|

काठमाडौं :  परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षा गरिने बताएका छन्। थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिंगापुरस्थित नेपाली महावाणिज्य दूतावासद्वारा बिहीबार साँझ सिंगापुरमा आयोजित कार्यक्रममा उनले नेपालमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन्।

'हामी विदेशी लगानीलाई कसरी सुरक्षित र आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत छौं र यस्तो लगानीलाई सहज र सुरक्षित बनाउने गरी हामीले नियम कानुनको निर्माण गरेका छौं' महतले भने। मन्त्री महतले नेपालमा जलस्रोत, पूर्वाधार विकास, पर्यटन, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसर रहेको पनि सुनाए। 

नेपालमा लगानीको वातावरण नरहेको भनी बाहिरबाट गर्ने गरिएका टिप्पणी यथार्थभन्दा बाहिर रहेको पनि मन्त्री महतले बताएका छन्। लामो राजनीतिक अस्थिरतापछि नेपाल यतिखेर शान्ति, स्थिरता र विकासको मार्गमा अघि बढेकाले नेपालमा लगानीको उचित वातावरण रहेको पनि उनले बताए।

डा महतले नेपालसँग असीमित स्रोत र साधनको सम्भावना रहे पनि प्रविधिको अभावमा पछिपर्नु परिरहेको यथार्थ पनि प्रस्तुत गरेका थिए। साथै उनले नेपालमा लगानी प्रवर्द्धनका लागि हाल निर्मित सहज वातावरणको सही सदुपयोग गर्न सकिएमा नेपाल र लगानीकर्तालाई समेत फाइदा पुग्नेतर्फ सोच्‍न आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.