यस्ता छन् दुई वर्षे कार्ययोजना

|

काठमाडौँ: उत्पादनमा मापदण्ड पूरा गर्न नसकेको भन्दै बन्द एक सरकारी उद्योग बन्द भएको आठ वर्षपछि पुन: संचालनमा आएको छ। वि. सं. २०२९ मा स्थापना गरिएको तत्कालीन शाही औषधि लिमिटेड २०६६ सालसम्म आफ्नो स्थपनाकालीन मर्मअनुसार काम गर्न नसक्ने गरी थला परेकोमा आइतबारबाट पुन संचालन भएको छ।

२०६६ सालमा विश्‍व स्वास्थ्य संगठनले सिफारिस गरेको कुशल निर्माण विधिको मापदण्ड पूरा नभएको पाइएपछि यो सरकारी स्वामित्वको औषधि लिमिटेड नाम मात्रको भएको थियो। त्यहाँ कार्यरत कर्मचारीको तलब भार सरकारले ग्रहण गर्दै आएको अवस्थामा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने चर्चा पनि चल्यो।

२०७३ भदौमा उद्योग मन्त्रालयको जिम्मेवारी पाएका नवीन्द्रराज जोशीलाई शपथ ग्रहण नगर्दै औषधि लिमिटेडको जग्गा बेच्‍ने योजना बनाउनको लागि सुझाब आएको थियो।

औषधि लिमिटेडको त्यस्तो राम्रो ठाउँमा जग्गा छ, त्यसलाई मिलाएर बेच्नुपर्छ अरू केही पनि पीर नगरे हुन्छ

'तपाईंलाई अन्य मन्त्रालयको जिम्मेवारी भएको भए हुने भन्नेहरू धेरै थिए। एक जना भाइले दाइ राम्रो मन्त्रालय पाउनुभयो, औषधि लिमिटेडको त्यस्तो राम्रो ठाउँमा जग्गा छ, त्यसलाई मिलाएर बेच्नुपर्छ, अरू केही पनि पीर नगरे हुन्छ', आइतबार  औषधि उत्पादन पुन:सञ्चालनको कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले त्यो फोन कल सम्झिए। 'त्यही भाइको कारण मलाई औषधि उद्योग चलाइहाल्नुपर्छ भन्ने हतारो भएको हो। त्यो भाइलाई आज म धन्यवाद दिन चाहन्छु', मन्त्री जोशीले थपे।

जीवनजलबाट उद्योगको पुनर्जीवन

आठ वर्षदेखि बन्द सरकारी स्वामित्वको उद्योग औषधि लिमिटेडले जीवनजलको उत्पादन आइतबारबाट सुरु गरेको छ। आठ वर्षको अवधिमा उद्योग मन्त्रालयमा आउने हरेक मन्त्रीले औषधि लिमिटेड पुन: संचालन गर्ने योजना नसुनाउने पनि हैनन् तर कार्यान्वयन भने कसैले गर्न सकेनन्। तर आइतबारबाट जीवन जलको उत्पादन सुचारु गरेर औषधि लिमिटेडले पुनर्जीवन पाएको छ। जेठ पहिलो साताबाट सरकारी स्वामित्वको औषधि लिमिटेडले उत्पादन गरेको जोनजल वितरण सुरु हुनेछ।

उद्योग मन्त्रालय सम्हालेको एक साता पुग्दा जोशीले बन्द रहेका सात उद्योग खुलाउने तयारीका साथ औषधि उद्योग पनि सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए। असोज १० गते औषधि लिमटेडको निरीक्षण गर्दै मन्त्री जोशीले तीन महिना (पुस १०) भित्र आठ किसिमका औषधि उत्पादन गरिने बताएका थिए। तर उनले छ महिनापछि एउटा औषधिको उत्पादन सुरू गरेको जानकारी गराए।

'मसँग स्प्रिट थियो, त्यसैले गरिहालिन्छ भनेर तीन महिनामा संचालन गर्ने प्रतिवद्धता जनाएँ। तर अन्तर्राष्ट्रिय बोलपत्र, आवश्‍यक रक, जीएमपी मापदण्ड, महाप्रवन्धक नियुक्तिका काम गर्दा काम त ढिलै हुँदोरहेछ', जोशीले भने।

आठ किसिमका औषधि उत्पादन पहिलो चरणमा गर्ने बताइए तापनि आइतबार जीवनजल मात्रै उत्पादन गर्न लिमिटेड सफल भयो। '२७ भन्दा बढी प्रकारका अधुनिक प्रविधिले गुणस्तर जाँच गर्ने गरी जीवन जलको उत्पादन सुरु गरिएको छ', लिमिटेडका महाप्रवन्धक रोवश कुसुम सुवेदीले भने, 'तीन महिनामा सिटामोललगायत जीएमपी मापदण्ड प्रक्रिया पूरा गरी सिटामोललगायत ननपेन्किलर ट्याव्लेटहरू उत्पादन गरिनेछ।' उनले औषधि लिमिटेड संचालनमा आएसँगै निजी क्षेत्रको एकाधिकार तोडिएको समेत बताए।

