छोरा लिन काठमाडौं आउदै राउटे मुखिया

|

काठमाडौं : 

बस्तीबाहिर गएर उपचार गर्नु हुँदैन।

बाहिर कतै गएर खान हुँदैन।

अस्पताल त झन् जानै हुँदैन।

राउटे समुदायमा रहेकाे यिनै मान्यताका कारण कपिल शाही राउटे (२०) ले जलेर अन्तिम अवस्थामा पुग्दा पनि अस्पतालको मुख देख्न पाएनन्। २०७२ पुस ६ गते अछामको भैरवस्थानको जंगलमा बस्तीमै आगोले जलेका कपिल वैशाख ७ गते काठमाडौंस्थित वीर अस्पताल ल्याइपुर्‍याउँदा सिकिस्त थिए।

जंगली जडिबुटी घरेलु उपचार गरेर राखेका कपिललाई निको नभएपछि राउटे उत्थान प्रतिष्ठान लगायत अगुवाहरूले अस्पतालसम्म ल्याइपुर्‍याउन निकै मेहनत गर्नुपर्‍यो।

अस्पताल आउँदा गम्भीर रहेका कपिलको अवस्था बिस्तारै सुधार हुँदै गएको छ। दाहिने हात, छाती र पेटमा आगोले पोलेका कपिलको प्लाष्टिक सर्जरी गरी देब्रे तिघ्राको मासु  प्रत्यारोपण गरिएको छ।

राउटे अस्पताल जान हुँदैन भन्ने मान्यतामा अडिग राउटे समुदाय अन्ततः आफ्नो छोरालाई अस्पताल पठाउन बाध्य भए। अस्पतालसम्म ल्याइपुर्‍याउन निकै मेहनत गर्नुपरेको एमाले राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष तथा राउटेका भाञ्जी सत्यदेवी अधिकारीले बताइन्। 'राउटेहरू अस्पताल जान मान्दैनन्। त्यसैले अहिलेसम्म धेरैले उपचार नपाएर ज्यान पनि गुमाएका छन्', उनले भनिन्, '२०७२ सालमा जलेको कपिललाई अहिले बल्लबल्ल मनाएर अस्पताल ल्यायौं। यहाँ ल्याउँदासम्म त घाउमा किरा परिसकेका थिए।'

कपिल अस्पताल ल्याउँदा उनका आमाले छोरा 'मर्‍यो भने तिमी पनि मर्नुपर्छ' भन्ने चेतावनी दिएर पठाएकी थिइन्। अहिले कपिल ठिक हुँदा राउटेका भाञ्जी पनि खुसी छिन्। 'हामीले जसरी पनि लैजान्छौ भनेपछि कपिलकी आमाले छोरा मर्‍यो भने तिमी पनि मर्नुपर्छ भन्‍ने शर्तमा अस्पताल ल्याउन सहमति दिइन्।'

प्रचण्ड र ओली भेट्न आएनन्

वैशाख ७ गते राउटे कपिल वीर अस्पताल आइपुगेका हुन्। वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत कपिल अहिले राम्रो बोल्ने, कुरा गर्ने, हाँस्ने गर्न थालेका छन्।

लोपोन्मुख अल्पसंख्यक सबै जातिको उपचार खर्च नि:शुल्क गर्ने सरकारको व्यवस्थाअनुरूप कपिलको उपचार निःशुल्क रूपमा भइरहेको छ। राउटे युवालाई पहिलोपटक अस्पताल ल्याइयो भनेपछि उपराष्ट्रपति नन्दबहादुर पुन, स्वास्थ्यमन्त्री गगन थापा, अर्थमन्त्रीका सल्लाहकार पुण्यप्रसाद भेट्न आए।

आइतबार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भेटेर फर्किए। तर राउटे युवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नआएकोमा गुनासो छ।  

'मन्त्री आए। माधव नेपाल भेट्न आए। तर प्रचण्ड र ओली आएनन्', ट्रमा सेन्टरको वर्न तथा प्लाष्टिक सर्जरी वार्डमा उपचार गराइरहेका कपिलले भने।

छोरा लिन काठमाडौं आउँदै राउटे मुखिया

एम्बुलेन्सबाट काठमाडौं आएका कपिल राउटे मुखिया वीरबहादुर शाहीका छोरा हुन्। प्रकृति पूजक राउटे समुदायले हरेक १२/१२ वर्षमा विशेष पूजा गर्छन् मस्टो र भयर पूजा। उक्त पूजामा हरेक राउटे युवा पूजामा सहभागी हुनैपर्ने नियम छ। पूजामा सहभागी नभए मर्छन् भन्‍ने मान्यता छ। त्यसैले वैशाख महिनाभित्र गरिसक्ने पूजा कपिल बिरामी भएर अस्पतालमा भएका कारण अहिलेसम्म गरिएको छैन।

त्यसैले अस्पतालमा भर्ना भएका राउटे युवालाई राउटे बस्तीमा पुर्‍याइदिन राउटेले सरकारसँग आग्रह गरेका छन्। 'यो पूजा १२ वर्षमा एकचोटी गर्नैपर्ने पूजा हो। यही वैशाखमा गर्नुपर्ने पूजा कपिल अस्पतालमा भएकोले अहिलेसम्म हुन सकेको छैन',राउटे मुखियालाई उद्धृत गर्दै प्रतिस्ठानका अध्यक्ष अधिकारीले भनिन्, '१२ वर्षमा हुने पूजामा राउटेका सबै पुरुष बस्तीमा अनिवार्य उपस्थित हुनैपर्छ। त्यसैले विशेष व्यवस्था गरी कपिललाई वस्तीमा पुर्‍याइदिन आग्रह गर्छौ।'

राउटेहरू अहिले दैलेखको लकान्द्रा गाउँको जंगलमा वस्दै आएका छन्। ४० घरपरिवारका करिब १ सय ५० जना रहेको राउटे समुदायका हरेक पुरुष पूजामा हुनैपर्ने अनिवार्य व्यवस्था छ। वैशाख महिना पनि सकिन लागेकाले वैशाख ३० गतेभित्र बिरामी कपिल राउटे बस्तीम पुग्नैपर्ने हुन्छ। तर सरकारले उपचार खर्च मात्र बेहोरेका कारण कुरुवालाई खान बस्नको समस्या भएकाले बस्तीमा पुर्‍याउन समस्या भएको राउटेकी भाञ्जी अधिकारीले बताइन्।

'३० गतेसम्म पनि पूजा गर्ने टुङ्गो नभए राउटे जनता मर्ने भन्दै राउटेहरू अहिले चिन्तित छन्', उनले भनिन्, यो पूजा जनता मर्छन् भनेर मुखिया चिन्तित छन्।'

कपिलको उपचारमा हेरचाह प्रतिस्ठानका अध्यक्ष अधिकारी र प्रतिस्ठानका सदस्यहरूले गर्दै आएका छन्। पूजाका लागि मात्र बिरामीका परिवार लिनका लागि काठमाडौं आउन लागेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.