|

मिरिक(भारत): नेपाल र भारतका स्रष्टाहरू शनिबार एकै थलोमा उभिए। पश्चिम बंगाल दार्जिलिङस्थित मिरिकको युथ होस्टेलमा उनीहरूले कविता वाचनसँगै नेपाली भाषा र साहित्यबारे गहन विमर्श पनि गर्न भ्याए।

नेपाल लिटरेरी ग्रुप दमकले आफ्नो १२औँ शृंखला यस पटक भारतमा आयोजना ग¥यो। साहित्य संगम मिरिकले संयोजन गरेको शृंखलामा नेपाल र भारतका तीन स्रष्टाले एउटै मञ्चबाट कविता सुनाए। मिरिकका रञ्जित गुरुङ, सवीर दिलपाली र खोटाङे स्रष्टा खुक्साङ्ग खम्बुले कविता सुनाए। तीनै कविले पहिचानका मुद्दालाई कवितामार्फत् सम्वोधन गरेका थिए। 

सय वर्ष अघिदेखि उठेको गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनलाई विम्ब बनाएर आफ्नै देश नहुनुको पीडा भारतीय कविहरूले पोखे। नेपाली कवि खम्बुले पनि उत्पीडित, दलित, पिछडा वर्ग र आदिवासी जनजातिले अझै अधिकार पाउन नसक्नुको आक्रोश कवितामार्फत् व्यक्त गरे। उनीहरूले कविता पढिरहँदा मिरिकका संगीतकार उत्तममणि बम्जनले किबोर्डको धूनले साथ दिएका थिए। युथ होस्टेलको खचाखच भीडमा कविहरूलाई उपस्थितले तालीले साथ दिएका थिए।

मोफसलमा सहित्यको माहोल बनाउन नेपाल लिटरेरी ग्रुपले प्रत्येक महिना अनप्लग कविता वाचनको आयोजना गर्दै आएअनुसार यसपटक भारतको मिरिकमा नेपालीभाषी भारतीयमाझ आफ्ना कार्यक्रमहरू गरेको हो। तर लिटरेरी ग्रुपले यस पटक मात्र नेपाल र भारतका स्रष्टालाई एक ठाउँ बनाएर कार्यक्रम गरेको भने होइन। उसले यसअघि पनि दमकमा भएका कार्यक्रमहरूमा नेपाल र भारतका स्रष्टाहरूलाई एक ठाउँमा राखेर कविता वाचन गरेको थियो।

११औँ शृंखलासम्म यो कार्यक्रम नेपालमै भएको थियो। १२औँ शृंखला भने भारतमा गरिएको हो। यसअघि नवौँ शृंखलासम्म यो कार्यक्रम दमकमा भएको थियो। तर १०औँ शृंखलादेखि अनप्लग कविता साँझ दमकबाहिर हुन थालेको हो। 

यसअघि लिटरेरी ग्रुपले १०औँ शृंखला इलामको श्रीअन्तु र ११औँ शृंखला सुनमाईमा गरेको लिटरेरी ग्रुपका सचिव विराट किरातीले बताए।

मोफसलमा रहेका साहित्यकारको प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले लिटरेरी गुपले प्रत्येक महिनाको अन्तिम शुक्रबार गिटारको धूनसँगै कविता वाचन गर्दै आएको ग्रुपका अध्यक्ष  प्रकाश बुढाथोकी बताउँछन्। कार्यक्रमको उद्देश्य नै नेपाल र भारतका कविहरूलाई एक ठाउँमा राखेर एकअर्को देशको कवितालेखनका अनुभव साटासाट गर्नु रहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘हामीले प्रत्येक महिना यो कविता वाचन गर्नुको मुख्य उद्देश्य भनेकै नेपाल–भारतका कविहरूलाई एक ठाउँमा उभ्याएर आफ्नो अनुभव आदान–प्रदान गर्नु हो। यो कार्यक्रममा हामी काठमाडौँदेखि भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढीलगायत स्थानका साहित्यकाहरूलाई समेत ल्याउने गर्छौं’, उनीहरूको साहित्यको लेखन शैली र हाम्रो शैलीका विषयमा चर्चा गर्ने पनि बुढाथोकीले बताए। 

कविता वाचनलाई अझ प्रभावकारी बनाउन संगीतसहितको अनप्लग कविता साँझको आयोजना गर्दै आएको उनी बताउँछन्। ‘कवितामा अझ धून भर्न सकियो भने राम्रो हुन्छ’, उनी भन्छन्, ‘यो हाम्रो नयाँ अभ्यास हो।’ यस कार्यक्रममार्फत् अग्रजलाई सम्मान गरिएको र नयाँलाई अवसर दिइएको उनी बताउँछन्। 

पछिल्लो समय कार्यक्रममा सहभागिता जनाउन काठमाडौँमा बसेका साहित्यकारहरूले समेत चासो देखाउन थालेको उनी बताउँछन्। नेपाल लिटेररी ग्रुपले थालेको यो काम प्रशंसायोग्य रहेको वरिष्ठ कवि मदन ओझाले बताए। उनले नेपाली भाषा साहित्यमा निरन्तर संघर्ष गरिरहेका भारतीय  साहित्यकारहरूलाई नेपाली साहित्यकारसँग आफ्नो अनुभव साट्ने कार्यक्रम धेरै राम्रो रहेको बताए।

कार्यक्रममा बोल्दै साहित्य संगमका अध्यक्ष दधिराज घिमिरेले ग्रुपको यस्तो कार्यले नेपाली संस्कृतिको जगेर्नामा सहयोग पुगेको बताए। यस्तै कार्यक्रमहरूबाट उनले नेपालीभाषी भारतीयले समेत नेपालको कला संस्कृतिको बारेमा जानकारी पाएको पनि बताए। 

नेपाल र भारतका दुई दर्जन कविले सुनाए कविता

लिटरेरी ग्रुपको मासिक कार्यक्रम अनप्लग कविता साँझ सकिएपछि कविगोष्ठी भयो। उक्त गोष्ठीमा कार्यक्रममा उपस्थित तीन दर्जन बढी नेपाली र भारतीय कविहरूले आफ्ना कविता प्रस्तुत गरे। उनीहरूमध्ये कसैले माया प्रेमका कविता सुनाए भने कसैले आफ्नो देश र जातिको पहिचान झल्कने कविता सुनाए। 
कार्यक्रममा नेपालीभाषी भारतीय कविहरू पवन नाम्लुङ, अरुणचन्द्र कुलुङ, महेन्द्र स्याङ्बो, कमला तामाङ, मनोज तामाङ, अजम प्रधान, गोकुल रसाइली, विष्णुकुमार रसाइली, संगीता थापालगायतले आफ्ना रचना सुनाएका थिए। 

त्यस्तै नेपाली स्रष्टाहरू प्रकाश बुढाथोकी, विराट किराती, जितेन मुस्कान, राजकुमार अनिश्चित, कविता राई गाउँले, प्रकाश थाम्सुहाङ, देवान किराती, तारा पराजुली, मीना श्रेष्ठ, विमल वैद्य, बेकामे इन्द्र, मेची पुत्र, चेतन बाह्रकोटीलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.