|

दमक : झापाको शिवसताक्षी–३ का एक बिरामी उपचार खर्च अभावमा १० वर्षदेखि ओछ्यानमै थलिएका छन्। ४८ वर्षीय तेजप्रसाद घिमिरेलाई परिवारले उपचारका लागि बिभिन्न अस्पतालमा पुर्‍याए पनि डाक्टरहरुले उनको रोग पत्ता लगाउन सकेका छैनन्।

उपचारका लागि लाखौं रुपैयाँ खर्च गर्दासमेत के बिराम लागेको हो भन्ने अतो–पत्तो नलागेको उनकी श्रीमती सीतादेवी घिमिरे बताउँछिन्। उनले भनिन्,‘उहाँलाई १० वर्षदेखि यो विराम लागेको हो, बिरामको उपचार गर्दा हामीसंग भएको सबै सम्पत्ति सक्यौँ, जग्गा जलथलमा रहेको घर–जग्गा समेत सबै बेचेर आफन्तको सहयोगमा यहाँ आउनुपर्‍यो।'

अस्पतालमा लैजाँदा डाक्टरहरुले डिप्रेसन भएको बताएका सीता बताउँछिन्। ‘सुरुका वर्षमा अस्पतालमा सबै खर्च सिध्यायौँ, अहिले अस्पताल पनि लान सकेका छैनौं, डाक्टरले डिप्रेसनको औषधि पनि दिए, तर जाती भएको छैन,’उनले भनिन्।

तेजप्रसाद अरुलाई देखेपछि अनुहार लुकाउने गर्छन्। पत्नी सीता भन्छिन्,‘ कोही मान्छे आए भने अनुहार लुकाएर बस्छन्, ८ वर्ष देखि त उहाँको हामीले बोलिसम्म सुन्न पाएका छैनौँ, पोहोर साल त ६ महिना भात पानी समेत खानु भएन, धेरैले फर्कने आशा गरेका थिएनन्, तर अहिले विस्तारै शौचालयसम्म चाहिँ पुग्नु हुन्छ।’

तेजप्रसाद मात्र होइन उनका २३ वर्षीय जेठा छोरा रविन समेत यस्तै रोगबाट पीडित छन्। उनको उपचारका लागि परिवारले स्थानीय अस्पताल, काठमाडौं र भारतको तेजपुरसम्म पुर्‍याएको पत्नी सीता बताउँछिन्।

तेजप्रसाद र सीतादेविका तीन छोरा र दुई छोरी सहित ७ जनाको परिवार छ। कमाई गर्ने उमेरका बाबुछोरानै थलिएपछि काम गर्ने कोही नभएको उनी बताउछिन्। उनी भन्छिन्,‘ कमाई गर्ने दुई जनानै विरामी भएपछि नानीहरुको शिक्षामा धेरै समस्या भएको छ, देवर र आफ्न्तको भरमा चल्नु परेको छ, नानीहरुको पढाईमा समेत गाह्रो भएको छ, बिरामले जलथलबाट सुकुमवासी बनायो, धन्न आफन्तहरुले सहयोग गर्नुभयो।’

परिवारमा यस्तो अवस्था भएपनि रविन बाहेक सबै छोरा छोरीको पढाईको लगाव भने कम छैन। सीतादेवी भन्छिन्,‘ पहिला त हामीले आफै बोर्डिङ सञ्चालन गरेका थियौँ, पछि उहाँलाई यस्तो भएपछि सबै बेच्यौँ, तर अरु छोरा–छोरीको पढाई प्रतिको लगाव कम छैन, रबिनले पनि कक्षा ९ सम्म पढ्यो, उ सधै कक्षामा फस्टनै हुन्थ्यो।’

तेजप्रसाद विरामी हुनुअघि चिल्ड्रेन गार्डन अंग्रेजी स्कुलका संस्थापक प्रिन्सिपल थिए। जेठी छोरी करुणा अहिले शिवगञ्ज बहुमुखी क्याम्पसमा विविएस दोश्रो बर्षमा अध्ययनरत छिन्। कान्छी गंगा पनि भानु माविमा कक्षा ११ को परीक्षा दिने तयारीमा छिन्। दुई छोरा पनि गाउँकै सरकारी विद्यालयमा पढ्दै आएका छन्।

गंगा अध्ययनमा सहयोग

दमकस्थित न्यू होराइजन होस्टलले शुरु गरेको विपन्न तथा जेहेन्दार छात्रछात्राको शैक्षिक निरन्तरताका लागि सहयोग कार्यक्रम अन्तर्गत तेजप्रसादकी कान्छी छोरी गंगालाई ३५ हजार रुपैयाँ सहयोग गरेको छ।

उनलाई होस्टेलका सञ्चालक अजितलाल दासले कक्षा १२ अध्ययनका लागि उक्त रकम विद्यालयमानै पुगेर सहयोग गरेका हुन्। यो सहयोगले गंगाको पढाई पुरा गर्न सहयोग मिलेको आमा सीतादेवी बताउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.