|

काठमाडौं : नेपाली सञ्चार माध्यममाथिको आक्रमण विगतको तुलनामा कम हुँदै गएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित 'क्रिटिकल माइन्ड फर क्रिटिकल टाइम' गोष्ठीमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपालमा पत्रकारहरूमाथि हुने आक्रमणमा कमी आएको बताएका छन्।

विष्टले प्रस्तुत गरेको नेपाली पत्रकारिताको विवरणमा विगतका तुलनामा पत्रकारिता क्षेत्रमा हुने आक्रमणमा कमी आएको उल्लेख गरेका हुन्। 'पत्रकारहरूमाथि भएका घटनाहरूमा विगतमा भन्दा कमी आएको छ। सन् २०१५ मा १४० घटना भएकोमा सन् २०१६ मा ७१ घटना रेकर्डमा आएका छन्।'

विष्टले प्रस्तुत गरेको विवरणमा लेखिएको छ, 'सन् २०१६ मा बेपत्ता, हत्या र विस्थापनका घटना भएनन् तर आक्रमणका १२, धम्की ७, हिंसा १६ र मिडिया हाउस कब्जाका ७ घटना भएका छन्।' नेपाली पत्रकारिताको अबको बाटोबारे विष्टको भनाइ थियो, 'नीतिगत समस्या, कानुनको अभाव र दण्डहीनताले सेल्फ सेन्सरसीपमा सञ्चार माध्यम रहनुपरेको छ।'

नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष तीर्थ कोइरालाले पत्रकारहरूले पेसागत मर्यादाको ख्याल गर्नुपर्ने बताए। 'पेसामा सम्वद्ध व्यक्तिहरूबाट पेसागत मर्यादाको ख्याल नगर्नाले बदनामी भोग्नुपरेको छ', उनले भने, 'यसबाट कानुन र नीति बनाएर मात्रै पुग्दैन, त्यसलाई पालना गर्नुपर्ने निकायहरू सजग हुनुपर्छ।'

कोइरालाले पत्रकार पेसाप्रति प्रतिवद्ध हुनुपर्ने बताए। पत्रकारले स्वतन्त्र प्रेसका लागि बढी प्रतिबद्ध हुनुपर्ने उनको धारणा थियो। राजनीतिक दलका नेताका भर परेर पत्रकारितालाई धोका भएको कोइरालाको भनाइ थियो।

उनले भने, 'नेपालमा राजनीतिक शक्तिहरूले सत्तामा जाँदा जे पनि गर्ने र बाहिर आउँदा जे पनि बोल्ने कुराको भर पर्नाले पत्रकारितालाई धोका भयो।'

मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले पत्रकारको सुरक्षाका लागि आयोग संयन्त्र बनाएर अगाडि बढ्न तयार रहेको बताए। 'पत्रकारको सुरक्षाका लागि संयन्त्र बनाएर निरन्तर निगरानी गर्न आयोग तयार छ तर अहिलेसम्म काम हुन सकेको छैन',  पाठकले भने, 'प्रकृति र प्रवृत्ति फरक भए पनि पछिल्लो कालखण्डमा स्वतन्त्र पत्रकारितामाथिको आक्रमण जारी छ। त्यसमा पत्रकार आफैँ सजग हुनुपर्छ।'

पत्रकार प्रभुनारायण बस्नेतले पत्रकारिता राजनीतिकभन्दा पनि पेसागत बन्नुपर्ने बताए। उनले भने, 'पत्रकारिता पूर्ण पेसागत बन्नुपर्ने भएको छ, यसमा राजनीति भएकोले नै यसमाथि आक्रमण बढी भएको हो।'

नेपालमा यस पटकको विश्व प्रेस स्वतन्त्रता दिवस प्रभातफेरी, छलफल र बहसका कार्यक्रम गरेर मनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.