|

काठमाडौँः बेटर नेपाल अभियान र जरा फाउण्डेसनको आयोजनामा सोमबार राजधानीमा पहिलो पटक ‘जेन कविता गोष्ठी’ सम्पन्न भएको छ। 

चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट, शङ्खमूलको सहयोगमा भएको सो कार्यक्रममा पुष्कर लोहनी, कृष्ण प्रसाईँ, श्याम रिमाल, छविरमण सिलवाल, महेश पौड्याल, अनिल खतिवडा, असीम सागर, दिवस थापा, महेश क्षितिज, देवेन्द्र केसी, सुवास सङ्गम, साइमन सहदेव, राजेन्द्र चापागाईँ, शारदा घिमिरे र रचना रच्चुले भिक्षु र बौद्धमार्गीकोे जीवन, प्रेम, पैसा, प्रकृति, यौन, फेसबुक र पुरानो पुस्ता, शान्ति आदि विषयमा कविता वाचन गरेका थिए। 

प्रसाईंको ‘नोट जतिसुकै झुत्रो होस् डस्टबिनमा कहिल्यै फालिँदैन’, पौडेलका ‘सियो सर्वाङ्ग नाङ्गै छ, तर युगौँदेखि मानिसको लाज छोप्ने लुगा सिइरहेको छ निःशब्द’ जस्ता जेन कविता कार्यक्रममा रुचाइएका थिए। 

सो अवसरमा चारुमती बुद्धिस्ट मिसन नेपालका प्रमुख भिक्षु तपस्सी धम्मले जेन कविता नेपालबाटै विश्वमा फिँजिएको बताउँदै युवापुस्तालाई ध्यान गर्नका लागि आह्वान गरे। 

अर्घाखाँचीका शिक्षक (६४ वर्षीय, ११ केजी)ले जन्म र मरणको बीचमा देश र समाजका लागि केही गर्नुपर्ने बताउँदै अपाङ्गता भएकाहरूलाई घृणा नगर्न आग्रह गरे। 
बेटर नेपालका सल्लाहकार तथा फाउण्डेसनका महासचिव महेश पौड्यालले बौद्धशास्त्रहरूको तत्त्वज्ञानबाट हटेर आफ्नै सिर्जनाचक्षुले उद्घाटन गरेका जीवनका सत्यहरू अटाउने सूत्रात्मक कविता नै जेन कविता भएको स्पष्ट पारे। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा जेन कवितामा शोध गर्ने मञ्जु महर्जनले जेन कवितामा प्रेम अभिव्यक्त गर्दा आशक्ति हुन नहुने र विरोध गर्दा आक्रोश र हिंसात्मक हुन नहुने बताइन्। 

चैतन्य इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत गणेश जोशी र बेटर नेपालका रवीन खतिवडाले आगामी दिनमा जेन कविता गोष्ठीलाई निरन्तरता दिइने जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.