|

काठमाडौं : 'ल आयो आयो आयो उपन्यास 'हरिबहादुर', हरिबहादुरले लेख्नुभएको, हरिबहादुरले बेच्न ल्याउनुभएको उपन्यास 'हरिबहादुर', मुल्य जम्मा ३ लाख ९८ हजार पैसा मात्रै, आज किने विशेष छुट। मूल्य ३ लाख २० हजार पैसा मात्रै। आयो आयो आयो नेपालमा वर्ल्ड फेमस भैसकेको उपन्यास हरिबहादुर...।'

शनिबार दिउँसो कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको डबलीमा 'हरिबहादुर' पात्रको चित्र भएको होर्डिङ बोर्ड पछाडिबाट निरन्तर यस्तै आवाज आइरह्यो। 'हरिबहादुर' महजोडीको चर्चित टेलिभिजन कार्यक्रम (हाँस्यशृंखला) 'मदनबहादुर-हरिबहादुर' को एक पात्र हो। यस पात्रको भूमिकामा हरिवंशले अभिनय गरेका थिए।

हरिबहादुरलाई टेलिभिजनमा हेर्नेहरुले शनिबार प्रत्यक्ष रुपमा 'हरिबहादुर' हेर्न पुगेका थिए। हाँस्यरस भरिएको कार्यक्रममा उपस्थित दर्शकहरुले पेट मिचिमिचि हाँस्न र ताली पिट्न भ्याए। एकैछिनमा भित्रबाट हरिबहादुर हातमा किताब लिएर आए। उनले होर्डिङ बोर्डमा भएको चित्रतिर हेर्दै दर्शकलाई हँसाए।

त्यसपछि पत्रकारको उपस्थिति भयो। ऋषि धमलाको जस्तो स्वर बनाएर पत्रकारले 'हरिबहादुर' बनेका हरिवंश आचार्यलाई विभिन्न प्रश्न गरे। दुबैका प्रस्तुतीले दर्शकमा हाँसोको खित्का छुट्यो। हरिबहादुर बनेका हरिवंशले ताली पनि उत्तिकै पाए।

कलाकार हरिवंश आचार्यले लेखेको उपन्यास 'हरिबहादुर' विमोचनको दृश्य थियो त्यो। हाँस्य कलाकार आचार्यले विमोचनको सुरुवात नै हँसाएर गरे।

कलाकारिता र साहित्य लेखनलाई एकसाथ अघि बढाइरहेका हरिवंश आचार्यको उपन्यास 'हरिबहादुर'को विमोचन 'मह जोडी' अर्थात् लामो समयदेखि कलाकारितामा जमेको जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे।

उपन्यास विमोचन गरेपछि मदनकृष्णले हरिवंश आफ्नो सम्पूर्ण भएको बताए। उनले भने, 'हरिवंश मेरो आफ्नो मान्छे हो, भाइ हो, सम्पूर्ण हो।' उनले आचार्यले साहित्य लेखनमा राम्रो गरिरहेको र आफ्नो पनि आउँदो दशैंसम्म पुस्तक निकाल्ने तयारी भइरहेको जानकारी दिए।

लेखक बुद्धिसागरले हरिवंशको उपन्यासमा हाँस्यरस रहेको बताए। उनले भने, 'नेपाली साहित्यमा हास्यरस भएको उपन्यासको खाँचो थियो त्यो 'हरिबहादुर'  पूरा गरिदिएको छ। यो उपन्यासमा दुख पनि हाँस्यरस मिसाएर व्यक्त गरिएको छ।'

कलाकार एवं लेखक हरिवंश आचार्यले पहिलो पुस्तक 'चिना हराएको मान्छे' आत्मकथा भएकोले धेरै कुरा लेख्न नमिलेको र त्यसमा अटाउन नसकेका थुप्रै कुरा उपन्यासमा लेखिएको बताए। उनले उपन्यासमा एक चतुर पात्रको कथा रहेको बताए।

उनले भने, 'आत्मकथा 'चिना हराएको मान्छे'मा लेख्न नमिलेका कुराहरू थिए यसमा हालेको छु। किताब लेख्दाखेरि एसएलसी परीक्षा दिएको जस्तो भयो। धेरै नयाँ कुराहरू लेखेको छु।' २६१ पृष्ठको यो उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.