|

काठमाडौँ: इन्टरनेटको सबैभन्दा ठूलो भिडियो सेयरिङ साइट हो, युट्युब। युट्युबमा साइनअप गरी जोकोहीले पनि आफ्नो च्यानल बनाउनसक्छ। च्यानलमा भिडियो अपलोड गर्ने र त्यस भिडियोमा आएको 'भ्युज'का आधारमा युट्युबले त्यस च्यानललाई पैसा दिने गर्छ।

नेपालमा पनि युट्युब चलाउनेको जमात बढ्दै गइरहेको छ। नेपालमा पनि युट्युब चलाएर आफ्नो जीविका चलाउने पनि धेरै छन्।

हामी सबैलाई एउटा कुरा जान्न मन लाग्छ, युट्युबमा हालेको कुन भिडियोले कति कमायो? त्यस कुरालाई पनि सहज बनाइदिएको छ, ट्युबबडी नामक सफ्टवेयरले। आज हामीले त्यसैको सहायतामा २०७४ सालमा सार्वजनिक भई सर्वाधिक रुचाइएका गीतहरूले कति कमाए त? भन्ने रिपेर्ट तयार गरेका छौ।

१. ठमेल बजार

कालीप्रसाद बास्कोटाको संगीत रहेको गीत 'ठमेल बजार...' यो वर्षको लोकप्रिय गीत बन्न सफल भयो। फिल्म 'लुट-२' मा समावेश गरिएको उक्त गीतले पनि स्वदेश तथा विदेशका स्टेजमा राम्रै स्थान पायो। यही गीतका कारण मोडल एलिसा राई पनि दर्शकमाझ चर्चित बनिन्।

'ठमेल बजार'लाई अहिलेसम्म युट्युबमा एक करोड ३९ लाखभन्दा बढी पटक हेरिएको छ। 'हाइलाइट्स नेपाल'ले हालेको उक्त भिडियोले अहिलेसम्म २२ हजार ६६९ डलर अर्थात नेपाली २२ लाख ६६ हजार रुपैयाँभन्दा बढी कमाएको छ। भिडियो २८ अक्टुबर २०१६ मा सार्वजनिक भएको थियो।

२. पूर्व-पश्चिम रेल

यसै वर्ष सार्वजनिक भएको गीतमध्ये 'पूर्व-पश्चिम रेल' एकदमै रुचाइएको गीत हो। फिल्म ‘छक्का पञ्जा’मा समावेश यो गीत वर्षभरि नै हिट रह्यो। बालकदेखि वृद्धसम्मले मनपराएको यो गीत देउसी, विवाह, ब्रतबन्धदेखि पिकनिक र स्टेज कार्यक्रममा समेत एक छत्र बज्यो।

राजनराज शिवाकोटीको संगीतमा तयार भएको उक्त गीतमा राजनराज र अन्जु पन्तको स्वर रहेको छ। गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्।

युट्युबमा पनि हिट यस गीतलाई अहिलेसम्म एक करोड ३४ लाखभन्दा बढी पटक हेरिसकिएको छ। यस गीतलाई 'हाइलाइट्स नेपाल'ले आफ्नो च्यानलमा हालेको छ। २८ मे २०१६ मा सर्वजनिक भएको उक्त भिडियोले अहिलेसम्म २१ हजार ४४४ डलर अर्थात नेपाली २१ लाख ४४ हजार रुपैयाँभन्दा बढी कमाइसकेको छ।

. साइँली

हेमन्त रानाको स्वर रहेको गीत 'साइँली' यस वर्षकै सर्वाधिक रुचाइएको गीत हो। परदेशीको महिमा गाइएको यो गीत प्राय: सबै दर्शक/श्रोताको मनमा बस्न सफल भयो। कालीप्रसाद बास्कोटाको शब्द र संगीत रहेको गीतको भिडियोमा नायक गौरव पहरी र नायिका मेनुका प्रधानको अभिनय छ।

