|

काठमाडौँ: सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शुक्रबार पत्रकार सम्मेलनमार्फत् चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। अन्य दलले चुनावी घोषणापत्र भनेर सार्वजनिक गरे तापनि आफ्नो दलले कुनै घोषणापत्र नभई प्रतिवद्धतापत्र सार्वजनिक गरेको प्रवक्ता पम्फा भुसालले स्पष्ट पारिन्। केन्द्रीयस्तरमा ३० बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरे पनि हरेक स्थानीय तहले आफ्नो विशिष्टतामा आधारित स्थानीय जनसरोकारका विषयहरू समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गर्ने नीति माओवादीले लिएको छ।

अगाडि आवरणमा पार्टी अध्यक्ष प्रचण्डको फोटो र पछाडि आवरणमा चुनाव चिह्न राखेर सानो आकारमा तयार पारेको माओवादीको प्रतिबद्धतापत्र जम्मा १० पानाभित्र ३० बुँदामा समेटिएको छ। 'माओवादी केन्द्रको उपहार: गाउँगाउँमा सिंहदरबार' मुख्य नारा दिइएको माओवादी केन्द्रको प्रतिवद्धतापत्रका ३० बुँदामा सुशासनदेखि शहरी विकास, भूकम्प, आधुनिकीकरण र व्यावसायीकरणका साथै फोहर व्यवस्थापनलगायतका कुराहरू पनि उठाएको छ। 

चुनावी तालमेलबारे

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता भुसालले दुई महानगर पोखरा र भरतपुरका साथै धादिङ, दोलखा, म्याग्दी र मकवानपुरमा नेपाली कांग्रेससँग चुनावी तालमेल भएको बताइन्। त्यसैगरी लमजुङ र तनहुँमा नेकपा एमालेसँग तालमेल भएको पनि उनले बताइन्। 

तालमेलको नाममा तनहुँमा नेकपा एमालेलेबाट धोका 

चुनावी तालमेलका नाममा तनहुँमा एमालेले माओवादीलाई हद दर्जाको धोका दिएको  प्रवक्ता भुसालले गुनासो गरिन्। एमालेसँग भएको समझदारीअनुसार आफूले कतै प्रमुखबिहीन त कतै उपप्रमुखबिहीन प्यानलको मनोनयन दर्ता गरे पनि एमालेले सबै प्यानल मनोनयन दर्ता गरेको हुनाले स्वतन्त्र तरिकाले प्रतिस्पर्धामा जाने उनले बताइन्।

रेणुको बचाउ

भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन मात्र तालमेल गरेको हो? भन्ने संचारकर्मीको जिज्ञासामा प्रवक्ता भुसालले माओवादीविरोधीले कुखुराले भुइँ खोस्रेजस्तै माओवादीलाई कहाँनेर आरोप लाउन सकिन्छ भनेर भुइँ खोस्रिरहेको आरोप लगाइन्। उनले भनिन्, 'तिनको पछि लागेर बनिसकेको माहोल बिगार्न नलागौँ।'
स्कुल पढ्दै गरेका कलिला बच्चाहरू जनयुद्धमा होमिएको स्मरण गर्दै पार्टी अध्यक्ष प्रचण्डका छोराछोरी रेणु र प्रकाश दाहालहरू आम कार्यकर्ता जस्तै जनयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेर आएको भन्दै प्रवक्ता भुसालले उनीहरूको बचाउ गर्दै भनिन्, 'उहाँहरूको स्तरका अरू नेता कार्यकर्ताले चुनाव लड्न पाउने, उहाँहरूले किन नपाउने?'

नेकपा माओवादी केन्द्रकी प्रवक्ता भुसालले 'गाउँगाउँमा सिंहदरबार' माओवादी केन्द्रको एजेण्डा भएको हुनाले एजेण्डा हेरेर भोट दिन जनतालाई आग्रह पनि गरेकी छन्। नेतृ भुसालले जसको नीति उसैले नेतृत्व पाउनुपर्ने पनि बताइन्।

देशमा कुनै बेला माओवादी मात्र गणतन्त्र र संघीयताको पक्षपाती रहेको र अरू दलहरूले यी एजेण्डालाई मास्न भएभरको शक्ति खर्च गरेको भन्दै प्रवक्ता भुसालले माओवादीको एक्लो अडानले मात्र देश गणतन्त्र र संघीयतामा प्रवेश गरेको दावीसमेत गरिन्।

१० वर्षअगाडि २०६४ सालमा संविधानसभाको चुनाव हुँदा पनि आफ्नो पार्टीले एजेण्डाकै लागि भोट मागेको बताउँदै प्रवक्ता भुसालले १० वर्षपछाडि स्थानीय तह चुनावमा पनि एजेण्डाकै लागि भोट माग्ने बताइन्। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक जस्ता एजेण्डा माओवादीले नै अघि सारेको र अहिले देश यिनै एजेण्डामा अगाडि बढिरहेको प्रवक्ता भुसालको जिकीर थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.