|

विराटनगर : निजी क्षेत्रको नेपालकै जेठो मोरङ व्यापार संघको नयाँ नेतृत्वको लागि आइतबार मतदान भएको छ। दिनभरी मतदात भएपछि रातिदेखि मतगणना गरिने व्यापार संघको निर्वाचन समितिले जनाएको छ।

संघको ३१ औं कार्यकारिणी समितिको नेतृत्व चयन गर्न संघका प्रतिनिधि चुनावी प्रक्रियामा सामेल भएका हुन्। चुनावमा १ हजार ७ सय ४३ जना मतदाता रहेकोमा १ हजार ६ सय ६७ जनाले मतदान गरेका छन्। जसमध्ये उद्योगतर्फका ६ सय ४४ मध्ये ६ सय २९ तथा वाणिज्य तर्फ १ हजार ८९ जनामा १ हजार २८ जनाले भोट खसालेका छन्। वस्तुगततर्फ १० मतदाता रहेकोमा १० जनाले नै मतदान गरेको निर्वाचन समितिले जनाएको छ।

सांसद तथा हालका व्यापार संघका अध्यक्ष पवनकुमार सारडा तथा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको छुट्टा–छुट्टै प्यानल चुनावी मैदानमा छ। संघको विधान अनुसार निर्वाचनबाट १९ सदस्य निर्वाचित भएपछि उनीहरुमध्येबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव निर्वाचित हुनेछन् भने २ सदस्य नयाँ कार्यसमितिले मनोनयन गर्नेछ।

संघमा यसअघि राउतलाई अध्यक्ष र हालका महासचिव प्रकाश मुन्दडालाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति संघका पूर्वअध्यक्षहरुलाई साक्षी राखेर भएको थियो। अध्यक्ष सारडाले पदलोलुपता देखाएको कारण सहमति भङ्ग भई संघको इतिहासमै पहिलो पटक निर्वाचन भएको हो।

व्यापारीको हितभन्दा व्यक्तिगत स्वार्थले यस्तो अवस्था आएको उद्योगी राकेश सुरानाले बताए। दलहरुलाई गाली गर्ने व्यवसायीहरु नै गुटबन्दीमा लाग्नु विडम्बना भएको उनको भनाइ छ। संघको नयाँ नेतृत्व चयनका लागि ३० जनाको उम्मेदवारी परेको छ। १ हजार ७ सय ५१ मतदाता रहेको व्यापार संघ मोरङमा दुवै समूहले आफूहरु बलियो भएको दाबी गर्दै आएका छन्।

व्यापार संघको कार्यालयमै भएको निर्वाचन प्रक्रियामा सारडा पक्षका नविन रिजालको कारण केही समय विवाद भएको थियो। मतदाताले नागरिकता या सवारी चालक अनुमति पत्रको फोटोकपी देखाए मतदान गर्न पाउने कार्यबिधि रहेकोमा रिजालले विवाद झिकेपछि सुरक्षाकर्मीले शान्त पारेका थिए।

वस्तुगत तर्फ राउत प्यानलका विजयी

यसैबीच निर्वाचनको मतपरिणाम अनुसार वस्तुगत तर्फ राजन श्रेष्ठ र सुनिलकुमार बिड्ला निर्वाचित भएका छन्। श्रेष्ठले ८ र बिड्लाले ५ मत ल्याएर विजयी भएका हुन्। दुवै जना राउत प्यानलका हुन्। वस्तुगततर्फ १० जना मतदाता थिए। यस्तै ८ शाखामध्येको १ जनामा राउत प्यानलकै ओमप्रकाश श्रेष्ठ निर्वाचित भइसकेका छन्। श्रेष्ठ उद्योग वाणिज्य संघ लेटाङका अध्यक्ष हुन्। उद्योग र वाणिज्यतर्फको मतगणना अहिले जारी छ। राति १२ बजेसम्ममा सबै मत परिणाम आइसक्ने मोरङ व्यापार संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.