|

  • मणिकुमार श्रेष्ठ-

सुनसरी : कुनै पनि काम निरन्तर गरे सफल भइन्छ भन्ने उदाहरणको पात्र बनेका छन् धरान उपमहानगरपालिका वडा नं. ४ वसन्तटारका कृष्ण राई। उनी २०५५ सालमा रु ५५ रुपैयाँबाट तरकारी व्यवसाय गरेर अहिले करोडपति बनेका छन्।

नेपालकै नमुना कृषक बनेका राईको अहिले अर्ग्यानिक कृषि फर्म छ। उनले सञ्चालन गरेको सोताङ्ग अर्ग्यानिक एग्रिकल्चर एण्ड रिसर्च सेन्टरबाट वार्षिक ३५ लाखसम्म आम्दानी गर्न थालेका छन्। २०५५ सालमा रु ५५ ले १८ बोट काक्रा खरिद गरी कृषि व्यवसायमा लागेको बताउने कृष्णले त्यसवेला काक्राबाट ५ सय ५५ रुपैयाँ आम्दानी गरेको बताए।

१५ वर्षकै उमेरमा ५ सय ५५ कमाउन सफल भएपछि उनले हौसिएर तरकारी व्यवसायमा लागेको बताए। २०५५ देखि २०६२ सालसम्म राईले रासायनिक तरकारी खेती गरे। खेती सुरु गरेको ३–४ वर्षसम्म राम्रै आम्दानी भए पनि पछिल्लो समय तरकारी उत्पादनमा कमी हुँदै आएपछि उनले अर्ग्यानिक खेती सुरु गरेको बताए।

रसायनिक तरकारी खेती गर्दा उनले पूर्वी नेपालकै सबैभन्दा बढी विषादी प्रयोग गरेको समेत बताए। यसरी रसायनिक तरकारीले आफ्नो र उपभोक्ताको स्वास्थ्यमा समेत असर पर्ने पत्ता लाए पनि उनले अर्ग्यानिक खेती सुरु गरेको बताए। २०६२ सालदेखि अर्ग्यानिक खेती सुरु गरेका राईको खेतीमा उत्पादन भएका तरकारीबाली तथा फलफूल नेपालको विभिन्न सहरका साथै युके र सिंगापुरसमेत जाने गरेको छ।

अर्ग्यानिक खेती गर्न निकै गाह्रो भएको बताउँदै राईले भने, 'सुरु–सुरुमा गाउँभरि अभियान चलायौं तर, धेरैले यसलाई पत्याएनन्। समय बित्तै जाँदा रसायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने प्रमाणित हुँदै गएपछि अहिले गाउँमा अर्ग्यानिक खेतीप्रति आकर्षण बढ्दै गएको छ।’

राईको अर्ग्यानिक कृषि फर्ममा ६० प्रजातिको तरकारी र १०–१२ प्रकारका फलफूल उत्पादन हुने गरेका छन्। उनले तरकारी लगाएको ठाउँको माटोको नमुना परीक्षण गर्दा माटोको प्राङ्गारिक तत्व ५.८ पुगेको छ। माटोमा प्राङ्गारिक तत्व सामान्यतय ५ हुनुपर्दछ। तर, राईले आफुले लगाउने खेतीको माटोमा प्राङ्गारिक तत्व ८ पुर्‍याउने लक्ष्य रहेको बताए।

प्राङ्गारिक खेतीमा जीवन

राईको फर्ममा ५२ जिल्लाका ५० हजार भन्दा वढि कृषक तथा कृषिको क्षेत्रमा लागेका व्यक्तिहरुले अवलोकन गरिसकेका छन्। फर्मको अवलोकनका लागि आएका मौरीपालन कृषि सहकारी संस्था विष्णुपादुका (हाल धरान उपमहानगरपालिका) का सदस्य ध्रव साम्पाङले अर्ग्यानिक खेतीमा जीवन रहेको बताए। मानिसले भगवान्को खोजी गरिरहनु पर्दैन। अर्ग्यानिक खेती गरेमा त्यहीँ भगवान् पाइने साम्पाङले बताए।

फर्मका सञ्चालक राईले भने, ‘मानिसको जीवन भनेको नै यहाँको माटो पानी हावा हो हामीले गर्ने दिसा पिसाब नै हामीले खाने दालभातको खाना भएकाले प्राङ्गरिक खेतीमा मानव जीवन दिगो हुन्छ।’

अर्ग्यानिक रिसोर्ट खोल्ने लक्ष्य

अर्ग्यानिक कृषि फर्म सञ्चालन गर्दे आएका कृष्ण राईको अबको लक्ष्य भनेको इको टुरिजम भएको उनी बताउँछन्। पारिस्थितिक पद्धतिलाई सन्तुलन अवस्थामा राख्नका लागि आफ्नै लगानीमा अर्ग्यानिक रिसोर्ट सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए।