सुरुमा युट्युबमा हालिएको लिरिकल भिडियोलाई पनि दर्शक/श्रोताले मनपराएका थिए। पछि सार्वजनिक गरिएको अफिसियल भिडियो एक करोड सात लाख ६४ हजारभन्दा बढी पटक हेरिएको छ। उक्त भिडियोले युट्युबबाट १६ हजार १४६ डलर अर्थात नेपाली १६ लाख १४ हजार रुपैयाँभन्दा बढी कमाइसकेको छ। यो भिडियो १० फेब्रुवरी २०१७ मा 'जीएच इन्टरटेन्टमेन्ट' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो।

४. शिरैमा शिरबन्दी

यस वर्ष रुचाइएको अर्को गीत हो, 'शिरैमा शिरबन्दी।' फिल्म 'हाउ फन्नी'मा समावेश उक्त गीतले पनि राम्रै बजार पिट्न सफल भयो। प्रियंका कार्कीको अभिनय रहेको उक्त गीतले पनि स्टेज कार्यक्रममा राम्रै छाप छोड्यो। महिला दर्शक तथा श्रोतामाझ यो गीत अझ बढी लेकप्रिय बनेको पाइयो। विद्यालय र क्याम्पसस्तरका सांस्कृतिक कार्यक्रममा पनि यो गीत हिट भयो। 

यो गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने मेलिना राईले स्वर भरेकी छन्। यस गीतलाई अहिलेसम्म युट्युबमा ८५ लाख ८७ हजारभन्दा बढी पटक हेरिएको छ। यस गीतले भने युट्युबबाट अहिलेसम्म १३ हजार ४९६ डलर अर्थात नेपाली १३ लाख ४९ हजार रुपैयाँ कमाइसकेको छ। यो भिडियोलाई ११ मार्च २०१६ मा 'अोएसआर डिजिटल'ले सार्वजनिक गरेको थियो।

. काले दाइ

फिल्म 'पर्व'मा समावेश 'काले दाइ' बोलको आइटम गीतले नेपाली बजार राम्रैसँग ततायो। निश्चल बस्नेत र माला लिम्बुको 'हट' अभिनयका कारण पनि युट्युबमा उक्त गीतलाई राम्रैसँग खोजियो। गीतमा निश्चल बस्नेत र मीना निरौलाको स्वर, कोसिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको छ।

यस गीतले पनि स्टेज प्रोग्राममा राम्रै स्थान पायो। यो गीतलाई अहिलेसम्म युट्युबमा ९७ लाख १९ हजारभन्दा बढी पटक हेरिएको छ। सुवास इन्टरटेन्टमेन्टको युट्युब च्यानलमा हालिएको उक्त भिडियोले १४ हजार ५७८ अर्थात नेपाली १४ लाख ५७ हजार रुपैयाँभन्दा बढी कमाइसकेको छ। यो भिडियो १३ जनवरी २०१७ मा सार्वजनिक भएको थियो। 

. निर

यो वर्ष रुचाइएको अर्को गीत हो 'निर।' मौलिक शब्दहरू प्रयोग गरी तयार गरिएको उक्त गीतलाई सबै श्रोता/दर्शकले मनपराइदिए। फिल्म 'पुरानो डुङ्गा'मा समावेश उक्त गीतमा शब्द, संगीत तथा स्वर कालीप्रसाद बास्कोटाको रहेको छ। यस गीतलाई विभिन्न स्टेज कार्यक्रमदेखि सार्वजनिक कार्यक्रममा समेत वर्षभरि नै सुनियो।

यो गीतमा धेरै कभर डान्स भिडियोहरू पनि निर्माण भए। ती सबैजसो कभर भिडियोहरू युट्युबमा हिट भए। अफिसियल रूपमा लिरिकल भिडियो मात्र युट्युबमा सार्वजनिक गरिएको उक्त गीतलाई ७४ लाख ४३ हजारभन्दा बढी पटक हेरिएको छ। सिनेमा आर्टले सार्वजनिक गरेको उक्त भिडियोले अहिलेसम्म ११ हजार १६४ डलर अर्थात नेपाली ११ लाख १६ हजार रुपैयाँ भन्दा बढी कमाएको छ। यो भिडियो २२ जुलाई २०१६ मा सार्वजनिक भएको हो।

