|

काठमाडौं : स्थानीय आवश्यकता अनुसार फरक दलसँग चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय लिएका प्रमुख राजनीतिक दलले केन्द्रीय राजनीतिलाई पनि ध्यानमा राखेर चुनावी तालमेल गरेका छन्। केन्द्रबाट भएको यस्तो तालमेलले स्थानीय तहका कार्यकर्ता रुष्ट भएका छन्। 

दलका स्थानीय समिति र कार्यकर्ताको चर्को विरोध भए पनि शीर्ष नेताहरुले केन्द्रको राजनीनिलाई ध्यानमा राखेर स्थानीय तहका लागि चुनावी तालमेल गरेका हुन्। पहिलो चरणको निर्वाचन हुनेवित्तिकै सत्ताको नेतृत्व छाड्ने माओवादी केन्द्र र सत्ताको नेतृत्व लिने नेपाली कांग्रेसले स्थानीय तहका केही पदमा तालमेलको निर्णय गरेका छन्। त्यसैगरी प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपासँग काठमाडौं र ललितपुर महानगरपालिकाका उम्मेदवारबारे केन्द्रबाटै गठबन्धन गरेको छ।

स्थानीय तहका लागि केन्द्रबाट भएका चुनावी तालमेलले पार्टीहरुभित्र असन्तुष्टी बढाएको छ। भरतपुर महानगरपालिका प्रमुखमा माणवादी उम्मेदवार रेणु दाहाललाई सघाउने केन्द्रको निर्णयप्रति कांग्रेसको स्थानीय समितिबाट चर्को विरोध भएको छ। आफूहरुले चुनाव जित्ने निश्चित भए पनि केन्द्रले माओवादीका लागि प्रमुख पद छाडेको भन्दै विरोध गरेका छन्। 

कांग्रेसमा जस्तो तालमेलको विरोध एमालेमा बाहिरी रुपमा नभए पनि कार्यकर्ताले राप्रपासँगको तालमेललाई खासै रुचाएका छैनन्। 'स्थानीय आवश्यकता अनुसार यो भएको होइन। स्थानीय स्तरमा हामी एक्लै लड्न र जित्न सक्षम छौं' काठमाडौं महागरपालिका प्रमुखका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले बुधबार पत्रकारसँग भनेका थिए ' संविधान संशोधन लगायत विषयमा भोलिका दिनमा पनि सहकार्य गरेर अघि बढ्न यो गठबन्धन भएको हो।'

अहिले दलहरुले विचार मिल्नेसँग भन्दा पनि एकले अर्कोलाई कमजोर पार्ने दीर्घकालीन रणनीति अनुसार काम गरेको विश्लेषक बताउँछन्। राजनीतिक विश्लेषक झलक सुवेदी अहिलेको सिद्धान्तविहीन चुनावी गठबन्धन कांग्रेस र एमालेले एकले अर्कोलाई कमजोर पार्ने रणनीति अनुसार भएको बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.