|

सिन्धुली : गोलन्जोर गाउँपालिका–७ राताटारवासी चार वर्षदेखि लगातारका विपत्तिले उठ्नै नसक्ने गरी थलिएका छन्। वर्ष दिनअघिको आगलागीमा सखाप भएको बस्ती जेनतेन उठ्दै थियो, शक्तिशाली भूकम्पले फेरि उस्तै गरी ढालिदियो।

टहरामा गुजारा चलाइरहेका गाउँलेलाई स्थानीय तहको चुनावले खासै छुन सकेको देखिँदैन। विभिन्न दलका उम्मेदवार भोट माग्दै गाउँ–गाउँ पुगिरहेका छन्। उम्मेदवारलाई स्थानीय एउटै प्रश्न सोध्छन्, 'घर बनाउन दोस्रो किस्ता रकम कहिले दिने?'  

वर्ष दिनकै बीच दुई ठूला–ठूला विपत्तिले थलिएका उनीहरू आफ्नो गाउँलाई दशाले घरेको बताउँछन्। २०७० चैत २८ गते आगलागी हुँदा गाउँका २२ मध्ये १३ घर जलेर स्वाहा भए। ओत लाग्ने छानो त के, भाँडाकुँडा, लत्ताकपडा केही बचेन। सबै मिलेर रातारात फेरि गाँसबासको जोहो गरे, घर पनि बनाए। विपत्तिको शृंखला भने त्यत्तिमै रोकिएन। २०७२ वैशाख १२ गते अर्को विपत्ति बनेर भूकम्प गयो। दु:खजिलो गरेर ठड्याइएका सबै घर गर्ल्यामगुर्लुम ढले। २२ घरमध्ये अहिलेसम्म पाँचवटाको मात्रै पुनर्निर्माण सकिएको छ।

भूकम्पपीडित क्षेत्रका अधिकांश गाउँमा पुनर्निर्माणको कामले आंशिक मात्र गति लिएको छ । पहिलो किस्ताबापतको रकम पाएकाहरूले पनि जग निर्माण थालेका छैनन् । घर बनाइसकेकाहरू पनि दोस्रो किस्ताबापतको रकम कहिले आउने हो भन्ने अन्योलमै छ । समरबहादुर सार्कीले पुनर्निर्माण प्राधिकरणले भनजस्तै गरेर गत फागुनमै भूकम्पप्रतिरोधी घर निर्माण सम्पन्न गरे। प्राधिकरणले खटाएको प्राविधिक टोलीले पनि उनको घर प्राविधिक जाँच सम्पन्न गरिसक्यो। तर अहिलेसम्म उनले दोस्रो किस्ता पाएका छैनन्।

उनले घर बनाउनै २४ प्रतिशत ब्याजदरमा डेढ लाख रुपैयाँ ऋण लिएका छन् । सरकारले दोस्रो किस्ता दिए तिरौंला भन्ने उनको सोच छ। ‘ब्याजको मिटर फनफनी घुमिरहेको छ तर सरकारले दोस्रो र तेस्रो किस्ता रकम कहिले दिने हो, टुंगो छैन,’ उनमा पिरलो छ।

भोट माग्न गाउँ पसेका प्रत्येक उम्मेदवारलाई उनले दोस्रो किस्ताबापतको रकम कहिले पाइन्छ भनेर सोध्ने गरेका छन्। उनले भने, ‘कसैले यकिन उत्तर दिन सकेनन् । सबैले हुन्छ–हुन्छ भन्छन् तर ठ्याक्कै कहिले हुन्छ, कसैले भन्दैनन्।’ 

सानो टहरोमा गुजारा चलाइरहेका कमल राईले भने सरकारले दिएको पहिलो किस्ताबापतको रकम साँचेर राखेका छन्। घर बनाएकाहरूले पनि दोस्रो किस्ताबापतको रकम नपाएको देखेर उनले घर बनाउने काम थालेकै छैनन्। समरले जस्तै उनले पनि प्रत्येक उम्मेदवारलाई दोस्रो किस्ताबापतको रकम कहिले पाइन्छ भनेर सोध्ने गरेका छन् तर कसैले पनि उनलाई चित्तबुझदो उत्तर दिएका छैनन्। 

भूकम्पपीडित गाउँलेको चासो राहत रकमको दोस्रो किस्ता कहिले पाइन्छ, गाउँमा कर्मी कसरी जुटाउने र वन कार्यालयबाट काठ कसरी सुलभ मूल्यमा प्राप्त गर्ने भन्ने छ। तर अधिकांश उम्मेदवारले भने गाउँलेको तत्कालको चासोभन्दा फरक विषयलाई चुनावी नारा बनाएका छन्। सबैजसो उम्मेदवारले एक घर एक रोजगार, सडक, विद्युतजस्ता नारा लिएर मतदाता भेटिरहेका छन्। ‘गाउँलेको चासो र चिन्ता एउटा छ, उम्मेदवारहरूको नारा अर्कै,’ राईले भने। जिल्ला वन कार्यालयको आपूर्ति समितिले भूकम्पपीडितलाई सुलभ मूल्यमा काठ उपलब्ध गराइरहेको पनि धेरैजसोलाई थाहै छैन । ‘समस्या सम्बोधन गर्नेतिर कसैको ध्यान छैन,’ उनले उम्मेदवारप्रति असन्तुष्टि पोखे, ‘खालि ठूला–ठूला नारा मात्रै छन्।’

राताटारका अगुवा गणेशबहादुर राईका अनुसार अधिकांश उम्मेदवार बढदो हतारोका साथ भोट माग्न गाउँ छिर्छन्। उनले भने, ‘भोट माग्दैमा फुर्सद छैन। गाउँलेको समस्या सुन्न र त्यसको समाधान बताउन कसैलाई समय नै छैन।’ खेत जोतिरहेका बेला भेटिएका मोहन राईलाई चुनावले पटक्कै छोएको छैन। उनले गाउँमा भोट माग्न उम्मेदवार छिरेको त थाहा पाएका छन् तर तिनैलाई भेट्न हलगोरु छाडेर घर जाने मन भने गरेका छैनन् । ‘खेत जोतेकै ठाउँमा आएर कसैले मत मागेको छैन,’ उनले भने, उम्मेदवारको नारा अर्कै छन, हाम्रा समस्या अर्कै छन्।’

स्थानीय प्रदीप राईलाई भोट माग्न आएका उम्मेदवारमध्ये कसैले बाटो ल्याइदिन्छु भने, कसैले धारा हालिदिन्छु भने त कसैले त छोराछोरीलाई जागिर खोजिदिम्लासम्म भन्न भ्याए। भूकम्पपछि टहरामा बसिरहेका उनलाई कसैले घर बनाउन सहयोग गरम्ला भनेनन्। उनले भने, ‘उम्मेदवारहरू हुरीबतासजसरी चुनावी गीत घन्काउँदै आउँछन्, उसैगरी हराउँछन्।’ 

उम्मेदवारका चुनावी नारा अनौठा–अनौठा छन्। स्थानीय कर्णबहादुर राईलाई त कुनै उम्मेदवारले पैसा दिन्छु भने, कसैले डोजर ल्याएर जग खन्न सहयोग गरिदिने भने। उनले २०५४ सालको स्थानीय निकायको चुनावको समय सम्झँदै भने, ‘त्यतिबेला त उम्मेदवारले आफू कसरी गतिलो र विकासप्रेमी मान्छे हुँ भनेर प्रमाण दिन्थे र भोट माग्थे। अहिले त हुने\नहुने कुरा गरेर झुक्याउन खोज्छन्।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.