|

विराटनगर : नेपालकै जेठो उद्योग वाणिज्य संघ मोरङ व्यापार संघको नयाँ नेतृत्वको लागि आइतबार मतदान भइरहेको छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान २ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।

सांसद तथा हालका व्यापार संघका अध्यक्ष पवनकुमार सारडा तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको छुट्टा–छुट्टै प्यानल चुनावी मैदानमा छ। संघको विधान अनुसार १९ सदस्य निर्वाचित भएपछि उनीहरुमध्येबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव निर्वाचित हुनेछन्। २ सदस्य भने नयाँ कार्यसमितिले मनोनयन गर्नेछ।

यसअघि राउतलाई अध्यक्ष र मुन्दडालाई महासचिव बनाउने सहमति संघका पूर्वअध्यक्षहरुलाई साक्षी राखेर भएकोमा वर्तमान अध्यक्ष सारडाकै कारण त्यो भङ्ग हुन पुगेको राउत पक्षको आरोप लागेको छ। ‘व्यापारीको हित भन्दा व्यक्तिगत स्वार्थले यस्तो अवस्था आएको हो,’ उद्योगी राकेश सुरानाले भने, ‘राजनीतिक पार्टीलाई गाली गर्ने हामीले अझै नराम्रो राजनीति गरेको देखियो।’

विगतमा भने निर्वाचन भन्दा सहमतिबाटै नयाँ नेतृत्व चयन हुँदै आएको थियो। दुई जनाबीच सहमति नबनेको भन्दै सारडाले पुनः अध्यक्ष दोहोर्‍याउने इच्छासहित उम्मेदवारी दिएका हुन्। संघको नयाँ नेतृत्व चयनका लागि ३० जनाको उम्मेद्वारी परेको छ। १ हजार ७ सय ५१ मतदाता रहेको व्यापार संघ मोरङमा दुवै समूहले आफूहरु बलियो भएको दाबी गर्दै आएका छन्।

मतदान प्रक्रियामा विवाद

मोरङ व्यापार संघको कार्यालयमै भएको निर्वाचन प्रक्रियामा मतदाताले नागरिकता या सवारी चालक अनुमति पत्रको फोटोकपी दिए मतदान गर्न दिने निर्वाचन कार्यविधि भएपनि सक्कली नै ल्याउनुपर्ने सारडा पक्षले माग गरेपछि विवाद सिर्जना भएको छ।

सारडा पक्षका नवीन रिजालले फोटोकपी देखाउने मतदातालाई ‘भारतमा जस्तो हो? भन्ने प्रश्न गरेपछिविवाद सिर्जना भएको एक व्यापारीले बताए। होहल्लाका कारण केही बेर मतदानस्थल प्रभावित भएको थियो। २० मिनेटपछि उक्त हो हल्ला र अवरोध सुरक्षाकर्मी लगाएर हटाइएको थियो।

मोरङ व्यापार संघमा चरम गुटबन्दी

मोरङ व्यापार संघमा पवन सारडालाई अध्यक्ष बनाउँदा भएको भद्र सहमति र १० महिना अगाडि भएको प्रोक्सी मतको विवादमा भएको दुवै सहमतिको उल्लंघन भएको भन्दै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन्।

दुवै पक्षबीच हाल आएर विवाद हुँदा मोरङ व्यापार संघमा चरम गुटबन्दी देखिएको छ भने जातका आधारमा नेतृत्व चयन हुने कसरत बढेको छ। पूर्व अध्यक्षहरुलाई साक्षी राखेर गरिएको भद्र सहमति उल्लंघन भएपछि अबको व्यापार संघको भविष्य धरासायी हुने आशंका गर्न थालिएको छ। सहमति उल्लंघनको विषयमा दुवै पक्षले आ–आफ्नो बचाउ गरेका छन्।

संघका वर्तमान अध्यक्ष सारडाले भद्र सहमतिको वकालत गर्नेहरुकै कारण अहिलेको अवस्था आएको दाबी गरे। 'सहमति भद्र भयो पालना अभद्र भयो,’ सारडाले राउत पक्षतर्फ इंगित गर्दै भने, ‘तल्लो तहबाटै सहमति पालना हुने भन्दा सहमतिलाई तोड्ने र आफू अनुकूल व्याख्या गर्ने काम भयो।’

सारडाले आफू अन्तिम अवस्थामा नाम फिर्ता लिनपनि सक्ने समय रहेको बताए पनि चुनाव हुने कुरा अस्वीकार गरेनन्। ‘सहमतिको प्रयास अझै जारी छ,’ सारडाले भने, ‘अन्तिममा सहमति हुने कुरालाई इन्कार गर्न सकिँदैन, तर निर्वाचन हुने पूर्ण सम्भावना पनि छ।’

अध्यक्षको दाबी गरिरहेका राजेन्द्र राउतले सारडा पक्षले पूर्व अध्यक्षहरुसँग बसेर गरेको सहमति उल्लंघन गरेको बताए। उनले पदमा बसेर संघको मर्यादा कायम गर्न नसक्ने, नेतृत्वमा बसेर सबै सदस्यहरुलाई मिलाएर लानुको सट्टा भिडाउने र पुनः आफू अगाडि आउने सारडाको कदम संस्थाका लागि घातक भएको बताए। ‘जुनबेला पवन सारडालाई अध्यक्ष बनाउने सहमति भएको थियो, त्यति बेलै अर्को पटक बरिष्ठ उपाध्यक्ष (म) लाई अध्यक्ष र महासचिव (प्रकाश मुन्दडा) लाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको थियो,’ राउतले भने, ‘उक्त सहमतिमा हामी प्रतिबद्ध र इमान्दार हुँदा हुँदै प्रि–प्लान बनाएर अगाडि आउनु संस्थागत मर्यादाको गम्भीर उल्लंघन हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.