|

काठमाडौं : उपन्यास लेखनको विषय खोज्दै हिँड्ने र काल्पनिकता भन्दा वास्तविक जीवनकथालाई उजागर गर्ने साहित्यकार भुवनहरि सिग्देलको नयाँ उपन्यास 'सारङ्गी' बजारमा आएको छ। अन्य पुस्तकमा झैं नयाँ उपन्यासमा पनि सिग्देलले पछि परेका समुदाय र व्यक्तिका जनजीवन समेटेका छन्। 'सारङ्गी' मा सिग्देलले पोखराको बाटुलेचौरका गन्धर्व समुदायका जनजीवनलाई जस्ताको तस्तै उल्लेख गरेका छन्।

'सारङ्गी' विमोचन गर्न गन्धर्व समाज नेपालका अध्यक्ष कर्णबहादुर गन्धर्व थापालगायत गन्धर्व समुदायका व्यक्तिहरुको उपस्थिति थियो। उनीहरुले सारङ्गी बजाएर उपन्यासको विमोचन गरिएको थियो। गन्धर्व समुदायको नलेखिएको वास्तविकता उपन्यासमार्फत बाहिर ल्याएकोमा गन्धर्व समाज खुसी भएको प्रमुख अतिथि गर्णबहादुर गन्धर्वले बताए।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा शनिबार सार्वजनिक गरिएको उपन्यासमा अल्प सङ्ख्यक जातिका रुपमा रहेको गन्धर्व समाजको सामाजिक सांस्कृतिक विशेषता रहेको कवि तथा निबन्धकार श्यामलले बताए, 'गन्धर्व समुदायको जीवनको विडम्बना प्रस्तुत गर्ने आख्यान हो यो', उनले भने,  'उत्पीडित जातिमा पनि नसमेटिएको आख्यानुसन्धान गरेर समाजसास्त्रीय दृष्टिकोणले देखिएको छ।' समाजको विकासक्रम धिमा गतिमा हुन्छ भन्ने उदाहरण सारङ्गी उपन्यासमा प्रस्तुत गरिएको छ भन्दै श्यामलले थपे, ‘आमनेपाली समाजका आवाज र श्रवणविहीनको समस्या उपन्यासमा उठान गरिएको छ। यो उपन्यास गन्धर्व समाजको दु:खको गाथा हो।’

'सारङ्गी' उपन्यास पढ्दा गन्धर्व जातिको मिहिन अध्ययन गरेको भेटिने कथाकार माया ठकुरीले बताइन्। ‘शारीरिक अपाङ्गता भएकाहरुमा संवेग हुन्न भन्ने आमसोचाइलाई यो पुस्तकले मिथ्या सावित गरिदिएको छ,’ उपन्यास गन्धर्व जातिको सीपले कसरी देशलाई सांस्कृतिक रुपमा कति धनी बनाएको छ भन्ने अध्ययन गरेरै लेखेको पाइने उल्लेख गर्दै ठकुरीले भनिन्,  ‘स्त्री र पुरुषको समस्या, उनीहरुका सामाजिक अवस्था तथा गन्धर्व जातिको जीवनशैलीलाई पुस्तकमा व्याख्या गरिएको छ।’

प्राज्ञ नरनाथ लुइँटेलले सिग्देलको उपन्यास बाटुलेचौरमा भए पनि यसले समाजका विविध पाटा खोतलेको बताए। ‘श्रवण शक्ति नभएकाहरुको मनोविज्ञानमाथि विश्लेषण गरिएको यस उपन्यासको आधारभूमि गन्धर्व समाज उनीहरुको जीवन पद्धति, मासिँदै गएको सारङ्गी संस्कृतिको समस्या हो’, उनले भने, ‘सारङ्गी समग्र नेपालीको आफ्नै सांस्कृतिक बाजा हो।

यसलाई जोगाउनु सरकार र हाम्रो दायित्व हो, जुन उपन्यासले चित्रण गरेको छ।’ उपन्यासमा मनोविज्ञानको सूक्ष्म विश्लेषण, बालमनोविज्ञनका जन्मैदेखि देखिने श्रव्य, वाचन गर्न नसक्ने पात्रको मनोविज्ञान मिहिन किसिमले समेटिएको बताए।वास्तविक जीवनकथामा आधारित उपन्यास 'आमोई' लेखक सिग्देलको 'सारङ्गी' ३१ सौं पुस्तक हो। शिखा बुक्सले प्रकाशन गरेको 'सारङ्गी' को मूल्य ३ सय ५५ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.