|

काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल चुनावमा सहभागी हुँदा मधेस र पहाडमा समेत उत्साह छाएको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले संघीय समाजवादी चुनावमा सहभागी हुँदा देशभर चुनावी वातावरण बनेको दावी गरे।  

उनले आफूविरुद्ध भ्रम फैलाउन गलत प्रचार भैरहेको बताए। 'केही सञ्चार माध्यमहरुलाई दुरुपयोग गरेर केही व्यक्तिहरुले 'ए फोरमले त मुद्दा छोड्यो' भन्या छ, प्रचार गरिएको छ। हामीले निर्वाचनमा उम्मेदवारी दर्ता गरेपछि धेरै किसिमका भ्रमहरु फैलाइएका छन् र फैलिएका छन्। त्यो सरासर गलत हो। मुद्दा छोडेका छैनौं र छोड्दैनौ।'

आफ्नो पार्टी राष्ट्रिय स्तरको रहेको भन्दै यादवले अब चुनावी वातावरण बनेको र देशमा उत्साह छाएको बताए। 'पहिलो चरणको लागि हामीले मनोनयन दर्ता गर्‍यौं। हामीले मनोनयन दर्ता गरिसकेपछि मुलुकभर चुनावको वातावरण बनेको छ', उनले भने, 'उत्साह छाएको छ। फोरमले परिकपक्क निर्णय गर्‍यो भनेर तराइमा पनि पहाडमा पनि प्रशंसा भइरहेको छ।'

संविधान संशोधन हुनुपर्ने माग यथावत रहेको भन्दै यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएकाले चुनावमा भाग लिएको बताए।

उनले भने, 'दोस्रो चुनाव हुनुभन्दा पहिला नै संविधान संशोधन गर्छौं भनेर सरकारले प्रतिवद्धता जनाएको छ, त्यो प्रतिवद्धता दिइसकेपछि चुनावमा सहभागी हुनु उपयुक्त नै हुन्छ भनेर मनोनयन दर्ता गरेका हौं।'

'हामीलाई मुद्दा छोड्यो भन्ने साथी तिनै हुन् जो निर्वाचन आयोगमा गएर हामीलाई चुनाव चिह्न देउ भनेर माग गरिरहेका थिए', यादवले भने, 'संजोगले पार्टीको दर्ता विधि अनुरुप पार्टीको दर्ता नभएपछि दुई-चारदिन भएपनि खोइरो खनिहालौं न भनेर जुन किसिमका प्रचार गरिए त्यो गलत हो।'

यादवले निर्वाचनमा सहभागी हुनुको अर्को कारण यस्तो बताए, 'पहिलोचरणको चुनावमा मुलुकको समस्या समाधान र मुलुकमा हुन लागेको प्रतिगमनको तत्कालिन खतरासँग मुकाविला गर्नका लागि नै हाम्रो मनोनयन दर्ता गराएका हौं।'

पहिलो चरणको चुनावपछि संविधान संशोन नभए दोस्रो चरणको चुनाव नहुने यादवको भनाइ थियो। यस अवस्थामा पहिलो चरणको चुनावको पनि औचित्य नहुने यादवको भनाइ थियो।

यादवको पार्टीले बाबुराम भट्टराईको नयाँ शक्ति नेपालसँग मिलेर निर्वाचनमा सहभागिता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.