|

बाँके : नेपालगन्ज उप-महानगरपालिकाको दमकल बुधबार दिउँसो सवा २ बजे साइरन बजाउँदै जमुनहा नाका हुँदै भारतीय सीमा बजार रुपईडिहा छिर्‍यो। दमकल रुपईडिहामा लागेको आगो निभाउन नभइ बाँकेको राप्ती नदीपारी नरैनापुर गाउँपालिका–५, हुलासपुर्वाका घरमा लागेको आगो निभाउन त्यसतर्फ गएको हो।

नेपालगन्जबाट करिब २४ किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा लागेको आगो नियन्त्रणमा आइसकेपछि मात्र दमकल त्यहाँ पुगेको स्थानीय अरुण कुमार यादवले बताए।

हुलासपुर्वामा जान सडक नभएका कारण दमलले भारतीय सडकको सहारा लिएको नेपालगन्ज उपमहानगरपालिका वारुण यन्त्र उपशाखाका इन्चार्ज रञ्जित बहादुर श्रेष्ठले बताए।

एक हप्ताअघि डुडुवा गाउँपालिका–५, छिटईपुर्वाको घर र गोठमा लागेको आगो निभाउन जाँदा बाटो नभएर बीच बाटोमै दमकल फसेपछि सजिलोका लागि भारतीय बाटो प्रयोग गरिएको उनले बताए। 

सुगम जिल्लाको दुर्गम स्थान मानिने नरैनापुरलाई हुलाकी सडकले छोएको छ। तर हुलाकी सडक समयमा निर्माण नहुँदा त्यहाँका बासिन्दा हिउँद र गर्मीयाममा समेत भारतीय बाटो प्रयोग गर्न बाध्य छन्।‘नेपालको बाटो भएर नेपालगन्ज आउ-जाउ गर्नुभन्दा भारतको बाटो आउ-जाउ गर्दा सजिलो र छिटो पुगिने भएकोले भारतीय बाटो प्रयोग गर्दै आएका छौँ,’ यादवले भने। 

१ घण्टाको बाटो साढे २ घण्टा लाग्‍ने

भारतीय बाटो लामो र झन्झटिलो भएका कारण समय धेरै लागेको दमकल चालक प्रेम कोरीले बताए। भारतको बाटो राम्रो भएपनि लामो छ। नेपाली दमकल भएकोले भारतीय प्रहरीको झन्झट पनि त्यस्तै हुन्छ,’ दमकल चालकले भने। 

उनले नेपालको बाटो करिब २४ किलोमिटर भएपनि भारतको बाटो ६० किलोमिटरभन्दा बढी रहेको जानकारी दिए। सडक राम्रो भएको भए छिटो पुगिने र क्षति कम हुने उनले बताए।

'आफ्नै देशको जमिनमा जान भारतको बाटो प्रयोग गर्नु दुर्भाग्य मान्‍नुपर्छ,’ उनले भने। बढीमा एक घण्टा लाग्‍ने उक्त ठाउँमा पुग्‍न दमकललाई २ घण्टा ३० मिनेट लागेको फायर मेन जुबेरले बताए।

उनले एक बजे आगलागी भएको खबर पाएको बताए । ‘बाटो राम्रो छ भनेर गएको त समय धेरै लाग्यो, हामी पुग्दा आगो नियन्त्रणमा आइसकेको थियो,’ उनले भने, ‘बाटो थाहा नपाएर अलमलमा पर्‍यौं।’ 

आगलागीमा कम्तीमा ४० लाख क्षति 

२५ घर, ५ गोठ र एउटा पसलमा लागेको आगलागीका कारण  कम्तिमा ४० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। गुनई चमारको घरबाट सुरु भएको आगलागीमा २ वटा बाख्रा, लत्ताकपडा, अन्‍नपात र नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

खाना पकाएर आगो ननिभाएका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। आगलागीमा १ सय क्विन्टल गहुँ जलेको बताइएको छ। कम्तीमा ४० लाख बराबरको धनसम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.