|

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले त्रिवि शिक्षण अस्पतालका चिकित्सक  डा. गोविन्द केसीले अब अहिलेको जस्तै माग राखेर फेरि अनसन बस्न नपर्ने बताएका छन्।

केसीले १६ दिनदेखिको अनसन तोड्ने दिन सोमबार शिक्षण अस्पताल पुगेका थापाले पत्रकारसँगको कुराकानीमा सरकारसँग भएका सहमति कार्यान्वयन हुने विश्वास दिलाउँदै दोहोर्‍याएर यी मागहरु राख्नु नपर्ने बताएका हुन्।

'उहाँले उठाउनुभएको गुणस्तरीय चिकित्सा शिक्षासम्बन्धी मागबारे सरकारसँग सहमति भइसकेको छ' उनले भने 'अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने मागले संसदमा प्रवेश पाइसकेको हुनाले अब फेरि यही विषयमा अनसन बस्नुपर्दैन।'

चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित बिभिन्न ४ सूत्रीय माग राखेर त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी १६ दिन आमरण अनसनमा बसेका थिए।  उनले सरकारसँग ४ बुँदे सहमति भएपछि सोमबार अनसन तोडेका छन्।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मेडिकल शिक्षामा हस्तक्षेप गरेको भन्दै महाअभियोग माग गरेका थिए। सांसद थापाले अख्तियार प्रमुखमाथि लागेका आरोपको विषयमा छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.