घोषणापत्रको विषयमा के छ कलाकर्मीको धारणा?

|

काठमाडौं: बैशाख ३१ र जेठ ३१ मा पहिलो र दोस्रो गरी दुई चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले महत्त्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेका छन्। तिनमा कुनै न कुनै पाटोमा कला, साहित्य तथा फिल्म क्षेत्रको विषयमा पनि विभिन्न धारणा उल्लेख गरिएको छ। नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपाले घोषणापत्रमा आआफ्ना धारणा यसरी व्यक्त गरेका छन्।

के छन् त एजेण्डा?

नेपाली कांग्रेस

नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा कला साहित्यको प्रवर्द्धनको लागि स्थानीय कला, संस्कृति र संगीतसँग सम्बन्धित संग्राहलय, ग्यालरी र थिएटर निर्माण गर्ने उल्लेख गरेको छ। त्यस्तै घोषणापत्रमा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास गर्नेसमेत बताइएको छ।

एमाले

नेकपा एमालेले पनि घोषणापत्रमा नेपाली गीत-संगीतको संवर्द्धन र प्रवर्द्धनको लागि हरेक प्रदेश तथा स्थानीय तहमा संगीत विकास बोर्ड गठन गरिने उल्लेख गरिएको छ।

माओवादी केन्द्र

माओवादी केन्द्रको घोषणापत्रमा फिल्म क्षेत्र तथा कला संस्कृति क्षेत्रलाई खासै जोड दिएको देखिँदैन। माओवादीले घोषणापत्रमा कला, साहित्य, संस्कृति तथा संगीतको संरक्षण र सम्वर्द्धनमा जोड दिइने उल्लेख गरिएको छ।

राप्रपा नेपाल

गाउँपालिका तथा नगरपालिकामा कला, साहित्य, संस्कृति तथा चलचित्रको विकास र प्रवर्द्धनका निमित्त कार्यक्रमहरू संचालन गर्ने उल्लेख छ। त्यस्ता कार्य गर्ने संघ संस्था तथा अन्य निकायहरूलाई पनि प्रोत्साहित गर्ने कुरा घोषणापत्रमा लेखिएको छ।

नयाँ शक्ति पार्टी नेपाल

नयाँ शक्ति पार्टीले पनि घोषणापत्रमा चलचित्र क्षेत्रलाई विकास तथा प्रवर्द्धन गर्ने बताएको छ। नयाँ शक्तिको घोषणापत्रमा पाँच वर्षभित्र कला, साहित्य र संकृतिको विकासका लागि हरेक प्रदेशमा एक/एक प्रज्ञाप्रतिष्ठान खोलिने उल्लेख छ। १५ वर्षमा हरेक नगरपालिका तथा गाउँपालिकामा एक/एक प्रज्ञाप्रतिष्ठान खोलिने र २५ वर्षभित्र त्यस प्रतिष्ठान केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भनिएको छ।

जुन पार्टीले घोषणापत्रमा कला, साहित्य तथा संगीत क्षेत्रलाई प्रवर्द्धन गर्ने वाचा गरे पनि खासै प्रथामिकता भने दिएको पाइएन। सबै पार्टीको घोषणापत्रमा कला, साहित्य र संगीतलाई भने कुनै न कुनै तवरबाट जोडिएको भने छ।

के भन्छन् कलाकार्मी?

१. आकाश अधिकारी, अध्यक्ष, चलचित्र निर्माता संघ

मैले सबै पार्टीको घोषणापत्र त पढ्न पाएको छैन, तर केही पार्टीको पढेँ। उहाँहरूले कला क्षेत्रमा चासो देखाउनुभएको छ। त्यो नै ठूलो कुरा हो। तर त्यस्तो काम हुन्छ जस्तो चाहिँ लाग्दैन। म त के भन्छु भने त्यसलाई चुनावी नारा मात्र नबनाइयोस्। साँच्चिकै त्यहाँ उल्लेख गरिएको जस्तो काम हुने हो भने कला क्षेत्र पनि छिट्टै माथि आउने थियो। काम हुन्छ कि भन्ने आशाचाहिँ छ। 

. दीपकराज गिरी, कलाकार/निर्माता

यी सब भनाइ मात्र हुन्। चुनाव प्रचार प्रसारका लागि बनाइएको फण्डा मात्र हो, घोषणापत्र। घोषणापत्र र फिल्मको पोष्टर एकै जस्तो लाग्छ मलाई। फिल्मको पोष्टर फिल्म हलमा लागेपछि काम छैन, त्यस्तै घोषणापत्र पनि चुनावपछि कहाँ पुग्छ थाहा हुन्न।

. शोभित बस्नेत, निर्देशक तथा निर्माता

यी सब चुनाव प्रचार प्रसारका लागि हो। म कुनै पार्टीमा आस्था राख्दिनँ। म चुनावमा पनि भोट हाल्दिनँ। जसलाई भोट हाले पनि कसैले केही गर्ने छैन यहाँ। त्यसैले  गर्छ भन्ने आशा पनि छैन।

. प्रदीप भट्टराई, निर्देशक

यत्तिका समयपछि चुनाव हुन लागेको छ। चुनावलाई लिएर उत्साहित त छु। भोट हाल्छु पनि। तर घोषणापत्रमा लेखिएका कुराहरू पूरा हुन्छन् भन्ने चाहिँ लाग्दैन। अहिलेसम्म कुनै नेताहरूले कला क्षेत्रलाई केही गरेका छैनन्। अब झन् के गर्लान् र!

. अर्जुन पोखरेल, संगीतकार

देशको एक सच्चा नागरिक भएकाले पनि चुनाव लागेको छ मलाई। भोट हाल्छु पनि। अनि यो घोषणापत्रको विषयमा भन्नुपर्दा सपना देख्नु नराम्रो होइन। सपना नदेखी केही काम गर्न सकिन्न। तर पनि कुनै पनि राजनीतिज्ञहरूले आजसम्म यस क्षेत्रमा केही नगरेकाले अब पनि के गर्लान् र जस्तो लागेको छ। जे होस्, घोषणापत्रमा संगीत क्षेत्रलाई पनि समेटेकोमा यस क्षेत्रमा पनि ध्यान रहेछ भन्ने बुझिन्छ। आशा गरौँ, अब केही गर्छन् कि!

. निश्चल बस्नेत, निर्देशक तथा अभिनेता

कलाकर्मीमा ऊर्जा थप्नलाई मात्र घोषणापत्रमा लेखिएको हुन्छ। कलाकार्मीहरूको ध्यान तान्न पनि यो काइदा अपनाइएको हुनसक्छ। लेख्न त जे लेखे पनि भैहाल्यो नि, कार्यान्वयन गर्न पो गाह्रो छ त। मलाई त लाग्छ, नेताहरूले कला क्षेत्रलाई सम्झिँदैनन्, अरूले सम्झाइदिएर मात्र घोषणापत्रमा लेखेका होलान्। उनीहरूलाई खुराफात गर्न नै समय छैन, केको कला क्षेत्रको प्रवर्द्धन गर्नु!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.