|

लहान : स्थानीय तहको वैशाख २१ गतेका लागि तोकिएको मिति प्रदेश नं. १, २, ५ र ७ गरी चार वटा प्रदेशमा अर्को चरणमा गर्ने गरी सरेको छ। स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि परिचालन गर्ने गरी देशैभर भर्ना गरिएका म्यादी प्रहरीहरु पहिलो चरणअन्तरगत मंगलबारदेखि सुरु भएको निर्वाचन प्रकृयामा खटिइसकेका छन् तर, निर्वाचन सरेपछि सिरहामा भर्ना भएका म्यादी प्रहरीलाई मंगलबार सिरहा, लहानसहित जिल्लाका १० ठाउँमा सरसफाइमा परिचालन गरिएको छ।

म्यादी प्रहरीमा भर्ना भएपछि चैत २५ देखि वैशाख ५ गतेसम्म गरी १२ दिनको आधारभूत तालिम लिएका सिरहाका १ सय ५६ महिलासहित १ हजार ९ सय २४ जना म्यादी प्रहरीलाई मंगलबार बिहान स्थानीय मठ मन्दिर, बजार, सार्वजनिक ठाउँहरुको सरसफाइमा खटाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएका म्यादी प्रहरीहरुले मंगलबार बिहान सिरहा सदरमुकाम प्रवेश नाकामा पर्ने सहिद चोकदेखि करिब दुई किलोमिटर दक्षिण पर्ने जिल्ला प्रशासन कार्यालयसम्मको सडक, नाला सरसफाइ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए। त्यसअघि सरसफाइ अभियन्ता धिरेन्द्र साहले म्यादी प्रहरीहरुलाई सरसफाइको विषयमा प्रशिक्ष्यात्मक छलफल चलाएका थिए।

त्यस्तै, इलाका प्रहरी कार्यालय लहानमा राखिएका म्यादी प्रहरीहरुले पूर्व–पश्चिम सडक अन्तरगत लहानको मुख्य सडक खण्डसहित बजार क्षेत्रको सरसफाइ गरेका छन्। म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहासहित लहान, धनगढी, गोलबजार, मिर्चैया, बन्दीपुर, कल्याणपुर, महेशपुर पतार र बरियारपट्टिमा राखेर पुनर्ताजगी तालिम दिइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक देवकुमार श्रेष्ठले बताए।

स्थानीय तहको निर्वाचनका लागि सिरहामा आवेदन दिएका २ सय ८ महिलासहित तीन हजार सात सय ६८ जनामध्ये एक हजार नौ सय ३२ जना छनोट भएका थिए। त्यसमा पनि आठ जना अनुपस्थित भएकाले एक हजार नौ सय २४ जनालाई सिरहाको जिल्ला प्रहरी कार्यालय सिरहा, लहान, धनगढी, गोलबजार, मिर्चैया, बन्दीपुर, कल्याणपुर, महेशपुर पतार र बरियारपट्टिमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.