|

लहान : मधेस केन्द्रित दलहरुबाट ‘मधेस विरोधी’ को आरोप खेपिरहेको नेकपा (एमाले) मा अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) विलय भएको छ।

सप्तरीको दक्षिणी सीमावर्ती लालापट्टी गाउँमा आइतबार अपरान्ह आयोजित पार्टी प्रवेश कार्यक्रममा सिंहसहित सिङ्गो मोर्चा एमालेमा विलय भएको घोषणा भएको हो। एमाले स्थायी कमिटी सदस्य रामप्रित पासवानले सिंह सहित मोर्चाका नेताहरुलाई फूलमाला पहिर्‍याएर पार्टी प्रवेश गराए।

मोर्चाका केन्द्रीय सदस्यहरु छेदी राम, अशोक यादव, देवराज यादव, छोटुबाबु, देवकुमार यादव, मोरङ्का इञ्चार्ज महेन्द्र मुखिया, सुनसरीका अध्यक्ष देवराज यादव, राजविराज नगर इञ्चार्ज विनोदकुमार दास, सप्तरी जिल्ला सदस्यहरु मनोज मुखिया, परमानन्द यादव, भुपेन्द्र यादव, प्रमोद यादव, श्रवण कामैत लगायत नेताहरु एमाले पार्टी प्रवेश गरेका छन्।

मुलुकको आमूल परिवर्तन गर्न एमाले मात्रै सक्षम रहेको दावी गर्दै मोर्चाबाट नवप्रवेशी सिंहले तराई जिल्लाका आफ्ना सबै कार्यकर्ताहरुलाई क्रमशः एमालेमा प्रवेश गराउने बताए। सिंह आफ्ना सबै हतियार सरकारलाई बुझाएपछि पछिल्लो दुई वर्षदेखि निष्क्रिय रहँदै आएका थिए।

पार्टी प्रवेश गराउँदै एमाले नेता पासवानले स्थानीय तहको निर्वाचन नहुञ्जेल केन्द्रमा रहेको अधिकार जनतामा नपुग्ने भएकाले सबैलाई निर्वाचनमा जुट्न आग्रह गरे।

कार्यक्रममा एमाले जिल्ला सदस्यहरु जयप्रकाश ठाकुर, विनोद यादव र अशोक यादवले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुन गइरहेको धारणा राखे।

को हुन् अजित?

तत्कालीन नेकपा (माओवादी) को भातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वबाट हटाइएपछि जनतान्त्रिक तराई मुक्ति मोर्चा हुँदै अखिल तराई मुक्ति मोर्चा बनाएका जयकृष्ण गोइतसँगै काम गरेका करिब ४० वर्षीय सिंह सप्तरीको लालपट्टीका बासिन्दा हुन्। गोइतसँग चन्दाको विषयमा विवाद भएपछि उनले त्यही नामको अलग समूह बनाएर फाटफुट रुपमा सशस्त्र गतिविधि गर्दै आएका थिए।

करिब दुई वर्ष पहिले सरकारी टोलीसँग वार्ता गरेर हतियार बिसाएको घोषणा गरेका उनी त्यसयता त्यति सक्रिय देखिएका थिएनन्। उनको नेतृत्वमा रहेको मोर्चाले २०७२ साल असार २१ गते दोस्रो पटक सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई चार थान हतियार बुझाएको थियो। यादवले एक थान १८ इञ्च लामो थ्रिनट, एक थान कटुवा पेस्तोल र दुई थान सकेट बमको पाइप बुझाएका थिए। त्यसअघि २०७१ मंसिर २ गते संयोजक सिंहले प्रजिअ यादवलाई एक थान दुई नाले बन्दुक, दुई थान एक नाले बन्दुक र छ थान कटुवा पेस्तोल बुझाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.