अमेरिकादेखि जापानसम्मका विद्यार्थी नेपाल ल्याउने योजना

|

  • अर्जुन आचार्य-

विराटनगर : प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल अनुसन्धानका दृष्टिले ‘भर्जिन’ मुलुक हो। यहाँ अनुसन्धान गरिनुपर्ने विषयहरू धेरै छन्। खोज अनुसन्धानका लागि निकै उर्वर भूमि हुँदाहुँदै पनि यसप्रति राज्य तथा सरोकारवाला निकायहरूको खासै ध्यान गएको पाइन्न।

भए गरेका नगण्य कामहरू पनि द्रूत गतिमा अघि बढेका छैनन्। यद्यपि, मोरङका स्थायी बासिन्दा डा. दिलीप अधिकारी विज्ञान र अनुसन्धानको क्षेत्रमा नेपाललाई केन्द्र बनाउने योजनाका साथ लागिपरेका छन् र यसैमा करोडौँ रूपैयाँ लगानी पनि गरिसकेका छन्।

त्यसको सुरुवात उनले सुनसरीको सीतागञ्जमा २० करोड रुपैयाँको लगानीमा एभरेष्ट साइन्स सेन्टर खोलेर गरेका छन्। वातावरण विज्ञानमा विद्यावारिधि गरेका वैज्ञानिक डा. अधिकारी यसमा अझै लगानी थप्ने योजनामा छन्। 

के-के गरे अधिकारीले?

अमेरिकाको अनुसन्धान केन्द्र नासाबाट गोल्ड मेडल प्राप्त गरेका अधिकारीले चन्द्रमामा दोस्रो पटक पाइला टेक्ने व्यक्ति बज अल्ड्रिनका साथै मंगल ग्रहमा बस्ती बसाउने योजनाकार अल्ड्रिनका छोरा डा. एन्ड्र्यु अल्ड्रिन, नासाका अध्यक्ष एलिजाबेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङलाई यसअघि नै एभरेष्ट साइन्स सेन्टर ल्याइसकेका छन्। 

सन् २००१ मा स्थापना भएको एभरेष्ट साइन्स सेन्टरले नासासँगको सहकार्यमा चन्द्रमाको ढुंगासमेत प्रदर्शन गरिसकेको छ। सो ढुंगा हेर्न चाहनेहरूका लागि अहिले पनि उपलब्ध छ।

साइन्स सेन्टरमा थ्री डी सिनेमा हल, पोेर्टेबल प्लानेटरी (तारामण्डल), डाइनोसरसम्बन्धी तथ्यहरू, विज्ञानका आकर्षक प्रयोगहरू, नासाले अन्तरिक्षमा पुर्‍याएको नेपालको झण्डासमेत राखिएको छ। यसबाहेक बोटिङ गर्ने पोखरी, डाइनोराइडका मूर्ति प्रदर्शनमा छन्। 

उनले एभरेष्ट साइन्स सेन्टरबाटै एक सय नेपाली विद्यार्थीलाई अमेरिकाको नासामा लगेर तालिम दिलाएका छन्।

अब के छन् योजना?

२० बिगाह जग्गामा फैलिएको एभरेष्ट साइन्स सेन्टर नेपालकै ठूलो साइन्स सेन्टरको रूपमा विकास गर्ने उनको योजना छ। उनले अहिले धमाधम स्पेस सेन्टर (अन्तरिक्ष विज्ञानको सबै विषयम अध्ययन गर्न सकिने) र कृषि विज्ञान संग्रहालय (नेपालको कृषि विज्ञानको सम्पूर्ण अध्ययन गर्न सकिने) निर्माण गर्दै छन्। यो योजना एक वर्षभित्रमा सञ्चालनमा ल्याउने उनले बताए। 

अर्को रोचक कुरा के छ भने अधिकारीले साइन्स सेन्टरको प्रचारकै लागि सहयोगी बनाउने उद्देश्यले झण्डै पाँचदेखि छ करोडरुपैयाँको लगानीमा केवलकार निर्माण गर्दै छन्। ‘अब दुई वर्षभित्रमा पूर्वका नागरिकहरूले केवलकार चढ्नका लागि मनकामना धाउनै पर्दैन’, अधिकारी भन्छन्, ‘सुनसरीको शान्ति वन जाँदा हुन्छ।’

साढे एक किलोमिटरको क्षेत्र घुम्न सक्ने गरी निर्माण गर्न लागिएको केवलकार दुई वर्षभित्रमा सञ्चालन गर्ने उनले दाबी गरे। त्यसबाहेक आकर्षक मिनी वाटर किङ्डम, म्युजिकल फाउन्टेन, रातको समयमा वनभोज खानेहरूका लागि उचित व्यवस्थापनसहितको पार्क निर्माण गर्ने योजनासमेत उनले सुनाए। 

