|

विराटनगर : औद्योगिक नगरी विराटनगरमा वैशाख २४ गते व्यापार संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। अघिल्ला नेतृत्व चयनमा भन्दा यसपटक संघको नेतृत्व चयन पेचिलो बन्ने देखिएको छ।  व्यवसायीहरूको साझा संस्था मात्र नभएर देशकै पहिलो उद्योग वाणिज्य संघको आफ्नै गौरवपूर्ण इतिहास छ। यसमा आउने नेतृत्वको समाजमा हैसियत समेत उच्च हुने भएकाले पनि यसवर्ष संघको निर्वाचन प्रतिक्षा र चासोको विषय बनेको छ।  

मोरङ व्यापार संघको निर्वाचन भएको अवस्थामा अहिलेका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत र महासचिव प्रकाश मुन्दडाबीच निक्कै घम्साघम्सी पर्ने देखिएको छ। यद्यपी अहिलेसम्म पूर्व अध्यक्षसहितले सर्वसहमतिमा नेतृत्व हस्तान्तरणका लागि पहल र प्रयास गरिरहेका छन्। 'पूर्वसहमति अनुसार नेतृत्व सर्वसम्मत गराउने प्रयास भइरहेको छ,’ मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहराले भने, ‘सहमतिको प्रयास हुँदाहुँदै पनि फिल्ड भने मतदानमै जाने जस्तो देखिएको छ।’

अध्यक्षका प्रवल दावेदार राउतले आफूहरूलाई बाइपास गरेर अगाडि बढ्ने अवस्थामा चुप नबस्ने संकेत मुन्दडा समूहको छ। यसको मुख्य तयारीकर्ता मुन्दडा र अर्का कार्यसमितिका सदस्य नविन रिजाल हुन्। यता राउतलाई अध्यक्षमा ल्याउने तयारीमा सल्लाहकार अविनाश बोहरा, रविन दाहालसहित कार्यसमितिको बहुमत टिम छ।

'पूर्व सहमति अनुसार नै नेतृत्व चयन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले भने, ‘अहिले सोही सहमति कार्यान्वयनका लागि सबैपक्ष छलफलमा जुटेका छौं।'  यसअघि वरिष्ठ उपाध्यक्षलाई अर्को कार्यकालमा अध्यक्ष बनाउने परम्परालाई कायम राख्ने सहमति भएको राउत पक्षले बताउँदै आएको छ।

राउतलाई बोहरा क्याम्पको व्यक्ति भएको बताउँदै उनलाई त्यहाँबाट छुट्याएर बोहरालाई एक्ल्याउन मुन्दडा र रिजाल समूहले बजारभरीको शक्ति केन्द्रित गरिसकेको बताइन्छ।

यता वर्तमान अध्यक्ष पवन सारडा भने दुई समूह भिडाएर पुनः अध्यक्षमा दोहोर्‍याउने योजनामा रहेको चर्चा छ। पूर्व अध्यक्ष महेश जाजु अध्यक्ष सारडा र महासचिव मुन्दडाबीचका पुल मानिन्छन्। जाजुको दुवैसँगको सम्बन्धले त्यहाँ ‘कुटनीतिक'  खेलमा उनी रहेको पनि आंकलन गरिन्छ। मुन्दडा र रिजालकै लाइनमा कतिपय मारवाडी युवाहरूले प्रोक्सी मत लिएर बार्गेनिङसमेत सुरु गरिसकेको स्रोतको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.