|

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब ९ दिनमात्र बाँकी छ। विभिन्न तहका उम्मेदवार यतिबेला घरदैलो गर्न र प्रचारप्रसारमा केन्द्रित छन्। तर नयाँ शक्ति पार्टी नेपालका नागार्जुन नगरपालिका-७ का वडा अध्यक्षका उम्मेदवार मदन गिरी अपहरणमा परे भन्ने खबरले सनसनी मच्चियो। 

पार्टीले यही विषयमा विज्ञप्ति पनि जारी गर्‍यो। बिहीबार नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले जारी गरेको विज्ञप्तिमा अपहरणको आरोप सत्ताधारी दलका कार्यकर्तामाथि लगाइएको छ। 

गिरी दुई दिनगाडि नयाँबजारबाट बेलुका साढे ७ बजे अपहरणमा परेको र उनले अपहरण अगाडि पार्टीका नेतालाई जानकारी गराए लगत्तै मोवाइल स्वीच अफ भएको जानकारी आएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टिम उनको खोजीमा लाग्यो। 

अपहरणा परेका भनिएका गिरी शुक्रबार आफै प्रहरीको सम्पर्कमा आए। उनले आफू गोकर्णेश्वरको जंगलमा नजिकै रहेको र हतियारधारी समूहले अपहरण गरेर जंगलमा राखेको बताएपछि प्रहरी टोली गएर उनको उद्दार गर्‍यो। 'प्रहरीले भेट्दा जिउभरी हिलो थियो हातमा पनि सानो चोट लागेको थियो' काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले भने ' उनले चार जना मिलेर अपहरण गरेको दावी गरे।' 

तर प्रहरीले टेकुमा रहेको परिसर कार्यालयमा ल्याएर घटनाबारे सोधपुछ शुरु गरेपछि भने दृश्य फेरियो। प्रहरीले पाएको प्रारम्भिक जानकारी र उनले दिएको विवरण मिलेन। घटना नाटकीय देखिएपछि प्रहरीले केरकार बढायो। अनि बल्ल खुल्यो - उनको अपहरण भएको होइन, उनी आफैले अपहरणको नाटक गरेका थिए। अपहरणको नाटक गर्न उनले केही नेतालाई जानकारी दिएर मोवाइलको स्वीच अफ गरेर साथीको घरमा बसेका थिए। 

प्रहरीले प्रारम्भमा नक्कली अपहरण चुनावी चर्चाका लागि गरेको आशंका गरेको थियो। तर गिरीको बयानबाट अर्कै पाटो खुल्यो। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार वडा अध्यक्षको उम्मेदवार बनेपछि पार्टीले अन्य उम्मेदवारहरुलाई सहयोग गर्नुपर्ने भन्दै सात लाख रुपैयाँ माग गरेपछि त्यसबाट जोगिन अपहरणको नाटक गरेको प्रहरी बयानमा खुलाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.