अल्पमतमा परेपनि आफै अध्यक्ष भएको यादवको दावी

|

काठमाडौं : मधेसकेन्द्रित दल मात्र रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समानान्तर शक्तिको रुपमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको पहलमा निर्माण गरिएको संघीय गठबन्धन विवादमा परेको छ।

फोरम अध्यक्ष एवम् संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धन र मोर्चाको निर्णय विपरीत संसदबाट संविधान संशोधन विधेयक पारित नहुँदै स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिएको भन्दै गठबन्धनले यादवलाई हटाएपछि विवाद चर्किएको हो। 

गठबन्धनमा आवद्ध बहुसंख्यक दल र जातीय मोर्चाले यादवलाई संयोजकबाट हटाएर नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई शनिबार गठबन्धनको संयोजक बनाउने निर्णय गरेको भोलिपल्टै आइतबार उपेन्द्र यादवले आफै गठबन्धनको संयोजक भएको दावी गरेपछि विवाद बाहिर आएको हो।

फोरम अध्यक्ष यादवले मोर्चाआवद्ध सात दलसहित अन्य आदिवासी जनजाति २९ दललाई समेटेर गठबन्धन बनाएका थिए। गठबन्धन निर्माण भएको एक वर्ष बितेसँगै हाल २२ दल मात्र छन्। २२ मध्येपनि ६ दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएसँगै मोर्चामा १७ दल छन्। यादवलाई संयोजकबाट हटाएर ठाकुरलाई अध्यक्ष मान्ने पक्षमा १२ दल देखिएका छन भने यादवको पक्षमा खुलेर चार दल मात्र देखिएका छन्।

ठाकुरलाई संयोजक मानेर १२ दलले राष्ट्रिय जनता पार्टी नेपालको कार्यालय बिजुलीबजारमा आइतबार बैठक समेत गरिसकेका छन्। बैठकमा उपेन्द्र यादव नेतृत्वको फोरमसहित चार दलका नेता उपस्थित भएनन्। तर राजपासहित १२ पार्टीका अध्यक्षको उपस्थितिमै आइतबार बैठक बसेको राजपा सचिवालय सदस्य नेता केशव झाले थाहाखबरलाई बताए।

ठाकुरलाई संयोजक मान्ने पक्षका दल 

राष्ट्रिय जनता पार्टी नेपाल (अध्यक्ष ठाकुर स्वयं), संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरगतको संघीय लिम्वुवान मञ्च नेपाल (अध्यक्ष, कुमार लिङदेन), सामाजिक लोकतान्त्रिक पार्टी (अध्यक्ष, कुमार राई), नेपाः राष्ट्रिय पार्टी (अध्यक्ष, सुवर्ण केशरी चित्रकार), आदिवासी जनजाति पार्टी नेपाल (अध्यक्ष, तमाङ वुद्धराज स्याङ्तान), संघीय लिम्बुवान पार्टी नेपाल (अध्यक्ष, सञ्जुहाङ पालुङवा), आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल (अध्यक्ष, नागेन्द्र राई), किराँत राज्य संघर्ष समिति (अध्यक्ष, दुर्गा राई), तामाङसालिन संयुक्त संघर्ष समिति (अध्यक्ष, तुलाराम तामाङ), नेवाः स्यायत्त प्रदेश मंका संघर्ष समिति (नरेश शंकर तम्राकार र पवित्र कसा), खसान राष्ट्रिय संघर्ष समिति (अध्यक्ष, प्रेमबहादुर खाती)।

यादवलाई संयोजक मान्ने पक्षका दल

शेर्पा स्वायत्त प्रदेश (संयोजक लाक्पा शेर्पा), मगराँत संघर्ष समिति (अध्यक्ष, रविना रोक्का मगर), तमुवान संघर्ष समिति (अध्यक्ष, हिम गुरुङ) र राष्ट्रिय शिल्पी आन्दोलन नेपाल (अध्यक्ष, दानबहादुर विक)।

तामाङसालिन संयुक्त संघर्ष समितिका अध्यक्ष तुलाराम तामाङ ठाकुरतिर छन भने उपाध्यक्ष मोहन गोले उपेन्द्र यादवतिर छन्। त्यस्तै , संघीय लिम्वुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन ठाकुरतिर छन भने उपाध्यक्ष रकम चेम्जोङ उपेन्द्रको पक्षमा उभिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.