|

सन् १९९० को सुरुमै आमनेपालीभाषी भुटानीसँगै उनी पनि भारतको बाटो हुँदै रातारात छिरे नेपाली भूमिमा। पूर्वी नेपालको झापा र मोरङ जिल्लाका विभिन्न खाली स्थान र जंगल फडानी गरी बसे उनीहरू। 

तात्कालीन भुटान सरकारले नेपालीभाषी भुटानीहरूमाथि गरेको अमानवीय, क्रूर र आततायी दमनबाट आजीत बनेर भुटानबाट लखेटिएका हजारौँ नेपाली मूलका मानिस अन्ततः आफ्नै पुर्ख्यौली भूमि फर्किन बाध्य भए। पुस्तौँपुस्तादेखिको रासोबासो, धन सम्पत्ति सबै भुटानमै छाडेर आए नेपाल र आजसम्म बसिरहेका छन् शरणार्थीका रूपमा।

तिनैमध्ये एक हुन्, याम थुलुङ। झापाको बेलडाँगी शरणार्थी शिविरमा बसोवास गर्दै आएका याम एक प्रभावशाली स्रष्टा हुन्। नेपाली साहित्यका कविता, गीत, गजललगायतका क्षेत्रमा सशक्त कलम चलाउँदै आएका याम झापाको दमक र आसपासका क्षेत्रमा अत्यन्तै लोकप्रिय रहेका छन्, सिर्जनाका क्षेत्रमा।

यामले जन्मभूमि छाडेको तीन दशक हुन लागेको छ, तर जन्मभूमिप्रतिको अगाध माया उनले भुल्न सकेका छैनन्। भुटान सरकारको त्यो क्रूर दमन र अमानवीय यातनाप्रति उनको आक्रोश जीवितै छ अझै। देशको, माटोको अझ भनुँ जन्मभूमिको माया अपार भए पनि त्यहाँका क्रूर शासकप्रतिको घृणा उनमा झनै तीब्र र व्यापक छ। त्यसैले त उनी आफ्ना हरेकजसो सिर्जनामा यही कुरालाई कथ्य विषय बनाउँछन्।

उनका रचनामा धेरैजसो जन्मभूमिका कथा देखिन्छ। शरणार्थी भएर बाँच्नुपरेका पीडालाई उनले धेरैजसो आफ्ना रचनामा समावेश गरेका हुन्छन्। आफ्नो जन्मभूमिप्रतिको माया झल्किएको हुन्छ उनका कृतिमा।

नेपालीभाषी भुटानी याम पूर्वी नेपालको झापामा रहेको भुटानी शरणार्थी शिविरमा बसेर निरन्तर उनी नेपाली भाषा साहित्यको विकासमा लागिपरेका छन्। याम दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी– २, आई–४, छाप्रो नम्बर– ७४ का बासिन्दा हुन्।

विगत दुई दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् याम। उनीसँगैका साथीहरू अहिले तेस्रो मुलुक पुनर्वास भएर युरोप, अमेरिकालगायत विकसित देशमा पुगिसकेका छन् तर उनी भने हालसम्म नेपालमै रहेर नेपाली साहित्यमै क्रियाशील छन्। 

थुलुङ भन्छन्, ‘एकताका शिविरमा धेरै साहित्यकार हुन्थ्यौँ, शिविरमै ठूला–ठूला साहित्यिक कार्यक्रम गथ्र्यौं, देशमै नाम चलेका साहित्यकारहरूलाई ल्याएर कार्यक्रम गथ्र्यौँ।’ पछिल्लो समय शरणार्थीको तेस्रो मुलुक पुनर्वासले शिविरको साहित्यमा समेत नकारात्मक असर पारेको उनी बताउँछन्। भन्छन्, ‘साथीहरू सबै तेस्रो मुलुक जानुभयो, अब त साहित्यमा शिविर सुनसान छ।’ 

उनी त्यतिबेलाको स्मरणीय क्षण सम्झन्छन्, ‘त्यतिबेला हामीसँग पैसा पनि हुँदैन थियो, तर हामीसँग इच्छा थियो।’ त्यसबेला साहित्यिक कार्यक्रम गर्न आफूहरूलाई कसैले सहयोग नगरेको बताउँदै याम भन्छन्, ‘हामी ५/५ रूपैयाँ उठाएर कार्यक्रम गथ्र्यौं, यो मेरालागि अविष्मरणीय क्षण हो।’ 

