भनेर आग्रह गरिन्। म पनि सहमत भएँ। 'बाहिर चिसोमा किन उभिन्छस्? आइज साइँला भित्रै कि हाम्रो चुलोमा बस्नुहुन्न?', खनाल्नी बोईको हप्किलो आग्रहपछि भर्खरै घरको अँगेनो छाडेर आएको म फेरि आगो छेउमै गएर बसेँ।

साह्रै दयालाग्दो छ खनाल्नी बोईको घर। अझ बर्खा लाग्यो भने त धुरीबाट पानीसमेत तर्दैन। छैसठ्ठी वर्षकी खनाल्नी बोईको साथी भने नि, छोरो भने नि घरमा एउटा बाह्र वर्षको नाति छ- टीकाराम उर्फ टीके।

उसलाई सबैले टीके भनेरै बोलाउँछन्। सानैमा बाबु गुमाएको टीके घर वरिपरि कोही पुरुषहरू आवतजावत गरेको देख्यो भने आँखाले नभ्याइन्जेलसम्म हेर्छ। हातमा सिसाकलम छोपेर भित्तामा केर्दै गरेको टीके म उसको घरमा पुगेपछि ज्यादै खुसी भयो। नहोस् पनि कसरी! उसको घरमा महिलाको नाममा खनाल्नी बोई र पुरुष भन्नु नै उही अबोध टीके मात्र छन्। 

ऊ धेरै नै मायालु छ। मसँग नजिक हुनुको नाताले पनि झ्याम्मिएको थियो। उसलाई स्कुल जाने ठूलो रहर छ, तर के गरोस् बिचरा! बाल्यावस्थामै न आमाको काख, न त बाबुको माया पाउन सकेको छ। टीकेलाई कसले पठाओस् स्कुलसम्म। घर आँगनमै खेले-उफ्रेको छ। कहिले भित्तामा त कहिले पातलाई कापी बनाएर पढेलेखेको स्वाङ गर्छ ऊ। बल्लतल्ल चुलोमा जुटेको जे छ, थपक्क खान्छ अनि बेलुकी बोईको काखमा लुपुक्क निदाउँछ।

गाडी चलाउन सिपालु खनाल बाजेले नेपालगञ्ज हुँदै काठमाडौंसम्मको नाइट बस चलाएरै गृहस्थी धानेका थिए। २०५७ सालको माघ महिनासम्म खनाल्नी बोईको घरमा खासै अभाव र अपुग थिएन। जब उसै वर्षको फागुनमा खनाल बाजे अर्थात् बोईका श्रीमान् अचानक बस दुर्घटनामा परेर यस धर्तीमा दुई भाइ छोरासँग खनाल्नी बोईलाई छाडेर बिदा भए, उसै दिनदेखि उनीमाथि एकपछि अर्को गर्दै बज्र वर्सिन थाले।

छोरा पनि ठूला भइसके। जीवनसाथी गुमाउनुपर्दाको घाउ अब त केही हलुका हुन्छ कि भन्ने आशामा बसेकी खनाल्नी बोईमाथि २०६१ सालमा झनै कल्पनै नगरेको अाँधी आयो। निमेषमै सबै सान्त्वनाका पोकाहरू उडाएर लग्यो। बाबुको निधनपछि घर खर्चको मूल भनेकै जेठो छोरो भूपेन्द्र थियो।

खासै त्यति चाँडै घरजम गर्ने चाह नबनाएको नमराजले आमाको आग्रहपछि विवाह गरेर गर्भमा रहेको टीके र पत्नीलाई घरमै छाडी पञ्जाबतिर लागे। कान्छो छोरो हरिलालले गाउँमै सानो किराना पसल खोलेका थिए। जसोतसो घर व्यवहार धानेकै थिए। उतिबेला देशमा चर्किंदै गएको जनयुद्धको निर्णायक युद्धका बेला बेकसुर माओवादीको आरोपमा हरिलाललाई नजिकैको सशस्त्र वेस क्याम्पबाट आएका प्रहरीले खनाल्नी बोईको आँखैअघि पसलबाटै गिरफ्तार गरेर लगेको हरिलालको आजसम्म अत्तोपत्तो छैन।

उता जेठो छोरो पञ्जाब लागेको दिन, महिना हुँदै वर्ष बितिसक्दासमेत केही खबर छैन। यता घरमा नाति जन्मियो। अन्ततः जेनतेन बुहारी र नाति टीकेको अनुहार हेरेर थोरै भए पनि मन सन्तोष बनाएझैँ गरेकी थिइन् खनाल्नीले। उतिबेला सात वर्षको टीकेलाई घरमै छाडी बुहारी पनि पल्लो गाउँको मुखिया कान्छोसँग पोइल हिँडिन्।

धन कमाउने रहर बोकेर पञ्जाब छिरेको जेठोबाठो छोरो र आफ्नै आँखाअघि पुलिसले कन्चटमा बन्दुक तेर्साएर लगेको कान्छो छोराले घर छाडेको दिनदेखि सन्चो बिसन्चोको खबर कुरेर बसेकी खनाल्नी बोई आज १३ वर्षसम्म पनि उही छोराको बाटो हेरेर बसेकी छन्। यता फोटोमा मात्र बाबुको मुहार देखेको तर प्रत्यक्ष एक झलकसम्म दर्शन नपाएको बाबु पञ्जाबबाट फर्किएपछि स्कुल जाने सपना बोकेको टुहुरो टीके पनि मीठो कल्पना सँगालेर घर वरपर अन्य मान्छे आउँदा- जाँदा पनि खुबै ध्यानसँग हेरिरहन्छ।

उसलाई यी घटनाहरू सुन्दा अझै त खासै पत्यार लाग्दैन। बोईसँग कराउँछ, गाउँ डुलेर आउँछ, जे जसरी जुटेको छ, बोई-नातिले मिलेर खान्छन्। टीके त एकैछिनमा निदाउँछ। उता बोई भने  न सास न त लास पत्तो लागेका दुवै छोराको कल्पना र मस्तिष्कमा घुमिरहने तस्वीर हेरेर आँखा ओभाउन पाउँदैनन्। कहिले भने कामको थकानले पनि होला, खनाल्नी बोई भुसुक्क निदाउँछिन्।

बोईले भोलि बिहान हुँदा छोराहरूको खबर आउने सपना सजाएर हररात आँसुमै बिताएकी छन् भने उता टीके रातपछिको अर्को बिहान पञ्जाब छिरेका बाबु घर फिरेसँगै साथीहरूसँग स्कुल जाने कल्पनामै र सपनामै रात बिताउँछ। यसरी नै दिनचर्या काटेका छन्- छोराको सास न लासको पीरमा रहेकी खनाल्नी बोई र टुहुरो बालक टीकाराम उर्फ टीकेले।        

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.