|

लहान : विद्युत् चुहावट नियन्त्रणका लागि नेपाल विद्युत प्राधिकरणले अभियान नै चलाए पनि चुहावटको दर खासै नघटेको पाइएको छ। प्राधिकरणको लहान, सिरहा र मिर्चैया वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट सिरहा वितरण केन्द्रबाट भइरहेको पाइएको हो।

प्राधिकरणको माथिल्लो निकायबाट बढ्दो विद्युत चुहावट नियन्त्रणका लागि कडाइ गरेको भए पनि जिल्लामा चुहावट नियन्त्रण अभियान प्रभावकारी हुन नसकेको प्राधिकरणकै एक कर्मचारीले जानकारी दिए।

यद्यपी सिरहास्थित वितरण केन्द्र भने आफ्नो क्षेत्रमा भइरहेको ५१ प्रतिशत विद्युत चुहावटलाई ४२ मा झारेको दाबी गर्छ।

साढे २२ लाख बढी जरिवाना

बढ्दो चुहावट नियन्त्रणका लागि सिरहा वितरण केन्द्रले चलाएको अभियानका क्रममा २२ लाख ५३ हजार ६ सय २५ रुपैयाँ राजश्व असुली भएको छ। केन्द्रले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म सञ्चालन गरेको चुहावट नियन्त्रण अभियानबाट जरिवानास्वरुप राजस्व असुल गरिएको हो।

केन्द्रले उक्त अवधिमा प्रहरीको सहयोगमा हुकिङ गरेर विद्युत चुहावट गरिरहेका तीन सय ३४ हरुलाई रंगेहात पक्राउ गरी उक्त रकम जरिवाना गरेको हो। नियन्त्रण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँबाट ९३ थान टिभी, १ सय १७ थान मोटर, ४८ थान पङ्खा र ५ थान फ्रिज लगायतका विद्युतीय उपकरणसमेत बरामद गरिएको छ। 

लहानमा  १४ लाख राजस्व

प्राधिकरणको लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले चालु आर्थिक वर्ष २०७३/७४ को फागुनसम्म विद्युत चुहावट गर्ने व्यक्तिहरुबाट १३ लाख ९३ हजार तीन सय २५ रुपैयाँ जरिबाना असुल गरिएको जानकारी दिए।

यस वितरण केन्द्रको कार्यक्षेत्रका गाउँबस्तीमा प्रहरीसँगको समन्वयमा विद्युत् चुहावट नियन्त्रण अभियान संचालनको क्रममा जरिवानासहित १ सय ३३ वटा विद्युतीय उपकरण बरामद गरिएको छ। ५५ जनालाई पक्राउ गरी कारबाहीसमे गरिएको यादवले बताए। लहान वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा करिब ३८ प्रतिशत विद्युत् चुहावट भइरहेको जनाइएको छ।

मिर्चैयामा न्यून चुहावट 

चुहावट नियन्त्रणका लागि चलाइएको अभियान, फिल्डमा खटिने कर्मचारीहरुको लगनशीताको कारण मिर्चैया वितरण केन्द्रमा ९ दशमलव ६१ प्रतिशत विद्युत् मात्र चुहावट भइरहेको केन्द्रका प्रमुख इञ्जिनियर शिवराम यादवले बताए।

‘कर्मचारीहरु नियमित फिल्डमै हुन्छन्, स्थानीय उपभोक्ताको पनि राम्रै सहयोग पाएका छौं’ उनले भने, ‘त्यही कारणले विद्युत उपभोग गरेर महसुल नबुझाउनेहरुको लाइन नै काटेपछि छ करोड रहेको बक्यौता तीन करोडमा झरेको छ।

प्रमुख यादवले पछिल्लो पटक नियन्त्रण अभियानको क्रममा तीन दिनअघि १३ जना मानिसलाई हुकिङ गरेर चुहावट गरिरहेको अवस्थामा पक्राउ गरी जरिवाना असुलसहित विद्युतीय मोटरसमेत जफत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.