७. देख न चम्पा

सुदूरपश्चिमेली शब्द मिश्रण गरी तयार गरिएको गीत 'देख न चम्पा' यस वर्ष रुचाइएको गीत हो। 'छक्का पञ्जा' फिल्ममा समावेश यो गीत एकदमै रमाइलो र मायाप्रेममा आधारित छ। दीपक शर्माको संगीत रहेको यस गीतमा कृष्ण काफ्ले र दीपाश्री निरौलाले स्वर दिएका छन्। शान्तिप्रियको शब्द सिर्जना रहेको गीतमा दीपकराज गिरी र प्रियंका कार्की फिचरिङ छन्।

गीतलाई अहिलेसम्म युट्युबमा ५४ लाख ५१ हजार पटक हेरिएको छ। हाइलाइट्स नेपालले युट्युबमा हालेको उक्त भिडियोले अहिलेसम्म आठ हजार २९४ डलर अर्थात नेपाली आठ लाख २९ हजार रुपैयाँ माथि कमाइसकेको छ। यो भिडियो १८ जुलाई २०१६ मा सार्वजनिक भएको थियो।

८. सारे सारे

फिल्म 'वीर वीक्रम'मा समावेश गीत 'सारे सारे'लाई पनि दर्शक/श्रोताको राम्रो साथ मिल्यो। मायाको भाव बोल्ने उक्त गीतमा दिनेश राउतको शब्द रहेको छ। गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने दीपा लामा र ताराप्रकाशको स्वर रहेको छ। रेनाशा राईको कोरियोग्राफी रहेको गीतमा दयाहाङ राई र दिया पुनको अभिनय छ।

यस गीतलाई अहिलेसम्म युट्युबमा ४० लाख ४१ हजार पटक हेरिएको छ। 'अोएसआर डिजिटल'ले १० मार्च २०१६ मा सार्वजनिक गरको यस भिडियोले अहिलेसम्म छ हजार ४१५ डलर अर्थात नेपाली छ लाख ४१ हजार रुपैयाँ कमाइसकेको छ।

. छपक्कै फूल फुल्यो

फिल्म ‘राधा’मा समावेश यो गीत वर्षकै लोकप्रिय गीतमा पर्न सफल गीत हो। यो गीतमा मौलिक शब्दहरू प्रयोग गरिएको छ। एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा वसन्त सापकोटाले संगीत भरेका छन्। किरण गजमेर र मेलिना राईको स्वर रहेको यस गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। भिडियोमा जीवन लुइँटेल र संचिता लुइँटेलको केमेस्ट्री रुचाइएको छ।

यस गीतलाई अहिलेसम्म ३३ लाख २५ हजारभन्दा बढीले हेरेका छन्। 'हाइलाइट्स नेपाल'ले बजारमा ल्याएको उक्त गीतले अहिलेसम्म चार हजार ९८७ डलर अर्थात नेपाली चार लाख ९८ हजार रुपैयाँमाथि कमाएको छ।

१०. कस्सम हो

फिल्म 'ए मेरो हजुर- २' मा समावेश गरिएको 'कस्सम हो' बोलको गीतलाई पनि दर्शक/श्रोताको राम्रै साथ मिल्यो। एकदमै सुन्दर दृष्य समावेश गरिएको यस गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र सुनीलमान बानियाको अभिनय छ।

गीतमा कल्याण सिंहको संगीत, कृष्णहरि बरालको शब्द तथा सुगम पोखरेलको आवाज रहेको छ। भिडियो एकदमै आकर्षक बनेकाले पनि युट्युबमा उक्त भिडियो हेर्ने दर्शकको संख्या राम्रै भयो। १६ मार्च २०१७ मा सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई अहिलेसम्म युट्युबमा २९ लाख चार हजारभन्दा बढी पटक हेरिएको छ। बूढासुब्बा डिजिटलले युट्युबमा हालेको उक्त भिडियोले अहिलेसम्म चार हजार ३५७ डलर अर्थात नेपाली चार लाख ३५ हजार रुपैयाँभन्दा बढी कमाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.