|

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका संस्थापक मार्शल जुलुम शाक्यको निधन भएको छ। काठमाडौंको ज्ञानेश्वरका स्थायी बासिन्दा शाक्य बुद्ध धर्मालम्बी मात्र थिएनन्, प्रजातनन्त्रको पक्षमा संघर्ष गर्दा गर्दै १६ वर्षसम्म जेल जीवन बिताउने थोरै राजनीतिज्ञमध्ये उनी एक हुन्। १७ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय शाक्यले २०१४ सालको सत्याग्रह आन्दोलनबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए।

२०१७ साल पुस एक गते तत्कालीन राजा महेन्द्रले बहुदलीय प्रजातन्त्रको अन्त्य गरी निरंकुश पञ्चायति व्यवस्थाबहाली गरेको विरोधमा उत्रने पहिलो व्यक्तिको रुपमा मार्शल जुलुम शाक्यको नाम आउँछ। उनले पुस २ गते बिहान वसन्तपुरबाट एउटा जिप भाडामा लिएर माइकिङ गर्दै पञ्चायति व्यवस्थाको विरोधमा एक्लै नारा घन्काएर खिचापोखरी हुँदै नयाँ सडक (अहिलेको न्युरोड) आइपुगेका शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएर ६ महिनासम्म जेल हालेको थियो।

जेलबाट छुटेको केही समयपछि नै २०१८ सालमा दयानन्द वैद्यले सञ्चालन गरेको जनसेवा सिनेमा हल (जहाँ अहिले विसालबजार छ) मा आगलागी भएको घटनामा संलग्न भएको आरोपमा ६ वर्षसम्म जेल हालिएको थियो। 

२०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका शाक्य नेविसंघका संस्थापक पनि हुन्। नेविसंघको पहिलो महाधिवेशनमा विपिन कोइरालासँग अध्यक्ष पदमा पराजित भएका थिए। २०३३ सालमा पक्राउ परेका शाक्यलाई नख्खु जेलमा भीमबहादुर तमाङ (स्वर्गीय), पुरुषोत्तम बस्नेतसँगै राखिएको थियो। तीनै जनालाई २०३४ सालको अन्त्यतिर जेलमुक्त गरेपछि आफूहरु पनि जेलमुक्त हुने आशा जागेको कुरा बिपी कोइरालाको आत्मवृत्तान्तमा पनि उल्लेख गरिएको छ।

२०४२ सालको सत्याग्रहमा काठमाडौंमा नेतृत्व गरेका शाक्यलाई रामराजाप्रसाद सिंहसँग उठबस गरेको भन्दै प्रहरीले पुन पक्राउ गरेको थियो। २०३६ सालमा जनमतसंग्रहमा बहुदल प्रचार समितिमा सक्रिय थिए। २०४६ सालमा जनआन्दोलन सञ्‍चालन समिति उपत्यकाको नेतृत्वमा रहेका शाक्य २०४७ सालमा गठित कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा खाद्य तथा कृषि र भौतिक निर्माण तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। २०४८ सालमा उनी ललितपुरबाट प्रतिनिधिसभा निर्वाचनमा सिद्धिलाल सिंहसँग पराजित भएका थिए।

२०४० सालदेखि करिब एक दशकसम्म काठमाडौं कांग्रेसको सभापतिको जिम्मेवारी सम्हालेका थिए। लौहपुरुष गणेशमान सिंहले भट्टराई नेतृत्वको सरकारमा केही मन्त्री गह्नाउन थाले भनेर शाक्यप्रति व्यङ्ग्य गरेपछि शाक्य काठमाडौंको राजनीतिबाट पाखा लागेका थिए। 

पटक-पटक गरी केन्द्रीय कार्यसमिति सदस्यमा चुनाव लडे पनि उनी पराजित हुँदै आएका थिए। गत फागुन २० गते मस्तिष्कघात भएपछि ग्राण्डी अस्पताल भर्ना भएका शाक्यको गत चैत ४ गते पुन: अस्पतालमा भर्ना गरी मुटुको शल्यक्रिया गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.