को हुन् एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार?

|
साभार : अनलाइननेपाली

काठमाडौं: नेकपा एमालेले देशकै ठूला महानगर काठमाडौं र ललितपुरमा राप्रपासँग तालमेल गरेर बैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएको छ।

पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता भएपछि दलहरू आ-आफ्नो चुनावी तयारीमा लागेका छन्। यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललितपुर महानगरपालिका प्रमुखको उम्मेदवारका रूपमा एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारलाई अगािड सारेको छ।

को हुन् हरिकृष्ण ब्यञ्‍जनकार?

नेकपा एमालेले ललितपुर महानगरपालिकाको प्रमुखमा उठाएका हरिकृष्ण व्यञ्जनकार ललितपुर महानगरपालिका- २२ बुङ्मतीका स्थायी बासिन्दा हुन्। विराटनगरमा स्‍नातकोत्तर तहको अध्ययन गर्ने क्रममा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका हरिकृष्ण त्यसयता निरन्तर पार्टी राजनीतिमा सक्रिय छन्। तत्कालीन मालेबाट राजनीति सुरु गरेका हरिकृष्णले राजनीतिका लागि नेपाल बैंकको जागिरबाट राजिनामा दिएर पूर्णकालीन राजनीति गर्दै आएका छन्। 

विराटनगरमा रहँदा २०३६ सालमा गोपाल गुरागाईं (माले) को सम्पर्कमा आएर काम गरेका हरिकृष्ण विराटनगरबाट काठमाडौँ आएपछि हालका केन्द्रीय सदस्य प्रनेश हमालको सम्पर्कमा रहेर नियमित रूपमा पार्टीको काम गर्दै आए।

स्थानीय नेवार समुदायमा जन्मे हुर्केका हरिकृष्ण ललितपुरमा स्थानीय राजनीतिमा निकै भिजेका र स्वच्छ छवि भएका नेतामा गनिन्छन्। एमालेमा राम्रो प्रभाव राख्ने हरिकृष्णले व्यवस्थापन संकायमा प्रमाणपत्र तहको अध्ययन पाटन क्याम्पस पाटनबाट र स्‍नातक तहको अध्ययन शंकरदेव क्याम्पसबाट पूरा गरेका छन्। स्नातकोत्तर तहको अध्ययन भने उनले विराटनगर क्याम्पसबाट पूरा गरेका हुन्। 

नेपाल बैंकमा जागिर खाने क्रममा विराटनगर पुगेका व्यञ्‍जनकारले २०३५ सालदेखि २०४३ सालसम्म नेपाल बैंकमा नायव सुब्बा सरहको जागिर खाएका थिए। २०४३ सालमा पञ्‍चायती चुनावलाई प्रयोग गर्ने सन्दर्भमा टोलको आवश्यकताअनुसार जागिरबाट राजिनामा दिएर वडा अध्यक्षमा उठेका हरिकृष्णले त्यतिबेला ललितपुर नगरपालिकाकै वडामध्येमा सबैभन्दा बढी मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए।

त्यसपछि २०४८, ०४९ र ०५१ सालमा पार्टीका उम्मेदवार जिताउन लागेका हरिकृष्णले ०५४ सालको स्थानीय निर्वाचनमा उपमेयरमा दाबी गरे पनि पार्टीबाट टिकट भने पाएनन्। २०५६ सालको अामचुनावमा पनि पार्टीका उम्मेदवार जिताउन लागेका उनले २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा नगरपालिकाको कार्यकारी पद चलाउने भनेर नै आकांक्षा राखेनन्।

२५ वर्षदेखि निरन्तर नेकपा एमाले ललितपुर जिल्ला कमिटीमा आवद्ध उनले २०४९ सालदेखि २०६६ सालसम्म विभिन्‍न समयमा पार्टीमा सदस्य भएर काम गरे। २०६६ सालदेखि २०७० सम्म पार्टीका जिल्ला उपाध्यक्ष भएर चलाएका उनी २०७० देखि हालसम्म ललितपुर जिल्लाको पार्टी अध्यक्ष छन्।

जिल्ला कमिटीको सदस्य हुँदा ललितपुर नगर कमिटीको प्रमुख भएर २०६६ सालसम्म काम गरेका थिए। नेपालका नगरपालिकामध्येमा सबैभन्दा पुरानो इतिहास बोकेको ललितपुर नगरपालिकालाई अन्तर्राष्ट्रियस्तरको नगरपालिकाको अवधारणामा लैजाने हरिकृष्णको योजना छ। 

एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुखका दावेदार हरिकृष्णका ललितपुर महानगरको विकास गर्ने योजनाहरू यस्ता छन्

