|

काठमाडौँ: नेपाली कांग्रेसको तर्फबाट राजुराज जोशीले बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा काठमाडौँ महानगरपालिका प्रमुखको पदमा उम्मेदवारी दिएका छन्। स्थानीय तह निर्वाचनमा देशको राजधानी रहेको महानगरको नेतृत्वका लागि जनमतका लागि घरदैलो कार्यक्रम र पार्टी सदस्य परिचालन गरिरहेका छन्। चुनावी प्रचार प्रसार र एजेण्डाबारे जोशीसँग रेडियो थाहासञ्चारका लागि बोमलाल गिरीले गरेको कुराकानी:

चुनावी मैदानमा हुनुहुन्छ, चुनावको प्रचार प्रचार कसरी गर्दै हुनुहुन्छ?

समय कम भइरहेको छ। अब वडाका साथीहरू जनताको घरघरमा गइरहनुभएको छ। थोरै समय छ तर हरेक वडामा पुग्नुपर्छ। हामी लागिरहेका छौँ। 

२८ गतेबाट त प्रचार प्रचार गर्न पनि नपाइने होला नि!

२९ र ३० गते प्रचार गर्न पाइँदैन।

कस्तो देख्नुभएको छ चुनावी माहोल मतदाताको घरदैलोमा?

 राम्रो देखेको छु। जहाँ जान्छु ३/४ सय मान्छे हुन्छन्। ३/४ सय मानिससित हिँडिरहेको छु- बाजागाजासहित। 

के भनेर भोट माग्दै हुनुहुन्छ?

एउटा त हाम्रो पार्टीको इतिहास छ। हामीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिका र संविधान निर्माणमा खेलेको भूमिका छ। अर्को मेरो घोषणापत्र छ। मैले केके गर्छु भनेर मतदातामाझ भनिरहेको छु।

तपाईंले घोषणापत्रमा तपाईंले उठाएका कुराहरू केके हुन्?

मैले काठमाडौँको धूलो सफा गर्ने कुरा प्रमुखताका साथ उठाएको छु। पाँच वर्षभित्रमा ट्राफिक जाम हटाउनको लागि मेट्रो र फ्लाइ ओभर बनाउँछु। स्कुलहरूलाई एकीकृत गरेर स्कुल गुणस्तरीय बनाउँछु। निजी बोर्डिङसरहका बनाउँछु। ३२ वटा वडामा सार्वजनिक र सरकारी जग्गामा पार्क बनाउँछु। बागमती र विष्णुमती किनारामा बिरुवाहरू रोप्छु। सडकका पेटीहरूमा पनि रूख रोप्छु- जति सक्छु त्यति।  यससँगै मेरा ८/१० वटा योजनाहरू छन्।

ट्राफिक जाम र धूलो हटाउन पाँच वर्ष लाग्ला र?

ट्राफिक जामले सबै ठाउँमा समस्या छ। अलिअलि पैसा भएपछि मानिसले गाडी किनिहाल्छन्। गाडी किन्दा त ट्राफिक जाम भइहाल्छ। ३/४ वर्षअगाडि ठूलो बनाएको बाटो बिग्रिसक्यो। बाटो फराकिलो बनाउँदा मुआब्जा दिएर मात्र गर्नुपर्छ। मेट्रो बनाउन त पाँच वर्ष लागिहाल्छ। मेट्रो आएपछि ट्राफिक जाम आफैँ कम हुन्छ। 

ट्राफिक जाम हटाउने तपाईंका योजना केके छन्?

जहाँ टर्निङ छ, त्यहाँ त्यहाँ फ्लाइ ओभर बनाउने हो। मेट्रोको काम गर्ने हो। धनी मानिसले गाडी किन्छन्। गाडी किन्ने त मानिसको शोख हुन्छ। हामी प्रजातन्त्रमा विश्वास गर्नेहरूले गाडी नकिन्नुस् भन्न सक्दैनौँ। त्यसैले हामीले मेट्रो बनाउनै पर्छ। 

तपाईं महानगरपालिकाको प्रमुख भइसकेपछि तत्काल तपाईंले गर्ने काम केके हुन्?

सुरुमा गर्ने काम भनेको काष्ठमण्डप निर्माण हो। त्यस्तो ऐतिहासिक धरोहर बनाउन सकेको छैन। यो बनाउनु छ। काठमाडौँका जनता रोगी भइसके। पहिला धूलो हटाउने काम गर्छु। मेट्रोको लागि पनि तुरुन्त काम सुरु नगरी भ्याइँदैन। त्यस्तै अब काष्ठमण्डप, स्वयम्भु बनाउनु छ। २० वर्षदेखि चुनाव भएको छैन। लथालिङ्ग छ। फेरि नयाँ ठाउँ छ। नयाँ अधिकारहरू पाएको छ। त्यसैले अधिकारहरूलाई त्यहाँबाट कार्यान्वयन गर्नुपर्छ। त्यहाँ ल्याउनुपर्छ। अफिसहरू स्थापना गर्नुपर्छ। अहिलेसम्म अफिसहरू छैनन्। २२ वटा जुन अधिकार आएको छ स्थानीय तहमा, त्यसमा मालपोत कार्यालयदेखि शिक्षा, यातायातदेखि सबैको छ।

चुनावलाई लिएर जनतामा उत्साह छ। साथीहरू पनि बहुमत लिएर आउँछौँ भनिरहेका छन्। एकदम उत्साह र उमंगका साथ साथीहरू पनि काम गर्नुपर्छ भनिरहनुभएको छ। त्यसैले काम त हामीले शपथग्रहण गरेको भोलिपल्टबाटै सुरु गर्छौं। काठमाडौँका जनतालाई पहिले धूलोबाट मुक्ति दिनुपर्नेछ।

मतदातामा सबैभन्दा पहिले तपाईंहरू आएपछि के भइदियोस् भन्ने चाहना रहेछ, के पाउनुभयो?