यसका साथै भविष्यको अर्ग्यानिक खेती सम्बन्धीको विद्यालय नै खोल्ने उद्देश्य रहेको बताउँदै धरानमा मात्र होइन वसन्तटारलाई देश विदेशमा समेत चिनाउने बताए। राईले भने, ‘अर्ग्यानिक खेती भनेको मानव जीवनको आधार हो, अबको युग भनेको विषादीरहित युग बनाउन लाग्नु पर्दछ।’

दैनिक ४ हजार आम्दानी

२०४० सालमा जन्मिएका राई योग्यताले एसएलसी मात्र भए पनि क्षमताको भने कमी नभएको बताउँछन्। उनले दैनिक रुपमा न्यूनतम ४ हजार आम्दानी गर्ने बताउँदै सिजनको बेला भने योभन्दा बढी हुने बताए।

धरान, धनकुटाको भेडेटार, इटहरी, विराटनगर, पोखरा, भारत लगायतका ठाउँहरुमा अर्ग्यानिक तरकारी आपूर्ति गर्दै आएका राईको फर्मबाट दैनिक रुपमा ७० जनाले तरकारी तथा फलफूल लैजाने गरेका छन्। फर्मबाट तरकारी बेच्न उनले बजारसम्म लगिरहनु पर्दैन, फर्ममा नै उपभोक्ताहरु किन्नका लागि पुग्ने गर्दछन्। खाँदा स्वादिलो र मानव स्वास्थ्यका लागि राम्रो हुने भएको हुँदा राईको फर्ममा उत्पादन भएको तरकारी बजारमा पाइने अन्य तरकारीभन्दा निकै बढी पर्ने उनी बताउँछन्।

सामान्यतय बजारमा अहिले विषादी प्रयोग गरेको टमाटर रु १० प्रतिकेजी सम्ममा पाइन्छ भने राईको फर्ममा उत्पादन भएको टमाटरको मूल्य प्रतिकेजी न्यूनतम ४० रुपैयाँ पर्दछ। राईले सञ्चालन गरेको सोताङ्ग अर्ग्यानिक र्फमबाट आफ्नो परिवार मात्र नभएर ४ जनालाई रोजगारसमेत दिएका छन्।

उनको फर्ममा तरकारी फलफूलका साथै माछा, कुखुरा, हाँस, टर्की, बंगुर, गाईसमेत पालेका छन्। अर्ग्यानिक खेतीको लागि चाहिने मानव मूत्र, गाई मूत्र, बंगुर मूत्रको संकलन गरी छुट्टाछुट्टै ट्याङ्कीमा व्यवस्थापन गरेका छन् राईले। सोको प्रयोगबाट अर्ग्यानिक कृषि उपज उत्पादन गर्ने गरेका छन्। यसका साथै उनले गँड्यौला पालन गरेर त्यसको रसबाट भर्मी–टीको समेत उत्पादन गरेका छन्। जसको प्रयोगले वनस्पतिलाई वृद्धि विकासको लागि चाहिने तत्त प्राप्त हुन्छ। यसका साथै राईले सञ्चालन गरेको कृषि फर्ममा अर्ग्यानिक तरकारीको नर्सरीसमेत रहेको छ।

सरकारीस्तरबाट सहयोगको अपेक्षा

बैंकबाट ३० लाख ऋण लिएर थप फर्मको विस्तार गर्न लागेका राईले मोरङमा ३५ कठ्ठा जमिन लिएर अर्ग्यानिक कागती खेती गर्न लागेको बताए। पहिले आफ्नो १० कठ्ठाबाट खेती गर्न सुरु गरेको राईको अहिले वसन्तटारमा ४२ कठ्ठा जग्गा जमिन रहेको छ।

राईको अर्ग्यानिक खेतीको अलवा बंगुर फारम पनि हेर्न लायकको छ। उनको बंगुर फारममा ३ सय केजीभन्दा बढी वजन भएका बंगुरहरु छन्। २६ माउ बंगुर अन्य ६० वटाभन्दा बढी बंगुर रहेका छन् फर्ममा। राईले पालेका बंगुरहरु पनि ६० प्रतिशत अर्ग्यानिक भएको उनको दाबी छ। १९ वर्षदेखि तरकारी खेती गर्दे आएका राईले १२ वर्षदेखि  खेती गर्दै आएका हुन्। उनले गरेको एकल प्रयास सफल बन्दै गएपछि सरकारी निकायबाट पनि सामान्य सहयोग प्राप्त हुँदै आएको छ।

तर, आफ्नो गुनासो उनले यसरी  पोखे, ‘सही किसानले अनुदान नपाउने र सरकारी निकायबाट रातारात किसान तयार गरी अनुदान दिने गरेको हुँदा हामीजस्ता किसान मर्काका परेका छौं।’ यसरी अर्ग्यानिक खेतीमा दिनरात खटिइरहेका राई जस्ता किसानलाई राज्यले सही तरिकाले सहयोग र तालिमको व्यवस्था गरी थप व्यवसायीकरणमा जोड दिन आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.