|

काठमाडौं : कवि तथा गीतकार डा. नवराज लम्सालको दोस्रो महाकाव्य 'धरा' लोकार्पण भएको छ। प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रममा १० वर्ष लगाएर लेखेको लम्सालको महाकाव्य कवि तुलसी दिवस, भुवन ढुङ्गाना, संस्कृतिविद् जगमान गुरुङ र समालोचक डा. गोविन्दराज भट्टराईले संयुक्त रुपमा विमोचन गरेका थिए।

कवि दिवसले ‘धरा’ मा टुक्रा-टुक्रा नभई सिङ्गै नेपालबारे मिहिन रुपमा जानकारी प्रस्तुत गरिएको बताए। उनले मुलुक बनाउन अरुलाई गुनासो मात्र नगरी हरेकले आफ्नो तर्फबाट योगदान दिनुपर्छ भन्ने प्रमाणका रुपमा ‘धरा’ महाकाव्यले काव्यिक जवाफ दिएको बताए। उनले भने, 'यति शक्तिशाली रुपमा राष्ट्र अरु कुनै महाकाव्यमा आएको छैन, 'धरा' ले सम्पूर्ण देशको पहिचानलाई काव्यिक अनुमोदन गरेको छ।'

प्राडा. गोविन्दराज भट्टराईले 'धरा' महाकाव्यमार्फत लम्सालले महाकाव्य विधामा आफूलाई अलग रुपमा स्थापित गर्न सफल भएको बताए। महाकाव्यबारे बोल्दै समालोचक महेश पौड्यालले भने, 'गणतन्त्रको घोषणापछि राष्ट्रिय योजकहरु क्रमशःकमजोर हुँदै गरेको समयमा लम्सालको धराले सम्पूर्ण देशलाई जोड्ने काव्यसूत्र प्रस्तुत गरेका छन्। त्यस्तै, नेपाली पहिचानका सम्पूर्ण मानविन्दुहरुसहित सभ्यता, दर्शन र संस्कृतिलाई महाकाव्यमा उतारिएको छ।'

२६ सर्गमा विस्तारित महाकाव्य ल्याएकोमा लम्साललाई पत्रकार धर्मेन्द्र झा र भुवन ढु‌ंगानाले शुभकामना दिएका थिए। त्यस्तै, ऐश्वर्य प्रकाशनका प्रमुख गणेशप्रसाद जोशीले 'धरा' महाकाव्यले राष्ट्रिय अखण्डताको टड्कारो आवश्यकतालाई महसुस गराएको बताए।

धरामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पूर्व-प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपीशर्मा ओली, डा.बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले लिखित रुपमा शुभकामना दिएका छन्।

महाकाव्यका लेखक लम्सालले १० वर्ष गरेको साधनाको मूर्त रुपका रुपमा 'धरा' महाकाव्य आएको बताए। 'मैले देखेको नेपालको चित्रण यस पुस्तकमा गरेको छु', उनले भने, 'व्यक्तिको र राष्ट्रको पहिचान पृथक् नभई एकै हो भन्ने सत्य स्थापित गर्न धरा लेखेको हुँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.