|

दमक : विद्यालय शिक्षामा अंग्रेजीले प्राथमिकता पाउने क्रम बढिरहेका बेला झापाको ग्रामिण भेगका सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु गरेका छन्। जिल्लामा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरुले पछिल्लो समय अंग्रेजी माध्यमबाट पढाउन थालेका हुन्।

बजार क्षेत्रका सामुदायिक विद्यालयहरुले भने धेरै अघिदेखि नै अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु गरेका थिए। निजी विद्यालयका कारण सामुदायिक विद्यालयमा विद्यार्थी नै आउन छाडेपछि धेरैजसो समुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु गरेका हुन्।

झापाको शिवसताक्षी- ७ स्थित दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा यसै शैक्षिकशत्रदेखि अंग्रेजी मध्यमबाट पठनपाठन सुरु भएको छ। अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि कक्षा ८ मा मात्रै एकैपटकमा २६ जना विद्यार्थी बढेको विद्यालयले जनाएको छ।

प्रत्येक कक्षामा अंग्रेजी माध्यमबाट पठन-पाठन गराउने उद्देश्यका साथ यस शैक्षिक शत्रबाट नर्सरी, एलकेजी, यूकेजी, १, २, ७ र ८ कक्षामा अंग्रेजी माध्यमबाट पठन-पाठन सुरु गरेको प्रधानाध्यापक कालीप्रसाद रिजालले बताए।

'अंग्रेजी माध्यमबाट पढाउन सुरु नगर्दा विद्यालयमा विद्यार्थी ह्वातै घटेका थिए, हामीले विद्यार्थी तान्न नै अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेका छौँ,' उनले भने, 'अभिभावकबाट सहयोगबापत केही रमक लिने गरेका छौँ, उक्त सहयोगबाट ८ जना शिक्षक अंग्रेजी शिक्षाका लागि राखेका छौँ।'

वैदेशिक रोजगारीका कारण पछिल्लो समय अंग्रेजी शिक्षाको माग बढेको उनको बुझाइ छ। 'देशमा रोजगारीको वातावरण छैन, विदेश गएकाले अंग्रेजी नजान्दा आफूले पाएको दु:ख  सम्झेर सहरमा राखेर छोरा–छोरीलाई अंग्रेजी पढाउँछन्, त्यसैले सहरसम्म जाने बाध्यता मेट्न हामीले अंग्रेजी शिक्षा सुरु गरेका हौँ।'

शिवसताक्षी- ७ कै ग्रामिण भेगमा रहेको भानु माविले अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको ९ वर्ष भयो। यसबीचमा धेरै कठिनाइ झेल्नुपरेको अनुभव प्राधान्याध्यापक डामकुमार कुँवरको छ। 'हामीले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरेको त लामो समय भयो, तर अहिले धेरै समस्या छ, हामीले कक्षा ६ सम्म अंग्रेजीबाट पढाउँछौँ, अंग्रेजीबाट पढाउन दक्ष शिक्षकहरु पाउनै गाह्रो छ, पुराना शिक्षकहरुले पढाउन गाह्रो पर्छ,' उनले भने, 'एकैचोटी अंग्रेजी पढाउन गाह्रो हुँदोरहेछ, अंग्रेजीमा दक्ष शिक्षक निजी स्रोतबाट तलब दिएर राख्नुपर्छ।'

निजी स्रोतबाट अहिले एकमात्र शिक्षक राखेको भन्दै उनले अब थप शिक्षक राख्नका लागि अभिभावकहरुसँग सहयोग माग्ने सोचमा रहेको बताए।

सोही विद्याय व्यवस्थापन समितिका अध्यक्ष पशुपति अधिकारी अंग्रेजी माध्यमको शिक्षा लागू गर्दा धेरै समस्या झेल्नुपरेको बताउँछन्। 'सरकारले पुस्कका लागि १ सयदेखि २ सयसम्म मात्र दिन्छ, जनक शिक्षा सामग्रीको पुस्तक चलाए अभिभावकले बोर्डिङजस्तो भएन भन्छन्, त्यसैले बोर्डिङको पाठ्यक्रम पढाउन बाध्य छौँ, पुस्तक खर्चिलो हुन्छ,' उनी भन्छन्।

बोर्डिङ छाडेर सरकारी विद्यालय भर्ना हुनेको घुइँचो :

अंग्रेजी माध्यममा पढाउन थालेपछि निजी स्कूल छाडेर सामुदायिकमा भर्ना हुन आउनेको घुइँचो लाग्न थालेको छ। हिमालय माविका अध्यक्ष तीर्थराज बस्नेतका अनुसार यसपटक विद्यालयमा प्रवेश परीक्षा उत्तीर्ण गरेर ३ सय विद्यार्थी भर्ना भएका छन्।

प्रवेश परीक्षामा सहभागी हुनेको संख्या झण्डै १ हजार थियो। 'पढ्न इच्छा देखाएर ९ सय ५७ जनाले आवेदन दिएका थिए, हामीले प्रवेश परीक्षाबाट ३ सय जना छनौट गरेका छौँ, हामीलाई पनि प्रवेश परीक्षा लिने इच्छा थिएन, तर भौतिक संरचनाका कारण सीमित विद्यार्थी मात्र भर्ना गर्नुपर्छ।' यसरी भर्ना भएकामध्ये ९५ प्रतिशत बोर्डिङबाट आएको उनले जानकारी दिए।

दमकको उत्तरी गाउँमा रहेको चुलाचुली आधारभूत विद्यालयमा पनि विद्यार्थीको घुइँचो लागेको छ। दमक- ३ मा रहेको सो विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा ३ सम्म पढाउन थालेपछि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन बरालले जानकारी दिए।

जिल्ला शिक्षा कार्यालय झापाका अनुसार झापामा ३६५ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। जसमध्ये आधाभन्दा धेरैले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.