|

बाँके  : अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तरगत महिला एकल तर्फको उपाधि बाँकेकी सम्झना शर्माले जितेकी छन्। भने पुरुष एकलतर्फको उपाधि पनि बाँकेकै शिव थापाले हात पारेका छन्। नेपालगन्ज रंगशालाको कबर्डहलमा भएको फाइनल खेलमा शर्माले सहज रुपमा बाँकेकै मेरी थापालाई हराउँदै उपाधि जितेकी हुन्।

महिला एकलतर्फ शर्माले २१–११ र २१–१० को सोझो सेटमा मेरीलाई पराजित गरी उपाधि हात पारिन्। शिव थापा  र रियाज अन्सारीबीच भएको पुरुष एकलतर्फको खेलमा थापाले २१–१६ को अन्तरले अन्सारीलाई पराजित गरे। दोस्रो सेटमा अन्सारीले थापालाई २१–१९ को अन्तरले हराए। निकै नै कडा प्रतिस्पर्धात्मक खेलको तेस्रो सेटमा थापाले अन्सारीलाई २४–२२ को अन्तरले  हराएर पुरुष एकलको उपाधि चुमेका हुन्।

पुरुष डबलमा बाँकेका रियाज अन्सारी र सेहराज अन्सारीको जोडीले सुर्खेतका महेश विक्रम सिंह र टक्क बहादुर शाहीको जोडीलाई २१–१८, ११–२१ र २२–२० को अन्तरले पराजित गरेको छ। विजेता तथा उपविजेता खेलाडीले काठमाडौंमा हुने अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टनमा सहभागी हुन पाउने भएका छन्।

प्रतियोगितामा विजेता तथा सहभागी  खेलाडीहरुलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य छविलाल शाही, बाँके जिल्ला ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष सञ्जय थापा लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.