|

जुम्ला : राजनीतिक दल तथा सरोकारवाला सबैलाई 'स्थानीय तह निर्वाचन र आचारसंहिता २०७३' सम्बन्धी जानकारी दिन जिल्लामा अन्तरक्रिया गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले स्थानीय तहको संरचना कस्तो हुने भन्ने विषयमा जानकारी दिएका थिए। उनले गाउँसभा, गाउँ कार्यपालिका, नगरसभा, नगर कार्यपालिका र जिल्ला सभा अबको ढाँचा हुने बताए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निर्वाचन सम्बन्धी कानूनको आवश्यकताका बारेमा जानकारी दिए। वैशाख ३१ गते हुने चुनावका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी भएको उनले जनाए। उनले आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही हुने बताए।

जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले सरकारी तथा गैर सरकारी कर्मचारीहरुलाई फागुन १८ गतेदेखि आचारसंहिता लागेपनि उम्मेदवारलाई वैशाख १९ गतेदेखि मात्र आचारसंहिता लागेको बताए। उनले स्थानीय तहमा निर्वाचन, मतदान प्रक्रिया र विवाद निरुपण कसरी गर्ने भन्‍ने विषयमा पनि जानकारी दिए।

प्रहरी नायब उपरीक्षक गुरु विष्णु काफ्लेले ३४४ जना म्यादी प्रहरी जुम्लामा भएको र ६२ जना कालिकोटमा थपेको बताए। ४०० नेपाल प्रहरी र अरु सुरक्षा फोर्स समेत निर्वाचनमा खटिने उनले बताए। उनले पहिलो घेरामा म्यादी, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र र चौथो घेरामा सेना हुने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.