|

काठमाडौं : हाँस्य टेलिसिरियल 'मदनबहादुर-हरिबहादुर'को एक पात्र 'हरिबहादुर'लाई कलाकार हरिवंश आचार्यले उपन्यासमा उतारेका छन्। उनको उपन्यास शनिबार मदनकृष्ण श्रेष्ठको हातबाट सार्वजनिक हुँदैछ। यसअघि आत्मसंस्मरण 'चिना हराएको मान्छे'  लेखेका हरिवंशको यो दोस्रो पुस्तक हो।

उपन्यासकारको अवतारमा देखिन लागेका हरिवंश आचार्यले धेरै व्यक्तिले उपन्यास लेख्नका लागि घच्‍घचाएपछि उपन्यास लेख्न तम्सेको बताए। 'चिना हराएको मान्छे लेख्दा मैले विषयबारे सोच्न परेको थिएन। आफूले जिन्दगीमा भोगेका घटनालाई आफूले सकेसम्म रमाइलो पाराले लेखिदिए पुगेको थियो। तर, उपन्यास लेख्छु भन्ने विचार बनाएपछि भने मैले धेरै सोच्नुपर्‍यो,' उपन्यास लेखन प्रक्रियाबारे उनले भने,'अन्ततः मैले मदनबहादुर-हरिबहादुर टेलिश्रृङ्खलाको मलाई मनपर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर एउटा पात्र प्रधान उपन्यास बनाउने निधो गरेको थिएँ।’ 

उपन्यासको पाण्डुलिपि पढेका साहित्यकार रवीन्द्र समीरले भने, ‘मुख्य पात्र हरिबहादुरको बाल्यकाल, पारिवारिक एवम् सामाजिक जीवन र  उसको उत्थान तथा पतन वरिपरी घुमेको यो उपन्यासमा तात्कालीन राजनीतिले हरिबहादुरलाई कसरी प्रयोग गर्‍यो तथा हरिबहादुरले द्वन्दकालिन राजनीतिलाई कसरी प्रयोग गर्‍यो भन्ने परिवेशमा उपन्यास केन्द्रित छ।’ 

स्थानीय चुनावको मुखमा सार्वजनिक हुन लागेको उपन्यासले अक्षम, अयोग्य व्यक्तिहरु कसरी जालझेल गरी चुनाव जितेर सत्तामा पुग्छन् भन्ने कुरा देखाउन खोजेको समीरले बताए।

हाँस्यव्यङ्यले भरिएको हरिबहादुरले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने जत्तिको मनोरञ्जन दिने उनको भनाइ छ। पुस्तकको प्रकाशक फाइनप्रिन्ट हो। यसको मूल्य  ३९८ रुपैयाँ रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.