|

स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा दलहरू चुनावी तालमेल गरेर जाने तयारीमा छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच केही ठाँउमा तालमेलको प्रयास भइरहेको छ। यही क्रममा एमाले र राप्रपाबीच पनि चुनावी तालमेलका वार्ताहरू भए। एमालेसँग समीकरण गरेर राप्रपा चुनावमा जाने चर्चा चलेको छ। के छ त राप्रपाको तालमेल रणनीति? यो विषयमा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग थाहाखबरले गरेको संवाद।

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै मैदानमा जान्छ कि तालमेल गर्छ?

मिले तालमेल गर्ने नभए एक्लै मैदानमा जाने हो। स्थानीय आवश्यकताअनुसार निर्णय हुन्छ।

तालमेल भए कुन दलसँग हुन्छ?

यसबारे सबै अधिकार स्थानीय तहलाई नै दिएका छौँ। स्थानीय आवश्यकता र शक्ति सन्तुलन हेरेर सोही तहबाट गरेको तालमेल अर्थपूर्ण र परिणाममुखी हुने भएकोले हामीले तल्लो तहलाई नै अधिकार दिएका हौँ।

तर नेतृत्वले त एमालेसँग तालमेल गर्न चाहेको थियो होइन र?

त्यस्तो होइन। तालमेलबारे सबै दलसँग छलफल भएको हो।

एमालेसँग त तपाईंकै नेतृत्वमा छलफल भएको थियो नि!

हो। एमालेसँग तीन-चार पटक छलफल भएको हो तालमेलका लागि।

के भयो त छलफलमा?

चुनावमा कांग्रेस र माओवादीबीच तालमेल हुने कुरा भइरहँदा एमालेमा पनि हामीसँग तालमेल गर्दा लाभ हुन्छ कि भन्ने सोच आएको हो। हामीमा पनि एमालेसँग तालमेल गर्दा पार्टी बढी स्थानमा विजयी हुन्छौँ कि भन्ने विश्लेषण भएको हो।

त्यसो भए एमालेसँगै समीकरणा बन्न लागेको हो?

त्यो सही होइन। यो स्थानीय तहले नै गर्छ। एउटै जिल्लामा फरक-फरक पार्टीसँग तालमेल हुन्छ। कुरा नमिले राप्रपा एक्लै चुनावी मैदानमा जान्छ। केही जिल्लामा एमालेसँग कुरा मिल्छ जस्तो छ। धनकुटा, सिन्धुपाल्चोकलगायत जिल्लामा कांग्रेस र माओवादीसँग तालमेल हुनसक्ने संभावना छ।

स्थानीय चुनावमा राप्रपाको अपेक्षा के छ?

यो चुनावमा हामी तेस्रो स्थानमा आउनेछौँ। जिल्ला जिल्लाबाट राम्रो परिणाम आउने खबर आइरहेको छ।

त्यसको आधार त देखिँदैन नि!

आधार छ। पहिलो आधार राप्रपा एक भएको छ। अर्को, हामीले राजासहितको लोकतन्त्र भनेका छौँ। त्यो एजेण्डाका पक्षमा आम जनमत छ। हामीले सनातन हिन्दू राष्ट्रको मुद्दा बोकेका छौँ। आर्थिक उदारवारको नीति हामीले मात्र बोकेका छौँ। हाम्रा मुद्दा लोकप्रिय मात्र होइन, समयसापेक्ष पनि छन्। जनताले हामीमाथि भरोसा र विश्वास राखेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.