|

काठमाडौं: नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको दौडमा छन् विद्यासुन्दर शाक्यराप्रपासँगको गठबन्धनको नेतृत्व गरेर चुनावी मैदानमा रहेका शाक्यले राष्ट्रियता र काठमाडौँको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनदेखि धूलो नियन्त्रणका एजेण्डा लिएर मतदातासँग भोट मागिरहेका छन्। चुनावी प्रचार प्रसारमा रहेका शाक्यसँग थाहासञ्चारका लागि बोमलाल गिरीले गरेको कुराकानी:

चुनावी मैदानमा हुनुहुन्छ, प्रचार प्रचार गर्ने समय पनि कम छ, निकै व्यस्त हुनुहुन्छ होला होइन?

 समय थोरै छ, गर्नुपर्ने काम धेरै छन्। भेट्नुपर्ने मतदाता धेरै छन्। त्यसैमा लागिरहेको छु।

 कसरी भोट माग्दै हुनुहुन्छ? कसरी प्रचार प्रसार गर्दै हुनुहुन्छ?

चुनावी सभा, घरदैलो र तपाईंहरू जस्तै मिडियामार्फत् मतदाताको बीचमा पुग्ने कोसिस गर्दै छु।

कुन एजेण्डामा भोट मागिरहनुभएको छ?

एउटा राष्ट्रियताको सवालमा नेपाल जस्तो अब्बल अरू देश छैन। अहिलेको सन्दर्भमा राष्ट्रिय एजेण्डामा एमाले मात्र एक्लो पार्टी बनेको छ। नेपालीको स्वाभिमानको लागि लड्ने पार्टी भनेर चिनिएको छ। एउटा त्यो अर्थमा हामीले भोट माग्दै छौँ। अर्को, महानगरलाई साँच्चिकै महानगरपालिका बनाउने। एउटा सुन्दर, सुरक्षित, समृद्ध र जीवन्त महानगर बनाउने पार्टी नेकपा एमाले मात्र हो। त्यसको लागि भोट दिनुस् भनेर हामी लागिरहेका छौँ।

त्यसका लागि के छन् त तपाईंका योजना?

योजना थुप्रै छन्। हामीले महानगरभित्र देखिएका थुप्रै समस्यामध्ये अहिले केही जल्दाबल्दा समस्याहरू, जस्तै: ट्राफिक व्यवस्थापनका समस्या छन्। त्यो हामी सम्बोधन गर्छौं। त्यसको लागि, जस्तै: अब मास र्‍यापिड ट्रान्सपोर्टको हामी विकास गर्छौं। त्यो सिस्टमको हामी विकास गर्छौं। बस र्‍यापिड सिस्टमको विकास गर्छौं। सँगसँगै ठूलाठूला सिटी बसहरूको हामी व्यवस्था गर्छौं।

यसरी हामीले राहत दिन्छौं भने अर्कोतर्फ स्मार्ट पार्किङ सिस्टम, डिजिटल भर्टिकल पार्किङ सिस्टमको विकास गरेर धेरै हदसम्म सडक जाम हुने र सडकमा पार्किङ गर्ने व्यवस्थालाई हामीले व्यवस्थापन गर्छौं। यी प्रशासनिक संयन्त्रलाई व्यवस्थित गर्छौं र पारदर्शी गर्छौं। फोहोर मैलाको सम्बन्धमा भन्ने हो भने अहिले जे जति महानगरपालिकाले  गरिरहेको छ, त्यसको व्यवस्थापनलाई अझ सुदृढ गर्छौं र सडक सफा गर्नको लागि ब्रुमरमार्फत् अहिले पहलो चरणमा ठूलाठूला सडक सफा गराउने ताकि धूलो, धूवाँबाट धेरै हदसम्म महानगरबासीलाई राहत दिन सकियोस्।

