|

काठमाडौँ: सोमबार राजधानीको बागबजारस्थित सिटी म्याक्स सिनेमा हलमा आयोजना गरिएको ‘काव्यमेला’मा युवापुस्ताका पाँच कविले आफ्ना पाँच–पाँचवटा कविता सुनाए। 

उर्वरा फाउण्डेसन, नेपालसँगको सहकार्यमा अराजक अक्षर समूह र कर्मी नाट्य समूह भरतपुर, चितवनद्वारा आयोजित उक्त मेलामा युवाकविहरू सुदीप कोइराला ‘सुको साइबर’, लक्ष्मी रुम्बा, मुकुन्द खलपात्र, सुशील कुँवर र अञ्जना राई प्रस्तुत भएका थिए।

कतारमा कार्यरत कुँवरले ‘आज मजदुर दिवस, हामी पनि एक मजदुर नै हौँ’ भन्दै विदेसिनुको पीडा समेटिएको ‘मजदुर म’ शीर्षकको कविताबाट कार्यक्रमको आरम्भ गरेका थिए। उनले ‘बहिनीको चिठ्ठी’, ‘अतिरिक्त हाँसो’, ‘निष्कर्ष’ र ‘ठेकेदार’ सुनाएर माहोल तताए।

दोस्रो चरणमा प्रस्तुत भएकी राईले ‘आमाको आँखामा छोरीको आधा अनुहार’, ‘दुधकोसीको किनार’, ‘फोक्सोको आयु’, देउताहरूको कुरा’ र ‘तीज’ शीर्षकका कविता सुनाइन्।

त्यसपछि नाट्यकर्मी ढसमेत रहेका खलपात्रले अभिनयात्मक शैलीमा ‘मिस हिमाल’, ‘नमस्ते सर’, जिन्दगीरूपी कारोबार’, ‘बिस्तार’ र ‘अर्धनग्न सगरमाथा’ कण्ठस्थ सुनाए। यसैगरी रुम्बाले ‘एकसरो यथार्थ’, ‘जङ्गल : एक सपना’, ‘झरीको अनुहार’, ‘लामो रातपछि’ र ‘माक्स’ शीर्षकका कविता सुनाइन्। अन्तिममा प्रस्तुत भएका साइबरले ‘प्रश्न’, ‘बम र बुद्ध’, ‘भोक’, र ‘आगो’ शीर्षकका छोटा कविता सुनाएर काव्यवाचनको बिट मारेका थिए।

काव्यमेलामा प्रस्तुत भएका पाँच कविका कविता सुनिसकेपछि  प्राज्ञ तथा कवि श्रवण मुकारुङले मेलामा वाचित कविताहरू सबै उत्कृष्ट र फरक–फरक शैलीका रहेका बताए। कवितामा शब्दभन्दा भाव प्रधान हुनुपर्ने उनको आशय थियो। ‘कविता भावनाभन्दा भोगाइमा केन्द्रित हुनुपर्छ, यो नै कविताको सत्य हो’, उनले भने। कार्यक्रमको उद्देश्यबारे अराजक अक्षर समूहका सदस्य उत्तम गुरुङ र मिताली थापाले प्रकाश पारेका थिए। 

भरतपुरमा थिएटर निर्माणको अभियानसहित मासिक रूपमा सञ्चालन हुँदै आएको ‘काव्यमेला’को यो छैटौँ शृङ्खला हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.