|

नमीन ढकाल-

    इलाम : हल्का टारजस्तो जमिन, गोरु नारेर सम्याइएको मैदान, राणा शासनका बेला सेनाले कवज गर्ने स्थान इलाम सदरमुकामको ‘ठूलो टुँडिखेल’। सरकारी औपचारिक कार्यक्रमभन्दा अरू गतिविधि खासै नहुने यस मैदानमा कुनैबेला जनता र राणाहरूको ‘सरकारी’ टोलीबीच रात छिप्पिँदासम्म फुटबलको प्रतिस्पर्धा हुन्थ्यो। फुटबलप्रति लगाव भएका राणा प्रशासकहरूले सुरु गरेको फुटबल खेलले यस बेलासम्म आइपुग्दा धेरै फड्को मारिसकेको छ। त्यतिबेला सरकारी टिम र स्थानीय बासिन्दाको टिमबीचको फुटबल प्रतिस्पर्धाको रोचक प्रसंग छ।

    खेलको कुनै निश्चित समयावधि थिएन। अहिलेजस्तो ९० मिनेट अनि अतिरिक्त समय गर्दै नयाँ नियमअनुसार खेल हुँदैनथ्यो अग्रजहरुले सुनाएको इलामको फुटबलबारे इतिहासविद् युद्धप्रसाद वैद्य सम्झन्छन्, ‘फुटबलमा पोख्त इलामेली खेलाडीले खेल सुरु हुनेबित्तिकैदेखि गोल गर्थे। सरकारी टिमले हार्नु हुँदैनथ्यो ऊबेला! अनि जतिबेलासम्म उनीहरूका खेलाडीले गोल गरेर जित्दैनथे, त्यसबेलासम्म खेल जारी रहन्थ्यो। रात पर्दा पनि खेल रोकिँदैनथ्यो।'

    सम्झँदै उनी भन्छन्, 'त्यसबेला भारतको कोलकाताबाट ल्याइएका ‘पेट्रोलमेक्स’ बालेर राति पनि खेल जारी रहन्थ्यो। राणा टोलीका तर्फबाट गोल भएपछि खेल सकिएको घोषणा हुन्थ्यो। यसो हुन नसकेर खेल ज्यादै लम्बिएपछि ‘जनता’ टिमका खेलाडीले उनीहरूलाई जानीजानी गोल गर्न दिनुपथ्र्यो अनि मात्र खेल सकिन्थ्यो। राणा टिम विजयी बनेपछि त्यसबेलाको पटांगिनीमा लगेर पराजित टिमका खेलाडीलाई समेत भोजमा सहभागी गराइन्थ्यो।’

    यसरी वि.सं. १९९० ताका सुरु भएको फुटबल खेल इलामका लागि पछिल्लो समय एउटा पर्व जत्तिकै बनेको छ। त्यसपछि इलाममा धेरै ठूला प्रतियोगिता हुन थालेका हुन्। तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित महावीर सिल्ड, कमल सिल्ड, ज्ञानीराम सिल्ड हुँदै भूकम्पपीडित कप फुटबल प्रतियोगितासम्म भएको इतिहास छ। पछिल्लो समय माईभ्याली गोल्डकप पूर्वकै प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित छ।

    देश–विदेशसससम्म चर्चा बटुल्दै

    फुटबलमा मरिहत्ते गर्ने अग्रजहरूकै योगदानका कारण इलामले राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा चर्चित प्रतिभाशाली खेलाडी जन्माएको छ। यतिबेलाका चर्चित फुटबलर नवयुग श्रेष्ठ र छिरिङ गुरुङ इलामकै हुन्। पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ कुनै बेलाका चर्चित स्ट्राइकर हुन्। उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसको टिमबाट कप्तानी गर्दै धेरै प्रतियोगिता खेलेका थिए। यसैगरी, एन्फाका महासचिव धीरेन्द्र प्रधान, जीवन श्रेष्ठ, मंगेश बस्नेत, सुवास राई, दर्शन भक्तराज, लोकबन्धु गुरुङ, विनोद श्रेष्ठजस्ता प्रतिभाशाली खेलाडी इलामबाटै फुटबलमा दक्ष बनेका हुन्।