उनी शिविरको त्यतिबेलाको साहित्यिक गतिविधि सम्झन्छन्। भन्छन्, ‘त्यतिबेला प्रविधि पनि थिएन, हामीले गरेका रचनाहरू पनि अहिले जस्तो फेसबुकमा हालेर, अरूलाई देखाउन पनि सकिँदैन थियो, त्यसैले हामी दुःखले कार्यक्रम गरेर हाम्रा लेखनमा निखारता ल्याउँथ्यौँ।’

याम पनि तेस्रो मुलुक पुनर्वास हुन नखोजेका भने होइनन्। उनले पनि इच्छा त देखाएका हुन्। ‘मैले पनि इच्छा त गरेको हो तर मेरी ७७ वर्षीय आमा यो उमेरमा आएर तेस्रो मुलुक जान चाहनुभएन’, उनी भन्छन्, ‘त्यसपछि त्यहाँ गएर मैले नेपाली कला साहित्यलाई निरन्तरता दिन सक्ने अवस्था पनि देखिनँ, त्यसैले म यहीँ रहेँ।’

उनले आफ्ना रचनाहरूमा विशेष गरेर आफ्नो देशप्रतिको माया दर्शाएको बताउँछन्। उनी भन्छन्, ‘रचना गर्दा पनि म मेरो देश सम्झन्छु।’ उनी १३ वर्षको कलिलो उमेरमा सन् १९९० मा भुटान सरकारको ज्यादतीका कारण नेपालमा शरण लिन आएका हुन्। आफ्ना रचनाहरूमा समेत उनले यही विषयलाई विशेष प्राथमिकता दिने गरेका छन्। ‘हामीले सानै उमेरबाट धेरै दुःख पायौँ, सानै उमेरमा शरणार्थी भएर नेपाल आउनुपर्‍यो’, उनी भन्छन्, ‘त्यतिबेलाको भुटान सरकारले हामीमाथि ज्यादती गर्‍यो।’ साहित्य भनेको दुःख पीडा पोख्ने ठाउँ पनि हो भन्दै उनी त्यसैले आफ्ना साहित्यिक कृतिहरूमा आफूले पाएको पीडालाई नै राख्ने गरेको बताउँछन्।

पढौँ मातृभूिमप्रतिको प्रेम पोखिएका उनका रचनाका केही अ‌ंश:

देखाउनु छ आज
उपचारको लागि
भस्मे फाँड्दा लागेका चोटहरू
खरबन्दी र फुन्सोलिङको बाटो खन्दा
ब्लास्टिङले चुँडाएका औँलाहरू
बाटै भत्किएर पुरिएका चिहानहरू
यी सबैसबैलाई जोडेर
बनाउनु छ एउटा अनुक्रम।

......................................

थिम्फुसँगै पुनाखा र पारो पनि रोयो होला
मैले खाने उनले खाने चारो पनि रोयो होला

लोछाम्पा र ङालोङ सारछोप सबै मिलेर
डन्डिबियो खेल्ने मेरा छारो रोयो पनि होला

......................................

सपनामा लखेट्छन् र ऐठन पार्छन् मलाई
देशले घचेट्छन् र ऐठन पार्छन् मलाई
खै कसरी भुलौँ म आफैँले आफैँलाई
इतिहासै मेट्छन् र ऐठन पार्छन् मलाई।

आफू जहाँ गए पनि आफ्नो जन्मभूमि भुटानलाई कहिल्यै बिर्सन नसक्ने उनी बताउँछन्। ‘म भुटानबाट लखेटिँदा कक्षा– ४ मा पढ्थेँ, तर पनि मलाई भुटान सरकारले ज्यादती गरेको सबै याद छ’, उनी भन्छन्, ‘हामी भुटानमा जन्मिएका हौँ, भुटानको माया धेरै छ।’ आफ्नो जन्मभूमि भुटान भएकाले पनि आफ्ना रचनामा भुटानका कुरा ल्याउने गरेको उनी बताउँछन्। ‘हामी भुटानबाट अन्यायपूर्वक लखेटिएका नेपालीभाषीहरूले ससम्मान भुटान फर्कन पाउनुपर्ने कुरालाई म साहित्यमार्फत् लेखिरहन्छु’, याम भन्छन्।

