|

पेमा लामा-

     काभ्रेपलाञ्चोक :  जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाको मण्डन देउपुर नगरपालिकाका किसानहरुलाई धान गोड्न सहज बनाउने उद्देश्यले झार काट्ने मेसिन (रोटेटरी बिडर मेसिन) वितरण गरेको छ। शनिबार मण्डन देउपुर नगरपालिकाको वडा नं. ७ हाँडीखोलामा पुगेर त्यहाँका किसानहरुलाई सो मेसिन वितरण गरिएको हो।

    जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास अधिकृत थर्क बहादुर जिसीले मेसिनबाट धान गोड्दा कम लागत लाग्ने र धान फल्नमा पनि टेवा पुग्ने भएकाले किसानहरुलाई मेसिन वितरण गरिएको बताए। ‘हामीले कार्यालयबाट यहाँका किसानहरुलाई सहयोग पु¥याउने उद्देश्यले १० वटा (रोटेटरी बिडर मेसिन वितरण गरेका हौं’ जिसीले भने, ‘चैते धानको क्षेत्र विकास कार्यक्रमअन्तरगत किसानलाई धानखेतीमा प्रोत्साहित गर्ने गरी यो कार्यक्रम लागू गरेका हौं।’

    जिसीका अनुसार जिल्लाभरि चैते धानको खेतीमा वृद्धि र विकासका लागि एक हजार हेक्टर जमिनमा धान खेती गर्नका लागि सहयोग गर्न लागिएको छ। मण्डन क्षेत्रमा मात्रै तीन सय रोपनी जग्गामा धान खेती गर्ने किसानलाई आवश्यक धानको बिउ, धान बिमा कार्यक्रम लगायतको कार्यक्रम लागू गर्न खोजिएको उनले बताए।

    सो कार्यक्रम अनुसार जिल्ला भरिका एक सय जना किसानलाई सो कार्यक्रमबाट सहयोग गर्नेछ । ‘त्यसमा एक जना किसान लाई पाँच हजार सम्मको धानमा विमा गर्नका लागि सहयोग गर्ने जिसीको भनाइ छ। जिसीका अनुसार १० वटा मेसिन किसानहरुले आलोपालो गरेर प्रयोग गर्नेछन्।

    सो कार्यक्रम लागू भएको ठाउँमा एकजना किसानले १० रोपनी जग्गामा चैते धान खेती गर्नुपर्ने जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका कृषि प्रसार अधिकृत कृष्ण धितालले बताएका छन्। उनका अनुसार नेपालमा पछिल्लो समयमा चामलको माग बढ्दै गएको र बाहिर देशबाट आयात गर्नुपर्ने भएकाले पनि त्यसको आपूर्तिलाई कम गर्नका लागि चैते धान खेतीमा किसानलाई प्रोत्साहित गर्ने खालको कार्यक्रम लागू गरिएको बताए।

    चैते धान अरु धानभन्दा ३० प्रतिशतले बढी फल्ने धितालले बताए। त्यससँगै बढी फल्ने खालको प्रविधि (एस.आर.आई अर्थात् सघन धान खेती) को समेत प्रयोग गरिएको उनको भनाइ छ। चैते धान बर्खे धानभन्दा पनि बढी फल्ने धितालको भनाइ छ। ‘बर्खामा बादलले घाम छेक्ने भएकाले धान फल्न कम हुन्छ’ उनले भने, ‘चैतमा घाम राम्रो लाग्ने भएकाले चैते धान खेतीलाई प्रमोसन गरेका हौं।’

    स्थानीय चाखोला मैता सिँचाइ कुलोका अध्यक्ष रामकृष्ण श्रेष्ठले धान गोड्ने मेसिन निःशुल्क पाएकोमा खुसी व्यक्त गरे। ‘हामीले धान गोड्नको लागि एकजनालाई दिनको पाँच सय रुपैयाँ दिनुपर्छ’ श्रेष्ठले भने, ‘यस मेसिनबाट छिटो र यसले धान गोड्दा धान फल्नमा पनि वृद्धि हुने भएकाले हामी किसानहरु धेरै खुसी छौं।’ उनले भने, ‘यो मेसिनले गर्दा अब खेताला कम लगाउँदा पनि खेती गर्न पाउने भइयो, हामीलाई सहुलियत हुनेभयो।’

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.