    ‘राणाहरूको योगदानले फुटबल भित्रिएको इतिहास छ,’ माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङ भन्छन्, ‘अब त फुटबल इलामको एउटा संस्कृति र पर्वकै रूपमा विकसित भइसकेको छ। इलाममा मात्र होइन, नेपाली फुटबलमा पूर्वाञ्चल अग्रपंक्तिमा छ। पूर्वले नेपाली फुटबल धानेको छ भने पनि फरक पर्दैन।’

    हाल माल्दिभ्सको क्लबमा आबद्ध गोलकिपर किरण चेम्जोङ, सुजल श्रेष्ठ र बुद्ध चेम्जोङ धनकुटाका हुन्। पाँचथरमा ११ जनाले खेल्न मिल्ने मैदान पनि छैन तर, यहाँका गणेश लावतीले राष्ट्रिय टिममा स्थान बनाइसकेका छन्। प्रवेश कट्वाल, योगेश गुरुङ, देवेन्द्र तामाङ, अनन्त तामाङ, विशाल राई बी, कर्ण लिम्बू, रञ्जित धिमाल झापाका हुन्।

    कीर्तिमानी गोलकर्ता हरि खड्का पनि झापाकै हुन्। दक्षिण एसियाली खेलकुदमा नेपालले जितेका तीनै स्वर्णपदकका हिरो राजुकाजी शाक्य धरानका हुन्। राजुकाजीले २ पटक खेलाडीका रूपमा र १ पटक प्रशिक्षकको रुपमा नेपाललाई स्वर्ण दिलाएका थिए।

    पूर्वाञ्चलमा प्रतियोगिताको लहर

    विराटनगरको महेन्द्र गोल्डकपको इतिहास त पञ्चायतको सुरुआतसँगै जोडिएको छ। २०३८ सालदेखि सुरु भएको महेन्द्र गोल्डकप २०६९ पछि आएर विराट गोल्डकपमा रूपान्तरण भयो। हरेक वर्षजस्तो पूर्वमा ठूला प्रतियोगिता थपिएका छन्। पूर्वका हरेकजसो जिल्लामा ठूला प्रतियोगिता आयोजना भइरहेका छन्। झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, उदयपुर, धनकुटालगायत जिल्लामा हुने यस्ता प्रतियोगितामा देशका ए डिभिजनका टिमहरु सहभागी भइरहेका छन्।

    चर्चित टिमहरूको सहभागितामा सामान्यतया दसैंपछि हुने ठूला प्रतियोगिता आयोजनासँगै पूर्वाञ्चल फुटबलमय बन्छ। गाउँ, जिल्ला र क्षेत्रीयस्तरका खेल प्रशस्तै हुन्छन्। झापामा मात्रै गत वर्ष ए डिभिजनका टिमहरु सहभागी रहेका सताक्षी गोल्डकप, सुरुंगा गोल्डकप, शरणामती गोल्डकप र झापा गोल्डकप आयोजना भए। इलामको माईभ्याली, धरानको बूढासुब्बा, विराटनगरको विराट, धनकुटाको सहिद भीमनारायण, पाँचथरको फाल्गुनन्द, उदयपुरको उदयपुर गोल्डकप पूर्वका प्रतिष्ठित प्रतियोगितामा पर्छन्।

    पूर्वमा हुने हरेकजसो फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न चार दशकयता सक्रिय हुँदै आएका पुर्व–राष्ट्रिय खेलाडी दिलीप राईका अनुसार यस क्षेत्रमा फुटबल क्रेज अचम्मलाग्दो छ। ‘यस क्षेत्रमा प्रतिभाशाली खेलाडी त छँदैछन्,’ उनी भन्छन्, ‘प्रतियोगिता आयोजना गर्न सघाउने अनि दर्शकका रूपमा उपस्थित भएर हौस्याउने पनि फुटबल विकासका महत्वपूर्ण पक्ष हुन्।’

    पूर्वमा फुटबल लोकप्रिय हुनुमा स्थानीय टोल, वडादेखि गोल्डकपसम्मै नियमित प्रतियोगिता र त्यसमा राखिने आकर्षक पुरस्कार नै हो। विजेताले कम्तीमा १ लाख रुपैयाँ पाउने प्रतियोगिता पूर्वमा वार्षिक दुई दर्जन बढी हुन्छन्। २०७२ बाट सुरु भएको झापा गोल्डकप दोस्रो संस्करण २०७३ मा आइपुग्दा मोफसलकै सबैभन्दा ठूलो पुरस्कार राशि (विजेतालाई ७ लाख) को प्रतियोगिता बन्यो।