साहित्य भनेको जीवन जिउने माध्यम पनि भएको बताउँदै याम भन्छन्, ‘साहित्य लेखेर पैसा नै कमाउनुपर्छ भन्ने होइन तर साहित्यले पीडा भुलाउँछ, आफूसँग भएको पीडा साहित्यका माध्यमबाट बिर्सन सजिलो हुन्छ।’ 

धेरै संघर्ष गरेर यस स्थानसम्म आइपुगेको उनी बताउँछन्। साहित्यमा स्थापित हुन धेरै मिहिनेत गर्नुपरेको र आफूसँग धेरै संघर्षको कथा रहेको उनको भनाइ छ। ‘हामी शरणार्थी अर्काले दिएको रासनको भरमा जिउनुपरेको छ’, याम भन्छन्, ‘यसरी नै साहित्यमा कलम चलाउनुपरेको छ।’ 

पछिल्लो समय मोफसलमा पनि साहित्यिक गतिविधि बढेकाले नयाँ आउने साहित्यकारलाई धेरै सजिलो भएको उनी बताउँछन्। ‘साहित्य लेख्न चाहने साथीहरूलाई अहिले त धेरै सहज छ’, उनी भन्छन्, ‘मोफसलमा पनि धेरै गोष्ठी तथा कार्यक्रमहरू हुने गरेका छन्।’ पहिला आफूहरूले साहित्यिक कार्यक्रममा सहभागी हुन काठमाडौँसम्म पुग्नुपरेको स्मरण पनि उनमा ताजै छ। साहित्य सिक्न अरूले लेखेको पढ्नै/सुन्नै पर्ने उनको धारणा छ। ‘त्यसैले कार्यक्रममा सहभागी हुन जरुरी छ’, उनी भन्छन्।

साहित्य लेखेर बाँच्न धेरै मुस्किल रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘नेपाली साहित्यमा लेखेरै बाँच्न सकिने अवस्था अहिले नै बनिसकेको छैन।’ नेपालमा पाठक नै कम रहेका र पाठक बढाउन नेपालीमा पढ्ने संस्कारको विकास गर्नुपर्ने उनको मत छ। ‘अनि मात्र लेखेर बाँच्न सकिएला’, याम भन्छन्। 

अहिलेको अवस्थामा पुस्तक छापेको लगानीसमेत उठ्ने अवस्था नभएको उनी बताउँछन्। ‘नेपाली साहित्य लेखकहरूले धेरैजसोले पुस्तक छपाएको पैसासमेत उठाउन सक्ने अवस्था छैन’, याम भन्छन्, ‘नेपाली साहित्यका पाठक सीमित छन्, भाषा अनुवादको समस्याले विश्व साहित्यसम्म पनि नेपाली साहित्य पुग्नसकेको छैन।’ तर सुविधासम्पन्न देशमा नेपाली पुगेका कारण अब चाँडै नेपाली साहित्यले पनि फड्को मार्ने विश्वास भने उनमा छ। ‘तर अहिले अन्य काम नगरी साहित्यमा मात्र भर पर्न सक्ने अवस्था छैन’, याम भन्छन्, ‘म पनि अहिले एउटा प्रेस सञ्चालन गरेर यहाँ बसिरहेको छु।’

यामले नेपाली साहित्यका विभिन्न क्षेत्रमा विभिन्न संघसंस्थामा रहेर नेपाली भाषा साहित्यको विकासमा निरन्तर योगदान गरिरहेका छन्। उनी नेपाल साहित्य परिषद् भुटान, भूटान गजल मञ्च, नेपाली भाषा उत्थान मञ्च भुटान, फूलबारी साहित्यिक समूह भूटान, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चलगायत दर्जन बढी संघसंस्थामा रहेर नेपाली भाषा तथा साहित्यमा योगदान पुर्‍याउँदै आएका छन्। 

साहित्यकार थुलुङले वि. सं. २०५८ मा ‘दोभान’ कवितासंग्रह, २०६० सालमा ‘आँसुका थोपाहरू’ गजलसंग्रह, २०६२ सालमा ‘अरक्षित यात्रा’ गजलसंग्रह, २०६७ सालमा ‘समयका खण्डित आकृतिहरू’ संयुक्त कवितासंग्रह, २०६८ सालमा ‘शब्दास्त्र’ संयुक्त रुबाइसंग्रह, २०६८ सालमा ‘रित्तो आकाश’ गजलसंग्रह, २०७२ सालमा ‘गजलयाम’ गजलसंग्रह र २०७२ सालमै ‘आज’ गीत/गजल एल्बम प्रकाशन गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.