खोलानालालाई हामी सफा गर्छौं। खोलानालामा अहिले सिधै ढल पठाउने गरिन्छ। त्यसलाई हामी निषेध गर्छौं। त्यसको लागि अलग्गै व्यवस्था गर्छौं। खोला वरपरका किनाराहरूलाई हरित पेटीको रूपमा विकास गर्छौं। ग्रिनरी मेन्टेन हुने गरी फन पार्कहरूको निर्माण गर्छौं। युवाहरूको लागि स्मार्ट युथ पार्कको व्यवस्था गर्छौं र युवाहरूलाई अझ व्यवसायतर्फ उन्मुख हुन व्यावसायिक तालिमहरूको व्यवस्थाप गर्छौं। युवाहरूलाई समाज सेवामा लगाउनको लागि विद्यालय, कलेजस्तरदेखि नै प्रोत्साहित गर्नेछौँ। भोलि व्यावसायिक रूपमा अगाडि बढ्न सजिलो बनाउने कार्यक्रम हामी अगाडि सार्छौं।

कार्यक्रम त निकै राम्रा छन्, कति कार्यान्वयन हुने हुन्, कति नहुने हुन्?

पूरा गर्न सकिन्छ। त्यसको लागि अलग र अतिरिक्त आय स्रोतहरूको पनि आवश्यकता पर्दैन। महानगरको आय स्रोतले पुग्छ। जुन दरले महानगरले अहिले कर लगाइरहेको छ, त्यसैलाई मात्र हामीले व्यवस्थित गर्ने। करको दर नबढाईकन करको दायरा मात्र बढाउन सकियो भने यो काम गर्न सक्छौँ। 

भोट माग्दाखेरी माठमाडौँ महानगरपालिकाको प्रमुखलाई मात्र माग्नुभएको छ वा उपप्रमुखलाई पनि?

हामीले १९ गतेअगाडिसम्म सात सूर्य सात भोट माग्दै हिँडेका थियौँ। अहिले १९ गतेपछि उपमेयरमा राप्रपालाई बाँकी छवटामा एमालेका उम्मेदवारलाई भोट दिनुस् भनेर मागिरहेका छौं।

गाईलाई भोट माग्दा कत्तिको गाह्रो हुँदोरहेछ?

गाह्रोभन्दा अप्ठ्यारो परेको छ। पहिला हामी 'सात सूर्य सात छाप' भनेर पटक पटक जनताको बीचमा गइसकेका थियौँ। फेरि दोहोर्‍याएर जाँदा 'त्यस्तो होइन, एउटा भोट राप्रपालाई दिऊँ' भनेर जानुपरेको स्थिति छ। त्यो अन्योल मात्र हो। हामी स्पष्ट छौँ। पार्टीको निर्देशन हामीले पालना गर्छौं। 

भोट माग्दाखेरी पार्टीको सिद्धान्त र दर्शनलाई बिर्सनुहुन्छ होला है?

स्वाभाविकै हो, पार्टीको आफ्नै सिद्धान्त छ। आफ्नै नीति छ। आफ्नै विचार छ। अहिले सहकार्य मात्र हो। राप्रपाको आफ्नै विचार छ, सिद्धान्त छ। एमालेको आफ्नै सिद्धान्त छ। यो चुनावी तालमेल मात्र हो। हिजोसम्म त्यही राप्रपा सरकारमा रहँदा माओवादी-कांग्रेसलाई त्यही ठीक, अहिले एमाले र राप्रपा चुनावी तालमेल गर्दा बेठीक भन्न त अप्ठ्यारो हुन्छ। 

तपाईंको नजरमा आफू योग्य नै हुनुहुन्छ होला, तपाईंपछि तपाईंले देखेको काठमाडौँ महानगर प्रमुखको योग्य उम्मेदवार को हो?

व्यक्तिगत रूपमा कसैलाई केही टीकाटिप्णी गर्नु छैन। पार्टीगत रूपमा प्रगति गर्ने पार्टी भनेको कांग्रेस नै हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.