    यस्ता प्रतियोगिता आयोजनाले स्थानीय खेलाडीलाई प्रतिभा देखाउने अवसर दिएको छ भने मोटो पुरस्कारले व्यावसायिक बन्न सहयोग गरेको छ। खेलाडीले फुटबलकै कमाइले घर बनाउन सक्ने पनि भएका छन्। ‘म्याच फि’ को लोभमा राष्ट्रिय टिमका खेलाडीहरू पनि रातारात खेल्न पूर्वाञ्चल आइपुग्ने गर्छन्। अझ सीमापारि दार्जिलिङ, कर्स्याङ, सिक्किम, सिलिगुडी र असमका प्रतियोगितामा खेलेको कमाइ त लोभलाग्दो हुने गर्छ।

    पुरस्कार र प्रायोजन

    सामान्यतया खेलको विजेता र उपविजेतालाई आकर्षक पुरस्कार दिने चलन छ। तर विराट गोल्डकपमा भने प्रतियोगितामा सहभागी हुने सबै टिमलाई प्रोत्साहन गर्ने प्रयास थालिएको छ।  दोस्रो संस्करण २०७० सालदेखि यो प्रतियोगितामा पराजित हुने सबै टिमलाई पनि प्रोत्साहनस्वरूप नगदको व्यवस्था गरिएको आयोजक समिति अध्यक्ष राजेन्द्र राउतले बताए।

    उनका अनुसार पहिलो चरणमा हार्ने सबै टिमले ३०–३० हजार, क्वाटरफाइनलमा पराजित हुने टिमलाई ५० हजार र सेमिफाइनलमा पराजित हुने दुवै टिमलाई एक लाख रुपैयाँका दरले प्रोत्साहनस्वरूप रकम दिइएको थियो।

    प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, उत्कृष्ट खेलाडी, टिम म्यानेजर, डिफेन्स, गोलकिपर, मिडफिल्ड, फरवार्ड र फेयर प्ले टिमलाई पनि विशेष पुरस्कारको व्यवस्था स्थानीयदेखि ठूला हरेक प्रतियोगितामा गरिन्छ। खेलाडी तथा टिमलाई दिइने विभिन्न पुरस्कारका लागि स्थानीय खेलप्रेमी, समाजसेवी र औद्योगिक प्रतिष्ठानहरूले सहयोग गर्ने गरेका छन्।

    पूर्वमा हुने प्रतियोगितालाई सघाउन प्रायोजकका रूपमा औद्योगिक प्रतिष्ठानहरू पनि आकर्षित हुन थालेका छन्। धरानको बूढासुब्बा, इलामको माईभ्यालीलगायत अन्य कतिपय प्रतियोगितामा गोर्खा ब्रुअरीले प्रायोजन गर्दै आएको छ।

    विराटगरकै उत्पादन रमपम चाउचाउ झापा गोल्डकप, दुहबी गोल्डकप, उदयपुर गोल्डकप लगायतका धेरै प्रतियोगितासँग जोडिएको छ। रमपम उत्पादक एसियन थाइफुड्सले झापा ११ फुटबल क्लबलाई पनि तीन वर्षका लागि प्रायोजन गरेको छ। टिमका लागि चाहिने सबै सहयोग यो अवधिमा कम्पनीले गर्नेछ।

    औद्योगिक प्रतिष्ठान मात्र होइन फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीले पनि प्रतियोगितामा सघाउँदै आएका छन्। देश–विदेशमा रहेका फुटबल आयोजना हुने स्थानका बासिन्दाले पनि सक्दो सहयोग जुटाउने गरेका छन्। बूढासुब्बा गोल्डकपका लागि हङकङ, बेलायतलगायत देशमा रहेका धरानेहरूले सहयोग जुटाएर पठाउँछन् भने इलामको माईभ्याली गोल्डकपलाई मलेसिया, बेलायतलगायत मुलुकमा रहेका इलामेहरूले सहयोग अभियानै चलाउने गरेका छन्।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.