|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेताका छोरी र दाजुभाइ जिताउन तालमेल गरेको दुई पार्टीले तालमेल गरेको टिप्पणी गरेका छन्। काठमाडौं महानगरपालिकाका उम्मेदवारको चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले कांग्रेस र माओवादी नेताले आफन्त जिताउन मात्र तालमेल गरेको दावी गरे।

'सूर्य र गाईबीचको तालमेल भनेर खिल्ली उडाउनेहरुले आफूले गरेको तालमेलको पनि हेक्का राख्नु नि। एमाले र राप्रपाबीच भएको चुनावी तालमेल राजनीतिक तालमेल हो' ओलीले भने, 'यो नेताका छोरी जिताउनका लागि गरिएको गठबन्धन होइन। कसैका दाई जिताउनका लागि गरेको गठबन्धन होइन।'

ओलीले एमाले-राप्रपाको गठबन्धन महानगर बनाउनका लागि गरिएको गठबन्धन भएको बताए। सत्तारुढ माओवादी-कांग्रेस मुलुकका पक्षमा नराम्रो कामका लागि मिल्ने गरेको समेत आरोप लगाए। उनले भने 'नराम्रो कामका लागि हेर्नुस् कति मिल्न सकेका ! प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउन कांग्रेस-माओवादी कति मिलेको हेर्नुस त।'

एमाले नेता ओलीले नेपालबाट जहानियाँ राणा शासन अन्त्य भएको लामो समय भए पनि जहानियाँ तन्त्र नगएको समेत बताए। अर्को प्रसङ्गमा नेता ओलीले एमाले पूर्ण रुपमा निर्वाचन आचारसंहिताको पालना गरेर लाग्ने बताए। 

आफू सरकारमा हुँदा तुइन अन्त्य गर्छु भन्दा खिल्ली उडाउनेहरु अब एमालेले देशैभरी पुल बनाएर देखाउदा दंग हुने समेत ओलीले बताए। 'हिजो हाम्रो सरकारले एक वर्षमा लोडसेडिङ अन्त्य गर्छु भन्दा आज लोडसेडिङ अन्त्यको अवस्थामा एमालेले पुर्‍याएपछि त्यसको प्रतिफल एमालेले लिन्छ भनेर केही आत्तिएका छन्' ओलीले भने 'तुइनको अन्त्य गर्छु भन्दा हाँसोमा उडाए। एमालेले १/२ वटा पुल बनाउने भनेको कहाँ हो र? देशैभरका पुल एमालेले बनाउँछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.