|
फाइल फोटो

काठमाडौं : सत्तारुढ राप्रपाले गठबन्धन सरकारमा रहनुको औचित्यबारे छलफल गर्न सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने कांग्रेस र माओवादी केन्द्रको निर्णय गलत भएको निष्कर्षसहित राप्रपाले सरकारबाट फिर्ता हुने गरी आपतकालीन बैठक बोलाएको हो। राप्रपा नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरीले सरकारबाट फिर्ता हुन सक्ने जानकारी दिए।

यसअघि आइतबार बिहान बसेको राप्रपा संसदीय दलको बैठकमा संविधान संशोधनको औचित्य नरहेको भन्दै १० जना सांसद उपस्थित भएनन्। संशोधनको विपक्षमा देखिएका सांसद विनाजानकारी अनुपस्थित भएपछि राप्रपामा संकट उत्पन्न भएको थियो। उक्त संकट टार्न पनि राप्रपाले सरकार छाड्न लागेको एक पदाधिकारीको भनाइ छ।

को–को भए अनुपस्थित ?

संसदीय दलको बैठकमा सांसदहरू गीता सिंह, कान्ता भट्टराई, सीता लुइँटेल ज्ञवाली, राज्यलक्ष्मीदेवी श्रेष्ठ, विराज विष्ट, रामकुमार सुब्बा, बबिना मोक्तान लावती, राजेश्वरी देवी, कमलादेवी शर्मा, रमेश लामा अनुपस्थित रहेको स्रोतले बतायो। अनुपस्थित रहने १० मध्ये सातजना पूर्वराप्रपा नेपालको तर्फबाट र राप्रपाका तीनजना समानुपातिक कोटामा मनोनीत सांसद थिए। यीमध्ये भट्टराई, शर्मा, लुइँटेल, विष्ट, सुब्बा, देवी, र मोक्तान लावती राप्रपा नेपालबाट तथा सिंह, श्रेष्ठ र लामा राप्रपाबाट सांसद भएका थिए।

राप्रपा प्रवक्ता सुशील श्रेष्ठले सांसद अनुपस्थितको घटना सामान्य भएको टिप्पणी गरे। ‘केही सांसद बैठकमा अनुपस्थित हुनुहुन्थ्यो,’ प्रवक्ता श्रेष्ठले भने ‘केही रात्री बसबाट काठमाडौं आएकाले सोझै संसद् बैठकमा सहभागी भए। एउटा बैठकमा नआउँदैमा उहाँहरूका विषयमा अन्यथा सोच्न मिल्दैन।’ राप्रपाको संसदीय बैठकमा अनुपस्थित सांसदलाई सम्पर्कको प्रयास गर्दा अधिकांशको मोबाइल स्वीच अफ गरिएको थियो, केहीले फोन उठाएनन्।

दलको बैठकमा अनुपस्थित सांसद राजधानीको गोकर्ण रिसोर्टमा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका नेताहरूसँग छलफलमा थिए। उक्त पार्टीका प्रचार संयोजक महेश्वर रोकाले यसबारे नयाँ पत्रिकासँग भने, ‘केही सांसदले पार्टी नेताहरूसँग छलफल गर्नुभएको हो।’ बैठकमा राप्रपाको एकता महाधिवेशनमा हारेका राप्रपाका नेता र निर्वाचित केन्द्रीय सदस्यसमेत सहभागी थिए।

थापाले भने : ज्ञानेन्द्रबाट पार्टी विभाजन गर्ने प्रयास भो 

राप्रपा संसदीय दलको आइतबारको बैठकमा अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका थिए। ‘जसका लागि भन्दै हामी हिँड्यौँ, उतैबाट पार्टीमाथि यो घात भएको छ। राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइनन्, यसमा हामी सबै स्पष्ट हुनु जरुरी छ,’ एक सांसदका अनुसार अध्यक्ष थापाको भनाइ थियो, ‘राप्रपा विभाजन गर्न सांसदहरूलाई भड्काउन लागेका छन्, यो हामीलाई मान्य छैन।’

राप्रपाले मान्यताका लागि राजसंस्थाको पक्षमा आवाज उठाएको, तर कोही व्यक्तिको स्वार्थका लागि होइन भन्दै थापाले पूर्वराजाको आलोचना गरेका थिए। बैठकमा केही सांसदले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरू सागर तिमल्सिना, डा. फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोश पोखेका थिए। स्रोतका अनुसार सांसद तथा पूर्वमन्त्री रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामामाथि कारबाहीका लागि राप्रपाले प्रक्रिया अघि बढाउने तयारी गरेको छ। बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.