अर्थ

सार्क अर्थमन्त्रीहरुको बैठकमा दक्षिण एसियाली आर्थिक संघ स्थापनामा जोड
SHARES

बैशाख २२, २०७४

    काठमाडौं :  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अर्थमन्त्रीहरुको बैठकमा दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष जोड दिएको छ। शुक्रबार जापानमा सम्पन्न सार्क अर्थमन्त्रीहरुको अनौपचारिक बैठकमा संघ स्थपनामा सार्क अर्थमन्त्रीहरुले जोड दिएका हुन्।  

    आठवटै सदस्य देशका अर्थमन्त्री र उच्च अधिकारी सम्मिलित उक्त बैठकमा दक्षिण एसियाका एक अर्ब ७० करोड जनताको जीवनस्तर उकास्‍न एसियाली विकास बैंकजस्ता बहुपक्षीय निकायको सहयोग पनि उत्तिकै अपरिहार्य हुने सार्क अर्थमन्त्रीहरुले जोड दिएका छन्। बैठकमा लगानी संरक्षण तथा प्रवर्द्धन, अन्तरक्षेत्र लगानी विस्तार, सेवा व्यापारमा सहकार्य र साझेदारी, दोहोरो कर प्रणालीको अन्त्य, व्यापार सहजीकरण, जल, स्थल, वायुमार्गबाट सदस्य मुलुकलाई जोड्ने, ऊर्जा सहायता अभिवृद्धि तथा पूर्वाधार निर्माणका क्षेत्रमा पारस्परिक समन्वय एवं सहकार्यमा पनि जोड दिइएको छ।

    सार्कका अर्थमन्त्रीहरुको वर्तमान अध्यक्षका हैसियतमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बैठकमा प्रारम्भिक मन्तव्य व्यक्त गर्दै बैठक सञ्चालन एवं समापन गरे। उनले एक दशकअघि आजकै दिन जापानको क्योटोमा सार्क देशका अर्थमन्त्रीको दोस्रो बैठक भएको स्मरण गर्दै एसियाली विकास बैंक (एडिबी) को ५० औं वार्षिक बैठकका क्रममा सार्कका अर्थमन्त्रीहरुको बैठक आयोजना गरेकोमा एडिबीप्रति आभार व्यक्त गरे।

    गरिबी निवारण र आर्थिक विकास सार्क र एडिबीका लक्ष्य भएको बताउँदै महराले दक्षिण एसियामा सहयोग प्रवर्द्धन, आर्थिक एकीकरण र उपक्षेत्रीय तहमा सञ्चालन गरेका विकासका परियोजनाबाट सार्क मुलुक लाभान्वित भएको बताए। गत वर्ष इस्लामावादमा भएको सार्कका अर्थमन्त्रीहरुको बैठकले अनुमोदन गरेका कार्यक्रमहरुमा इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले क्षेत्रीयस्तरमा आर्थिक सहयोग र विकास सुनिश्चित गर्न एडिबीले थप सहयोग गर्नुपर्ने बताए।

    एडिबीका उपाध्यक्ष वेनकाई झाङले दक्षिण एसियको आर्थिक विकास र एकीकरणका परियोजनालाई बैंकले उच्च प्राथमिकता दिएको तथा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोगमार्फत दक्षिण एसियाली देशलाई सघाइरहेको जानकारी दिए।सार्क राष्ट्रलाई थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पारस्परिक साझेदारीबाट नै आर्थिक विकासका लक्ष्य हासिल हुने बताए।

    सार्कका महासचिव अमजद हुसेन बी सियालले काठमाडौंमा सम्पन्न सार्कको १८ औं शिखर सम्मेलनमा सार्कका सदस्य देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुखले व्यक्त गरेका दक्षिण एसियाली आर्थिक संघ, स्वतन्त्र व्यापार क्षेत्र स्थापना, साझा बजार, भन्सार संघ, साझा आर्थिक तथा वित्तीय संघका विषयलाई कार्यान्वयन गर्न अपरिहार्य भएको बताए। अर्थमन्त्री महराले नेपालको जलस्रोतको अझै उपयोग नभएको, ऊर्जा सहयोगसम्बन्धी ‘ड्राफ्ट फ्रेमवर्क’ कार्यान्वयनमा सामूहिक एवं एकीकृत प्रयासको आवश्यकता रहेकोमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]