यस्ता छन् दुई वर्षे कार्ययोजना

आफ्नै सक्रियतामा आठ वर्षपछि  एक (जीवनजल औषधि) उत्पादन गर्दै औषधि लिमिटेडको उत्पादन पुन: प्रारम्भ गर्दै गर्दा उद्योगमन्त्री नवीन्द्रराज जोशीले दुई वर्षे कार्ययोजना पनि सुनाए। 'मैले लिमिटेडका साथीहरूसँग अबका कामको विषयमा प्रतिवद्धता लिएको छु, हामीले मुख्य प्राथमिकतामा राखेअनुसारको काम उहाँहरूले २०७६ बैशाख १ सम्म पूरा गर्ने बताउनुभएको छ', जोशीले भने।

मन्त्री जोशीका अनुसार औषधि लिमिटेडले सरकारले नि:शुल्क उपलब्ध गराउने ७० किसिमका औषधि, निम्‍न वर्गीय जनताको जनजीवनमा अत्यावश्‍यक पर्ने औषधि, अत्यावश्‍यक भनिएका १७ किसिम र महँगो र नपाइनेखालका औषधि उत्पादन गर्ने लक्ष्य सरकारको रहेको छ। यी सबै किसिमका औषधि २०७६ बैशाख १ गतेभित्र औषधि लिमिटेडले उत्पादन गर्नेछ। उनले उद्योग चल्न सक्ने गरी बजार मूल्य भन्दा केही रकम कम र गुणस्तरमा कुनै कमी आउन नदिन आग्रह गरे।

मन्त्रीको प्रशंसा

औषधि लिमटेडले काम पाएसँगै आइतबार उद्योगमन्त्री नवीन्द्रराज जोशीको निकै प्रशंसा गरियो। प्रशंसा गर्ने अरू कोही नभई उद्योग मन्त्रालयका राज्यमन्त्री, सचिव तथा लिमिटेडका कर्मचारीहरू थिए। उद्योग राज्यमन्त्री कञ्चन वादे श्रेष्ठले सही नेतृत्वको परिणाम मन्त्रालयले पाएको बताए। 'आज हामीले जे गरिरहेका छौँ, त्यो सही नेतृत्वको परिणाम हो', वादेले भने। उनले औषधि लिमटेड पुन: संचालनमा आउनु जनताको लागि राहतको विषय भएको समेत बताए।

अहिले जनताको लागि  धेरै महँगो र अत्यावश्‍यक भनेको शिक्षा, स्वास्थ्य हो, यसमा राज्यको ध्यान पुग्न आवश्यक थियो

'अहिले जनताको लागि धेरै महँगो र अत्यावश्‍यक भनेको शिक्षा, स्वास्थ्य हो, यसमा राज्यको ध्यान पुग्न आवश्यक थियो, औषधि लिमिटेड सञ्चालनमा आएपछि जनतालाई निकै राहत पुग्नेछ, निजी क्षेत्रको एकाधिकार तोडिएको छ', वादेले भने।

उद्योग सचिव शंकरप्रासद कोइरालाले पनि जोशीकै कारण काम गर्न निकै सहज भएको बताए। 'म लामो समय गृह प्रशासनमा काम गरेको मान्छे, उद्योग मन्त्रालयमा आएको केही समयमै मैले अभिभावको रूपमा नविन्द्रराज जोशीलाई पाएँ', कोइरालाले भने, 'उहाँले योजना सुनाएपछि मैले सही नेतृत्व पाएको छु भन्ने अनुभव भएको छ।' उनले मन्त्रीको अथक मिहिनेतको कारणले औषधि लिमिटेड सञ्चालनमा आएको दाबी पनि गरे। नेपाल औषधि लिमिटेडका महाप्रवन्धक रोवश कुसुम सुवेदीले उद्योग मन्त्रालयले असल नेतृत्व पाउँदा लिमिटेड संचालनमा आएको बताए।

यसरी खुलेको थियो औषधि लिमिटेड
गुणस्तरीय एवं प्रभावकारी औषधि उत्पादन गरी सर्वसुलभ रूपमा देशभर उपलब्ध गराउने, औषधिमा परनिर्भरता घटाउने उद्देश्यले २०२९ सालमा तत्कालीन शाही औषधि लिमिटेडको नाममा कम्पनी स्थापना गरिएको हो। नेपाल सरकार, औद्योगिक विकास निगम युनिसेफ, युनिडो, जाइका र केडव्लुएफको सहयोगमा १५ करोड रुपैयाँ अधिकृत पुँजीमा लिमिटेड सञ्चालनमा आएको हो। यो पुँजीमध्ये औद्योगिक विकास निगमको ७ लाख रुपैयाँबाहेक सबै रकम सरकारको स्वामित्वमा रहेको छ। लिमिटेड बन्द हुनुअघि र बन्दपछि ९० करोड ३३ लाख २१ हजार ७३५ रुपैयाँ ऋण छ, जुन सरकारले बेहोरेको छ। वि. सं. २०६६ पछि औषधि लिमिटेडले औषधि उत्पादन गर्न सकेको थिएन। अहिले पनि लिमिटेडमा ९७ जना कर्मचारी रहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.