|

चितवन : चितवनको भरतपुर अस्पतालले ओपिडी सेवा थप गरेको छ। नेपालकै मध्य क्षेत्रमा पर्ने चितवनमा रहेको सुविधायुक्त सरकारी अस्पतालमा आउने बिरामीहरुको सहजताका लागि यसरी सेवा विस्तार गरेको हो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्रप्रसाद मरासैनीका अनुसार अस्पतालमा ओपिडी सेवालाई विस्तार गरी २ बजेबाट बढाएर ३ बजेसम्म पुर्‍याइएको हो।

यस्तै, तीन बजेपछि भने अतिरिक्त शुल्क लिएर अतिरिक्त सेवासमेत दिन थालिएको मरासैनीले जानकारी दिए। यो सेवा पाँच बजेसम्म चल्नेछ। अस्पतालमा बिरामीको चाप र निजी अस्पतालको महँगो सेवाबाट केही भने पनि राहत मिलोस् भनेर सेवालाई विस्तार गरिएको अस्पतालले जनाएको छ।

अतिरिक्त सेवामा आउने बिरामीका लागि भने टिकट शुल्क ३ सय रुपैयाँ तोकिएको छ भने नियमित ओपिडीका लागि जेष्ठ नागरिकलाई १५ र अन्यलाई ३० रुपैयाँ टिकट छ। ‘नौ बजेबाट ३ बजेसम्म नियमित सेवा र त्यसपछि इएचएस ओपिडी सेवा हुन्छ, डा. मरासैनीले भने बिरामीको चापसँगै सुलभता होस् भनेर यसो गरिएको हो।’

स्वास्थ्य मन्त्रालयको निर्देशनमा सुरु भएको सेवाले विपन्न परिवारका मानिसलाई राहत मिल्नेछ। अतिरीक्त सेवा दिने चिकित्सकलाई भत्ता उपलब्ध गराइने छ। हाल भरतपुर अस्पतालमा ६ सय शैय्या छन्। अधिकांश विशेषज्ञ सेवा उपलव्ध गराउँदै आएको भरतपुर अस्पतालमा पछिल्लो समयमा नयाँ भवनहरु निर्माण भएपछि सेवा विस्तारसँगै नयाँ प्रविधिको समेत प्रयोग गर्न थालेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.