यस क्षेत्रका समस्यासँग राम्रोसँग परिचित भएको र आफ्नो भिजन र नेतृत्वले समस्या समाधान गरी सम्भावनाको खोजी गर्ने काममा आफूले कार्यक्रम ल्याएको हरिकृष्ण बताउँछन्। जनताले पार्टीको नीतिलाई हेर्छन् भन्ने उनको बुझाइ छ। त्यसपछि उम्मेदवारका कार्यक्रम र त्यसको संभावनालाई हेर्ने र त्यो आफूले प्रष्टसँग बुझेको उनको भनाइ छ। आफ्ना कार्यक्रम संभावनामा आधारित र अत्यावश्यक भएका कारण आफ्नो विजय निश्चित हुने उनले दाबी गरे।

यो निर्वाचनमार्फत् राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धिहरूलाई संस्थागत गरेर लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने र त्यसका लागि जनतालाई विकासमार्फत् समृद्ध र सुखी बनाउन जरुरी हुने उनको मत छ।

यस्ता छन् उनका भावी योजना:

- नागरिकलाई समृद्ध बनाउनका लागि पूर्वाधारको विकासमा ध्यान दिइने।

- महानगरपालिका क्षेत्रभित्रका साँघुरा सडकलाई फराकिलो बनाइने।

- सडक वरिपरि असरल्ल तार र पोलहरूलाई व्यवस्थित गर्दै अण्डरग्राउण्ड वायर सिष्टम विकास गरिने।

- सबै सडकमा सौर्य सडक बत्तीको व्यवस्था गरेर झिलिमिली बनाइने।

- छ महिनाभित्र ललितपुर महानगरलाई धूवाँ, हिलो र धूलोमुक्त बनाइने।

- मेलम्चीलगायतका अन्य विकल्पको व्यवस्थापनसँगै खानेपानीको पर्याप्त आपूर्तिसहित एक वर्षभित्र अन्य पूर्वाधारको व्यवस्थापन गरिने।

- सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूसहितको एकीकृत विकास सूचना केन्द्रसहितको उच्च प्रविधियुक्त सभा हलको निर्माण।

- नमूना यातायातको रूपमा कुपण्डोलदेखि गोदावरीसम्म ट्राम सञ्चालन गरिने। विद्युतीय परिवहनलाई विशेष प्राथमिकता दिइने।

- हरेक वडामा बालबालिका र ज्येष्ठ नागरिकहरूलाई मनोरञ्जनका लागि पार्क र मनोरञ्जनस्थलहरूको निर्माण गरिने।

- महानगरभित्रका सम्पूर्ण पोखरी नौका विहारका लागि उपयुक्त बनाइने।

- महानगरभित्र पर्ने खोलानालाको सफाई गरी किनारामा पार्क निर्माण गरेर सुन्दर महानगर बनाइने।

- नगरभित्र विशेष व्यापारिक क्षेत्र निर्माण गरी घण्टाका आधारमा काम गर्ने अवस्था निर्माण गरिने।

- युवालाई सीप र स्रोतका आधारमा स्वरोजगार बनाउने कार्यक्रम ल्याइने।

- अबको पाँच वर्षमा पर्यटकको आगमनले खचाखच भएको २४ घण्टा चहलपहल हुने, १८ घण्टा ट्राम चल्ने झिलिमिलीयुक्त सुरक्षित ललितपुर महानगर बनाइने।

- सुरक्षाका लागि सीसीटीभी र सेक्युरिटी साइरनको व्यवस्था गर्ने।

- नागरिकलाई आफूले तिरेको करको सदुपयोग भएको अनुभूति दिलाउने गरी पारदर्शी र झन्झटमुक्त प्रशासनिक सेवाको व्यवस्थापन गरिने। करको सदुपयोग र बाह्य लगानी तथा अनुदान भित्र्याउने काम गरिने।

- कला संस्कृति, धार्मिक तथा पुरातात्त्विक महत्त्वका वस्तुलाई पर्यटकीय आकर्षणको रूपमा विकास गरिने।

- नगरभित्रका महत्त्वपूर्ण वहाल, विहार, पोखरी, ढुंगेधाराहरूलाई संरक्षण र विकास गरेर पर्यटकीय महत्त्वका क्षेत्रका रूपमा विकास गरिने।

- महानगरभित्रको पाटन दरबार स्क्वायरदेखि हरिसिद्धि, धापाखेल हुँदै खोकना बुङमतीसम्मको सम्पूर्ण क्षेत्रलाई समेटेर पर्यटन क्लष्टरको रूपमा विकास गरेर विदेशी पर्यटकले कम्तिमा महानगर क्षेत्रभित्र तीन दिन बस्ने अवस्थाको सिर्जना गरिने। यसका लागि पाँचतारे होटल स्थापना गर्ने वातावरणदेखि महानगरभित्रका सांस्कृतिक महत्त्व झल्कने स्थापना कलात्मक घरहरूलाई सम्पदा घर (हेरिटेज होम) संचालनलाई प्रोत्साहन गरिने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.