मतदाताहरूले त अब राम्रोसँग भ्रष्टाचार उन्मूलन गर्नुस्, राम्रोसँग काम गर्नुस्, पानी र बत्तीको पहिलेको जस्तो समस्या नभए पनि कहीँ कतै पानीको समस्या भएका गुनासा आएका छन्। ढलको समस्या छ। त्यस्तै सडक पिच गर्नु छ। पाँच वर्षभित्र चरणबद्ध रूपमा इन्टरनेट फ्रि गर्छु भनेको छु।

राजनीतिक तहमा पनि केही धुव्रीकरणका संकेतहरू देखिएका छन्। तपाईंहरूको त्यस्तो केही भइरहेको छ?

 खै, त्यस्तो जानाकारी छैन मलाई। म त चुनावमा व्यस्त भएको छु। मैले त अहिले पत्रपत्रिका पढ्नै पाएको छैन।

जित्ने आधार कत्तिको देख्नुभएको छ?

पहिलेको चुनावमा ५० हजार भोट बढी थियो। अहिले पनि योभन्दा बढी हुन्छ, कम हुँदैन। किनभने उतातिर महिलाको उम्मेदवार पनि छैन। फेरि दक्षिणपन्थी-वामपन्थी गठबन्धन छ। राजावादीले गणतन्त्रवादीलाई कसरी भोट हाल्छ? गणतन्त्रवादीले राजावादीलाई कसरी भोट हाल्छ? राजावादीले गणतन्त्रवादीलाई कसरी भोट हाल्छ? जस्तो लाग्छ मलाई।

भनेको यो गठबन्धन नबन्दा नै तपाईंहरूलाई फाइदा हुने होला, हो?

गठबन्धन बनेर नबनेर हामीलाई खासै फरक पर्दैन। किन भन्नुहुन्छ भने गठबन्धन तल्लो स्तरमा छैन, माथि मात्र छ। मैले अघि भने नि एउटाले धर्मलाई अफिम भन्छ, अर्कोले हिन्दु राष्ट्र नभई हुँदैन भन्छ। त्यो भोट एकअर्कालाई खल्तीको नोट होइन नि ठ्याक्कै हाल्नलाई।

माओवादी केन्द्र र नेपाली कांग्रेसको बीचमा तालमेलको कुरा केही छ कि? 

 काठमाडौँमा हाम्रो तालमेल भएको छैन। मलाई केही खबर आएको छैन। पार्टीले के गरिरहेको छ, मलाई थाहा भएन त्यो कुरामा।

एउटा कुरा भन्दिनुस् न एकदम इमान्दारीको साथ, तपाईंले देखेको तपाईंबाहेकको महानगरपालिकाको प्रमुखमा योग्य उम्मेदवार को हो? 

मभन्दा योग्य उम्मेदवार नै देख्दिनँ मैले। मेरो राजनीतिमा ३९ वर्षको लगानी र अनुभव छ। मैले एमए पढेको छु। म इन्टरनेशनल युनियन अफिसको भाइस प्रेसिडेन्ट भएँ। मभन्दा योग्य उम्मेदवार को छ र? 

तपाईंको पृष्ठभूमि के हो?

३९ वर्ष भयो राजनीतिमा लागेको। ०३५ सालमा पब्लिक युथ कलेज पढ्दादेखि मैलै नेविसघंबाट राजनीति सुरु गरेको हो। जेल गएको छु म। म एक पटक सत्याग्रहबाट एक वर्षजति जेल बसेको छु। म ३०/ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍४० पटक विभिन्न चौकीमा जेल बसेको छु। म जिल्लाको सचिव भएर आइसकेँ। मभन्दा सक्षम उम्मेदवार को देख्नुभएको छ?

तपाईंको नजरबाट अरू कसैलाई सक्षम देख्नुहुन्छ?

बच्चाहरूलाई पनि म सक्षम देख्दिनँ। रिटायर्डलाई पनि सक्षम देख्दिनँ। मेरा प्रतिस्पर्धीहरूलाई सक्षमै देख्दिनँ। मै सक्षम छु। यो त राजनीति गर्ने मान्छेको फिल्ड हो। रिटायर्ड भएर आउने या जोक्स गर्न आउने या एनजीओ चलाउने ठाउँ त होइन। यो त राजनीति गर्ने ठाउँ हो। यहाँ राजनीतिक प्रतिस्पर्धा हुन्छ।

मैले लामो समय राजनीति गरेको छु, जेल बसेको छु, सत्याग्रह गरेको छु भनेको त पुरानै मान्यता भएन र?

कुनै पनि योग्यतामा कमी छैन ममा। राजनीति गर्नलाई राजनीतिक व्यक्ति नै चाहिन्छ- म वा जोसुकै होस्। डाक्टरले इन्जिनियरको काम गर्ने होइन, इन्जिनियरले डाक्टरको काम गर्‍यो भने बर्बाद हुँदैन?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.