|

काठमाडौं : दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन हुने पक्का भएको छ। बैशाख ३१ र जेठ ३१ गते दुई चरणमा स्थानीय चुनाव सम्पन्न हुने भएको छ।

चुनावको मिति नजिकिँदै गर्दा सबैजसो राजनीतिक दलले पहिलो चरणको चुनावका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। आफ्नो पार्टीको उमेदवार छानिसकेपछि अहिले पार्टीका कार्यकर्ता तथा नेतारहरूलाई प्रचार प्रसार गर्न भ्याई नभ्याई छ।

पार्टीका कलाकारहरू पनि प्रचार प्रसारका गीत बनाउन र गाउन व्यस्त देखिन्छन्। अहिले प्राय: सबै पार्टीले आफ्नो चुनाव प्रचार प्रसारको गीत पनि सार्वजनिक गरिसकेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले अनि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले आआफ्ना चुनावी गीत सार्वजनिक गरेका छन्।

हेरौँ, कस्ता छन् यी चुनावी गीत?

नेपाली कांग्रेस

चुनावकै लागि नेपाली कांग्रेसले केही समय पहिले सार्वजनिक गरेको ‘कांग्रेस हो सुख र दु:खमा, ए साथी हो भोट हालौँ रूखमा’ बोलको गीतलाई अहिलेसम्म युट्युबमा एक लाख २६ हजार पटक हेरिएको छ। नेपाली कांग्रेसको दोहोरी चुनावी गीतमा गायक सुनील थापा र राधिका हमालको स्वर रहेको छ। यस गीतमा शब्द र संगीत गायक सुनीलकै रहेको छ। गीतले नेपाली कांग्रेसलाई भोट हाल्न जनतालाई प्रोत्साहन गरेको छ।

हेर्नुहोस्, यस्तो छ गीत

नेकपा एमाले

एमालेले पनि आफ्नो चुनाव प्रचारको लागि धेरै गीत तयार पारेको छ। चुनाव नजिकिँदै गर्दा एमालेले करिब तीन हप्ता पहिले सार्वजनिक गरेको 'मै पनि एमाले' बोलको गीतले युट्युबमा राम्रै स्थान पायो। बद्री पँगेनी र प्रिया भण्डारीको स्वर रहेको उक्त गीतमा ईएनबीको शब्द र संगीत छ। पार्टीको प्रचार प्रसारका लागि पँगेनीले गीत गाएकाले उनी केही विवादमा पनि परे। उनी नेपाल संगीत प्रतिष्ठानका अध्यक्षसमेत हुन्।

हेर्नुहोस्, यस्तो छ गीत

माओवादी केन्द्र

अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पनि स्थानीय चुनाव प्रचार प्रसारको लागि नयाँ गीत सार्वजनिक गरेको छ। स्मिता दाहालको स्वरमा ‘आयो आयो माओवादी केन्द्र' बोलका दुईवटा गीत सार्वजनिक गरिएको छ। स्मिता प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी हुन्। गीतमा मिलन अधिकारी र राजेश्वरी सुवेदीको शब्द रहेको छ।

हेर्नुहोस्, यस्तो छ गीत

राप्रपा

राप्रपा पनि अहिले आफ्नो चुनाव प्रचार प्रसारमा एकदमै जुटिरहेको छ। चुनावलाई केन्द्रित गरी राप्रपाले पनि गीत सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष कमल थापाकै शब्द रहेको गीतमा राज सागरले स्वर दिएका छन्।  

हेर्नुहोस्, यस्तो छ गीत

नयाँ शक्ति पार्टी नेपाल 

नयाँ शक्ति पार्टी नेपालले पनि 'भोट केमा? मसलमा' भन्ने चुनावी गीत सार्वजनिक गरेको छ। गीत नयाँ शक्ति पार्टी नेपालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस्, यस्तो छ गीत  

विवेकशील नेपाली

स्थानीय चुनावको माहोलमा विवेकशील नेपालीको खुबै चर्चा चलिरहेको छ। विशेषगरी काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएको २१ वर्षकी रञ्जु दर्शनाको कारण पनि विवेकशील चर्चाको विषय बनिरहेको छ। उक्त पार्टीले पनि चुनवलाई केन्द्रित गरी गीत सार्वजनिक गरेको छ। र्‍याप शैलीमा निर्माण गरिएको गीतमा विवेकशील नेपालीलाई भोट हाल्न अनुरोध गरिएको छ।

हेर्नुहोस्, यस्तो छ गीत

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.