अधिकारीका योजना त्यतिमा सीमित छैनन्। उनले सन् २०१७ अगष्ट ६ तारिखदेखि जापानबाट एक सय विद्यार्थी र तिनका अभिभावकलाई विज्ञान सिकाउँदै नेपाल भ्रमण गराउने एक हप्ते योजना पनि बनाएका छन्।

अध्ययनका लागि भन्दै विदेशिने नेपालीहरूको लर्को लागिरहेका बेला अधिकारीले थालेको यो प्रयास प्रशंसनीय छ। ‘हामीले अर्को वर्षसम्ममा अमेरिकाबाट पनि थुप्रै विद्यार्थीलाई नेपाल भ्रमण गराउने उद्देश्य राखेका छौँ’, अधिकारीले भने, ‘अध्ययनका लागि विदेश जानुपर्दैन नेपालमै अध्ययन गर्न सकिन्छ।’

नियमित कार्यक्रममध्ये साइन्स एण्ड स्पेस क्याम्प प्रभावकारी भएको उनी बताउँछन्। कोलकत्ता एस्ट्रोनोमी सेन्टर र एभरेष्ट साइन्स सेन्टरको सहकार्यमा वर्षमा २० वटाभन्दा बढी विज्ञान र अनुसन्धानसम्बन्धी कार्यक्रम भइरहन्छन्। साइन्स सेन्टरमा १५० जना विद्यार्थीलाई एकै पटकमा बस्ने, खाने व्यवस्थासमेत गरिएको छ। अधिकारी भारतका ५० वटा स्कुल/कलेजमा नियमित सम्पर्क राखेर काम गरिरहेको दाबी गर्छन्।

अमेरिकामा पनि शाखा

एभरेष्ट साइन्स सेन्टर (इएससिएन), साइन्स अन द मुभ एलएलसी नामक शाखा संस्था अमेरिकाको लस एन्जलसमा दर्ता भएको उनले बताए। यसबाट अमेरिकाका विद्यार्थीलाई नेपालमा ल्याएर साइन्स भिजिट गराउने र नेपाल भ्रमण गराउने योजना अधिकारीको छ।

‘नेपाली जापान गए तर, जापानी नेपालमा आएका थिएनन्, विज्ञान सिक्न, यो नेपालकै इतिहासमा पहिलो पटक हुन लागेको छ’, अधिकारीले दाबी गरे, ‘नेपाल सरकारले पनि यस्तो कुरामा चासो दिनुपर्‍यो।’ झण्डै १६ वर्षसम्मको लगातार प्रयासमा सेन्टर नासाको आधिकारिक सदस्य यसअघि नै बनिसकेको छ। 

सरकारबाट भएन सहयोग

सरकारले अहिलेसम्म साइन्स सेन्टरले गरेको कामप्रति चासो देखाएको छैन। सहयोग पनि भएको छैन। ‘मैले आशा पनि गरेको छैन’, अधिकारी भन्छन्, ‘पब्लिकहरूकै सहयोगमा अहिलेसम्म सम्पूर्ण काम भइरहेको छ, स्कुल/कलेजले राम्रो सहयोग गरेका छन्।’

चन्द्रयात्री एल्ड्रिन आउँदासमेत सरकारले सहयोग गरेको थिएन। ‘कार्यक्रमलाई सहयोग गर्ने भन्दा कार्यक्रम स्थगित गराउन दवाब आयो’, अधिकारी भन्छन्, ‘सहयोग गर्नुपर्नेमा तर्साउने काम भयो। नेपालको सरकारको यही नजर हो भने शिक्षाको गुणस्तर विकास हुने कुरामा कसरी विश्वास गर्न सकिन्छ?’

करोडौँ रुपैयाँको लागतमा त्रिभुवन विश्वविद्यालयको हाताभित्र बनेको वीपी विज्ञान संग्रहालयको भवन शानदार छ तर, काम शून्य। कर्मचारीले तलब खानेभन्दा अरू कुनै गतिविधि भएको छैन।

‘डा. बाबुराम भट्टराईको पालामा बनेको उक्त भवन अहिले विज्ञान विषयका विद्यार्थी प्रचण्ड नै सरकारको प्रमुख हुँदा पनि काम अघि बढेन’, अधिकारीले गुनासो गरे। तर, सरकारको सहयोगविना अधिकारीले यति ठूलो काम गरिरहेका छन्। एभरेष्ट साइन्स सेन्टरबारे www.escntrust.orgwww.acebook.com/triptonasa भिजिट गरेर जानकारी लिन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.