|

दमक : झापालगायत नेपालका अधिकांश पूर्वी बजारमा भारतबाट ल्याइएका सडेर गलेका माछा बिक्री हुने गरेको पाइएको छ। भारतबाट ल्याइएका माछाहरु एकसाता अगाडि नै मारेर आइसमा राखेर ल्याइने भएकाले नेपाली बजारलाई मात्र होइन उपभोक्ताको स्वस्थ्यमा समेत गम्भीर असर परेको छ। भारतको सीमावर्ती जिल्ला झापाको काँकडभिट्टा, बिर्तामोड, भद्रपुर, दमकलगायत बजारी क्षेत्रमा भारतीय माछाले बजार चलेको पाइन्छ।

दैनिकजसो भारतबाट गाडीका गाडी भित्रने मरेका माछा बजारमा आएका कारण नेपाली माछा उत्पादक कृषक भने मर्कामा परेका छन्। झापा दमकका माछापालक कृषक नरेशचन्द्र भेटवालले उत्पादन गरेको माछाले बजार नपाउँदा धेरै समस्या भएको बताए। उनले भने,‘यहाँ हामीलाई माछा पाल्न त्यति गाह्रो छैन, तर उत्पादन गरेको माछाले बजारनै पाउँदैन, भारतबाट ल्याएको माछा सस्तोमा पाइन्छ, उपभोक्तामा चेतना नहुँदा उपभोक्ताहरु सस्तोतर्फ लाग्छन्।’ भारतबाट नेपाल भित्रने माछाको आयतसम्बन्धी व्यवस्थामा कडाइ गरिनुका साथै क्वारेन्टाइनमा कडा जाँच गर्नुपर्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘माछा आयातमा केही नियम नहुँदा नेपाली कृषकलाई गाह्रो भएको छ, सरकारले क्वारेन्टाइनको जाँचलाई कडा पार्नुपर्छ, सुँघेको भरमा हुने माछाको जाँचले, हामीलाई मात्र प्रभाव परेको छैन, उपभोक्ताको स्वस्थ्यमा पनि गम्भीर असर पारेको छ।’

यस्तै मोरङको इटहरामा माछा पालन सुरु गर्दै गरेका विराटनगर ४ का कृषि उद्योमी कृष्णप्रसाद भेट्वालले सरकारले अनुदान दिए पनि बजारको उचित व्यवस्थापन गर्न सहयोग नगरेको गुनासो गरे। उनले भरतीय माछाको आयतमा कडाइ नगरेसम्म कुहिएका माछाको आयात नघट्ने बताउँछन्। उनी भन्छन्,

‘सरकारले त अनुदान दिएको छ नि तर के गर्ने बजार व्यवस्थापन छैन, बजार व्यवस्थापन नभएसम्म सरकारी अनुदाननै खेरजाने सम्भावना छ, यसले सरकारको लक्ष्य प्राप्ति हुँदैन।’

भारतबाट दैनिक गाडीमा माछा आयत गर्दै आएका भारतको सिलिगुढीका डब्लुबी ७३ सी २८९८ नम्बरका पिकअप भ्यानका मजदुर दिलीप चौरासियाले ६ दिनदेखि मरेका माछा भएको स्वीकार गरे। उनले थाहा खबरसँग भने,

‘उताबाट ल्याउने माछा ६ दिनदेखि एक हप्ताअघि मरेका हुन्छन्, भन्सारमा सबै प्रक्रिया पूरा गर्छौं तर खासै गाह्रो हुँदैन।’ उनले आफूले मात्र दैनिक  २ हजार केजी माछा ल्याउने गरेको बताए।

आइसमा राख्यो भने एक हप्तासम्म पनि नबिग्रने उनी बताउँछन्। उनले भने,‘आइसमा राखेर ल्याउँदा एक हप्तासम्म बिग्रँदैन, गह्नाउँदैन पनि।’

उपभोक्ताहरु अब सचेत हुनुपर्ने बेला आएको दमककी महिला अगुवा सुष्मा अधिकारी बताउँछिन्। उनी भन्छिन्, ‘उपभोक्ता अब आफंै सचेत हुनुपर्‍यो, स्वास्थ्यभन्दा ठूलो केही होइन भन्ने सम्झनुपर्छ।’

दमकका स्थानीय होटल व्यवसायी माधव ढकालले पनि अब आम उपभोक्तामा चेतना आउन जरुरी रहेको बताए। उनले भने, ‘नेपालमा रहेका स्वस्थ्यकर बिर्सेर हामी विदेशी सडेका खाद्यान्न खाँदैछौं, यसलाई निरुत्सहित गर्न जनचेतना आवश्यक छ, सरकारले पनि नीतिगत रुपमा कडाइ गर्न आवश्यक छ।’

के गर्दै छ सरकारी कार्यालय

जिल्ला कृषि विकास कार्यालय झापाले पनि जिल्लामा माछाको ६० प्रतिशत माग भारतीय बजारबाट आयत हुने बताए। जिल्ला कृषि विकास कार्यालय झापाका मत्स्य शाखाका प्रमुख प्रदीप श्रेष्ठले हाल जिल्लामा करिब ३ सय हेक्टर क्षेत्रफलमा माछा पालन भइरहेको बताए।

उनका अनुसार जिल्लामा माछाको उत्पादन वार्षिक सरदर एक हजार ५० मेट्रिकटन छ। जिल्ला कृषि विकास कार्यलय झापाले पनि जिल्लामा विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएर माछाको उत्पादमा जोड दिइरहेको बताए। कार्यलयले विशेष अनुदानका साथ झापको गौरादह, तोपगाछी, गोल्धप लगायतका क्षेत्रलाई माछा पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना कार्यन्वयनको चरणमा रहेको बताए।

उनले सो क्षेत्रको कुल ६० हेक्टर क्षेत्रफलमा यसै वर्ष माछापालनका लागि सरकारी अनुदान दिइने बताए। सोही कार्यक्रमअन्तरगत माछापालक कृषकलाई प्रतिहेक्टर ३ लाख अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.